गुफैगुफाको उपत्यका लिखु


सप्तकोशीको मध्यभागबाट बहने नदी हो– लिखु । यो रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला भएर बहन्छ । लिखु उपत्यका अनेकौँ प्राकृतिक छटाले पूर्ण छ । यो नदी शिरपुछार अन्दाजी ७५ किलोमिटर जति लामो हुनु पर्छ । यसका सहायक खोलाखोल्साले खोलेर प्राकृतिक रूपले पत्रैपत्र परेको छ । शिरदेखि पुछारसम्म यात्रा गर्नु कठिन छ । पहिले पूरै पैदलयात्रा गर्नु पथ्र्यो । आकृति मात्रका घोडेटो, गोडेटो र डोरेटो बाटा मात्र थिए । त्यसमाथि तीन जिल्लाका विभिन्न भूखण्ड पूरै पैदल हिँड्नु गाह्रो काम थियो । काम र लहडले विशेष गरी रामेछापतर्फका यी बाटा कैयौँ पटक हिँडेँ । धेरथोर सोलुखुम्बु र ओखलढुङ्गा पनि । यात्रामा प्रकृतिका अनेकौँ स्वरूपको अध्ययन गरेँ ।

मेरा हरेक यात्रामा कामविशेष त हुन्थ्यो नै, प्राकृतिक सौन्दर्यको अवलोकनसमेत हुने गरी हिँड्ने गर्दथेँ । हिँड्दा, डुल्दा, पहाड, खोलानाला, जङ्गल, झरना, भिरपहरा परैबाट देखिन्छन् । गुफा विकट ठाउँमा हुने हुनाले धाएरै पुग्नुपर्ने हुन्छ । ती रहस्यमय पनि हुन्छन् । स्थानीयबाट अनेकौँ रहस्य र किंवदन्ती बोकेका गुफाका बारेमा जब सुन्थेँ, समय मिलाएर हेर्न पुग्थेँ । कुनै कुनै सजिलो स्थानमा भए पनि कैयौँ गुफासम्म पुग्न गोरेटोबाटो र विकट अक्कर पार गरेर जानुपर्ने हुन्थ्यो । 

यसमध्ये एउटा हो– हाडेटार गुफा । यो गुफा रामेछाप नगरपालिका–५, रामपुरमा पर्छ । चुनढुङ्गाले बनेको यो प्राकृतिक गुफालाई स्थानीय पुर्खाले महादेवको वासस्थान मानेर चुनका आकृतिलाई महादेवका रूपमा पूजा गर्दछन् । भनिन्छ विसं १९६४ मा साँघुटारको झोलुङ्गे पुल बनाउँदा यही हाडेटार आसपासको चुन प्रयोग भएको थियो ।

रामेछाप नगरपालिका–४, बोलुङबोलुङ गाउँको पुछारको भिर अक्करमा एउटा सुरुङ छ । स्थानीय भाषामा यसको नाम ‘घिचिने गुफा’ भनिन्छ । यस गुफामा चमेरा बस्ने गर्दछन् । चमेरालाई मगर भाषामा ‘घिचिने’ भनिने भएर गुफाको नाम ‘घिचिने गुफा’ रहन गयो । चमेराको विष्टा प्रशस्त पाइने भएर स्थानीय किसान गुफाभित्रको मल सोहोरेर खेतबारीमा प्रयोगसमेत गर्ने गर्छन् ।

अर्को छ, रामेछाप नगरपालिका–४, चिलाउनेखर्कनजिकैको पाखामा विचित्रको गहिरो गुफा छ । उक्त गुफाको माथितिर एउटा ढुङ्गो चिरिएर नागको आकृति देखिन्छ । स्थानीयले ‘ग्याल्वा ल्हू’ भन्ने गर्दछन् । यसको अर्थ तामाङ भाषामा नागराजाको दरबार भन्ने हुँदोरहेछ । गुफामा पुग्न विकट पाखो छिचोल्नुपर्ने भए पनि स्थानीय उक्त गुफामा जाने गर्दछन् ।  

लिखुतामाकोशी गाउँपालिका–३ मा केही दुरी तलमाथिमा गैँया र कालीदेवी गुफा छन् । खोल्मागाउँको तल्लो भागमा रहेको गैँया स्थानमा माथितिर फर्किएको एउटा गहिरो गुफा छ । त्यसै गरी खोल्मागाउँको सिरानमा कालीदेवीको स्थानमा अर्को गहिरो गुफा छ । यो गुफा तलतिर गहिरिएको छ । यी दुई गुफा एकआपसमा जोडिएका छन् । भनिन्छ, परापूर्वकालमा गैयाँ स्थानको सुरुङबाट छिराएको कुखुरो कालीदेवी स्थानमा निस्किएको थियो रे !

