‘आईएनजीओको पैसा धर्मान्तरणमा लगाइँदैछ’ : सांसद ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले नेपालमा भित्रिने वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवर्द्धनजस्ता गतिविधिमा प्रयोग भइरहेको दाबी गर्दै त्यसलाई नियमन गर्न सरकारसँग माग गरेकी छन्।


बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै ओलीले विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामार्फत नेपाल आउने विदेशी सहायता गलत गतिविधिमा प्रयोग भइरहेको आफूहरूले देखेको बताइन्।


उनका अनुसार केही धार्मिक संघसंस्थाले सार्वजनिक रूपमै गाउँ–गाउँमा धर्मान्तरणसम्बन्धी गतिविधि सञ्चालन गरिरहेका छन्। पछिल्लो समय विदेशी नागरिकसमेत यस्ता गतिविधिमा प्रत्यक्ष रूपमा परिचालित भएको देखिएको भन्दै उनले यसलाई नियमनको दायरामा ल्याउनुपर्ने बताइन्।


ओलीले यस्ता गतिविधिले भविष्यमा सामाजिक तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिँदै धर्मसँग सम्बन्धित गतिविधिमा आईएनजीओ तथा विदेशी गैरसरकारी संस्थाको बजेट प्रयोग गर्न रोक लगाउनुपर