लिखुतामाकोशी–३, चिलाउनेको पुछारमा राकस गुफा छ । विकट भिरमा भएको उक्त गुफामा पुग्न कठिन छ । गुफाभित्र फराकिलो ठाउँ छ । किशोर अनि पहरामा हिँड्ने कुशलता भएका मानिसले जोखिम सहेर उक्त गुफाको भित्रसम्म पुग्ने गर्छन् । पञ्चायतकालीन जनप्रतिनिधि हेमबहादुर अधिकारी र पूर्ववडाध्यक्ष यामबहादुर महतजी उक्त गुफामा पसेर भित्रको फराकिलो भाग नियालेको बताउनुहुन्थ्यो । अन्यथा बलियो डोरी या लामो भ¥याङको सहायताले मात्र जान सकिँदो हो । भनिन्छ, यो गुफामा परापूर्वकालमा वनझाँक्री वनझाँक्रिनी बस्ने गर्थे । उनीहरू राकस गुफाबाट ढ्याङ्ग्रो बजाउँदै अँधेरीखोलाको छाँगामा गएर नुहाउने र त्यसै गरी फर्किने गर्थे । यसरी ओहोरदोहोर गर्ने गर्दा गाउँघरमा स्थानीय बालबालिका डरले लुक्ने लुकाउने गर्थे भन्ने किंवदन्ती छ । अँधेरी खोलो पौराणिक भृङ्गेश्वर क्षेत्रमा उत्पत्ति भएर अँधेरीमा पुगेपछि रमणीय झरना बनेको हो । 

लिखुतामाकोशी–२, सैँपुको भोर्लेनी जङ्गलको फोस्रानजिकै ठुलो ढुङ्गाले ढाकिए जस्तो निकै गहिरो गुफा छ । उक्त गुफामा कुनै देउदेउताको आराधना गरिँदैन । उक्त गुफामा डिल्लीबहादुर बस्नेत (ढाँडे) र पुष्पराज पौडेल (बैरेनी) केही भित्रसम्म पुगेको सुनाउनुहुन्थ्यो ।

लिखुतामाकोशी–१, दुरागाउँमा त्रिपुरेश्वर नामको प्रसिद्ध गुफा छ । सोही गुफामा पुर्खाले महादेवका रूपमा पूजा गर्दै आएका छन् । मनोकाङ्क्षा पूरा गर्ने देवस्थल मानेर वारिपारिका भक्तजन विभिन्न पर्वमा भेला भएर पूजा गर्ने गर्दछन् ।

उमाकुण्ड–६ मा एउटा रहस्यमय गुफा छ । उक्त गुफालाई गुप्तेश्वर गुफा भनेर चिनिन्छ । यसै गुफाको नामबाट गाउँको नाम नै गुप्तेश्वर राखिएको छ । परापूर्वकालमा लैनोगाईले यस गुफामा पसेर दुध चढाएको किंवदन्ती भएका कारण यस गुफामा साक्षात् महादेव छन् भन्ने जनविश्वास छ ।

उमाकुण्ड–६ कै भित्तरीखानीनजिकै भित्तामा एउटा प्वाल छ । उक्त प्वालबाट जाडोयाममा तातो र गर्मीयाममा चिसो हावा आउँछ । स्थानीय काँसीबाट हावा आउने प्वाल भएकाले त्यहाँबाट आउने हावालाई पवित्र हावा मान्ने गर्दछन् ।

उमाकुण्ड–४, प्रीतिगाउँमा बाक्लो बुट्यान भएको प्रसिद्ध पाखो बुर्सुवा छ । उक्त पाखाको भेडाखोर भन्ने ठाउँमा एकदिन सिकारीले मृग देखे । लघार्दै जाँदा उक्त मृग बिच पाखामा अलप भयो । खोज्दै जाँदा मृग त एउटा गुफामा पसेछ । त्यसै दिनदेखि उक्त गुफा पत्ता लाग्यो । स्थानीयले उक्त गुफालाई नै चण्डेश्वर गुफा नामकरण गरेका छन् ।

उमाकुण्डको ४ नम्बर वडामै बसेरी भन्ने ठाउँनजिकैको पाखामा वार्फु नामको गुफा छ । उक्त गुफामा वनझाँक्री÷वनझाँक्रिनी बस्ने गर्थे भन्ने जनविश्वास छ । वार्फु गुफानजिकै रमणीय झरना पनि छ । बसेरीबाट बिल्लम जाने बाटा आसपास यस्ता अनेकौँ गुफा छन् । प्रकृति हेर्दा लाग्छ, यस पाखामा कैयौँ नयाँ नयाँ गुफा पत्ता लगाउन अझै बाँकी छ । 

उमाकुण्ड–५, डाँडाखर्क (बाहुनडाँडा) नजिकै जटेश्वर गुफा छ । यहाँ विभिन्न आकृतिका चट्टानका बनावट पाइनाले पुर्खाले शिव र देवीका रूपमा आराधना गर्दै आएका छन् । 

उमाकुण्ड–३, बाँझखोलानजिकै पहाडको भित्तामा घरेलु प्रयोजनका निम्ति ढुङ्गा निकाल्दै गर्दा अनायास एउटा गुफा फेला प¥यो । गुफाभित्र नाग, गाईका थुन आदि अनेकौँ ढुङ्गे आकृति देखापरे । स्थानीय अनौठो गुफा भेटिँदा खुसी भए । कुनै दैवीदोष लाग्ने हो कि भनेर भयभित भए । काम रोकेर क्षमापूजा गरे । त्यसपछि उक्त गुफामा ढोका हालेर सुरक्षित गरेर हाल नित्यपूजा गर्ने गर्दछन् । त्यहाँ आइतबारे स्थान छ । उक्त स्थाननजिकै फेला परेकाले त्यसलाई अचेल आइतबारे महादेव भनिन्छ ।

उमाकुण्ड–३, अर्को ठाउँमा उम्दी नाम भएको पुरानो गुफा छ । भनिन्छ, यो गुफा पोकली (ओखलढुङ्गा) का चन्द्रप्रसाद उपाध्याय घिमिरे (काउले खरिदार) ले पत्ता लगाएका हुन् । यो गुफाको प्रवेशद्वार निकै साँगुरो भएकाले तत्कालीन अध्यक्ष चित्रबहादुर कार्की र उपाध्यक्ष प्रेमकुमार केसीको नेतृत्वमा छिनो प्रयोग गरेर हाल केही फराकिलो पारिएको छ । भित्रको दृश्य निकै रमणीय छ । त्यहाँ गाईका थुन, शङ्ख, नाग, शिवलिङ्ग र अनेकौँ बाजागाजाका आकृति देखिन्छ । यो उमाकुण्ड गाउँपालिकाको प्रसिद्ध गन्तव्य स्थल हो ।

उमाकुण्ड–२, बाम्तीबाट रोसी जाने बाटामा गौँथलीभिरमा अग्लो ओडार परेको पहरो छ । ओडारका भित्तामा हजारौँको सङ्ख्यामा गौँथली प्रजातिका चराले गुण लगाएका हुन्छन् । गौँथली बेला बेलामा बसाइँ सर्ने प्रजातिको पन्छी हो । एकै ठाउँ यति धेरै गौँथली बसोबास गर्ने ओडार यस आसपास अर्को देखिएको छैन । गौँथलीभिरमा शिलाजित नामको दुर्लभ रसायन पनि सजिलो ठाउँमा पाइएको छ ।

सोही वडाको कोइरालेबाट ठाडाखोला दोभानतिर जाने बाटामा पर्ने लिगर्मुमा गहिरो गुफा छ । उक्त गुफालाई स्थानीय लिगर्मु महादेव स्थान भन्दछन् । रमणीय गुफा देखेर स्थानीयले परापूर्वकालदेखि शिवालयका रूपमा मानमनितो गरेका हुँदा हुन् ।

उमाकुण्ड–१, पत्करीको सिरानबाट गुम्देल जाने बाटामा पर्ने विकट भिरमा एउटा विशाल चट्टान फुटेर चेप परेर अडिएको छ । यसबाट छिरेर यात्रु ओहोरदोहोर गर्ने भएर यसलाई छिरुवा ढुङ्गो भन्दछन् । फुटेको उक्त चट्टानमा दुवैतर्फ भित्तामा खोपिल्टा परेका दाग देखिन्छन् । स्थानीय लामाको भनाइ अनुसार ‘परापूर्वकालमा हिँड्नै नसकिने भिरमा जाँदै गरेका लामाले बाटो नपाउँदा यस ढुङ्गालाई तान्त्रिक बलले फुटाएर बाटो छिचोले । भनिन्छ, भित्तामा देखिने दाग उनका कुइनाले पएट्दा लागेका चोट हुन् ।’

उमाकुण्ड–२, क्यामा धार्मिक गाउँ हो । यो सानो गाउँमा आधा दर्जनभन्दा बढी गुम्बा छन् । क्यामा जाने पैदल बाटामा पर्ने दायाँबायाँका चट्टानमा बौद्ध धर्म ग्रन्थका अनेकौँ मन्त्र कुँदिएका छन् । यहाँ इविफोप्रङ नामको विचित्रको गुफा छ । जुन गुफामा पुगेर धार्मिक विधिले माग गर्दा भाँडाकुँडा, गरगहना, लत्ताकपडा या जे इच्छाएर माग ग¥यो, त्यही पाइने धार्मिक विश्वास गरिन्छ । 

ओखलढुङ्गा जिल्लाको चम्पादेवी–३, सिल्खु दोभाननजिकै कुला मुहानछेउमा निकै लामो गुफा छ । त्यहाँ भुत लुकेर बस्छ भन्ने विश्वासका आधारमा ओडारको नाम नै छ– भुत्याहा ओडार । भुत्याहा गुफाबाट पसेमा मकुवाखोलातिर निस्किन्छ भन्छन् । मकुवातर्फको ओडार चाहिँ भेटिएको छैन ।

चम्पादेवी–२, थामचुलीडाँडा वारिपारि गर्न मिल्ने गुफा छ । लिखुकोशी पानीढलोबाट पसेको मानिस सुनकोशी पानीढलो निस्किन मिल्छ । ककनीको सानो रूप मानेर हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म दर्शनार्थी जाने गर्छन् ।

चम्पादेवी–५, फेदीगुठ मन्दिरको दायाँतर्फ अनेकौँ किंवदन्ती बोकेको एउटा गुफा छ । जसलाई सात कन्या गुफा भनिन्छ । उक्त गुफा भित्रभित्रै पलापुको सानो ककनी गुफादेखि पलापुकै दलङ्चुरीसम्म पुग्छ भन्ने स्थानीयको विश्वास छ । 

लिखु–१, दत्रुङ्गेभिरमा एउटा भीमकाय ढुङ्गो लमतन्न छ । उक्त ढुङ्गामुनि एउटा गुफा छ । जसलाई चोर लुक्ने ओडार भन्दछन् । त्यहाँ परापूर्वकालमा कोही मानिस बस्थ्यो । ओडारमा पस्नेले ओडारको सिलिङतिर बत्ती बालेको ध्वाँसो, केही कपडाका टुक्रा र भाँडाकुँडा भेटिएको कुरा सुनाउँथे ।

लिखु–८, मझुवामा एउटा कलात्मक गुफा फेला परेको छ । स्थानीय धार्मिक बौद्धिक समूहले कुण्डलेश्वर महादेव मानेर पूजा चलिरहेको छ ।

लिखु–९, उत्तरलेतीस्थित लेतीखोलाछेउमा देवी ढुङ्गा नामको एउटा विशाल ढुङ्गा छ । उक्त ढुङ्गाले ढाकेको चौडा गुफा छ । दुई खण्ड भएको उक्त गुफाभित्र जलदेवीका रूपमा जालपादेवीको स्थान स्थापना गरिएको छ । 

खिजीदेम्बा–१, लेतीखोलानजिकै पहरो फाटेका स्थानमा निकै ठुलो गुफा फेला परेको छ । उक्त गुफामा चुन्याहा आकृति देखिएका छन् । अनेकौँ आकृतिलाई स्थानीयले दैवी चमत्कार मानेर नीलकण्ठेश्वर महादेव (सानो हलेसी) का रूपमा पूजा गर्ने गर्दछन् । 

यी र यस्ता खालका प्राकृतिक गुफाको खोज अनुसन्धानको खाँचो महसुस भएको छ । यस्ता गुफाको गहिरो अध्ययन गरेर त्यहाँसम्म पुग्ने व्यवस्था मिलाउन सक्दा यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटनको विकास गर्न सकिन्छ ।   https://gorkhapatraonline.com/news/207138



प्रतिकृया दिनुहोस

साताको लोकपृय

इन्द्रावती खोलामा आएको बाढीले पुल बगायो, यातायात अवरुद्ध

ताप्लेजुङ, जेठ ९ गते ।गएराति परेको अविरल वर्षापछि इन्द्रावती खोलामा आएको बाढीले ताप्लेजुङ र पाँचथ...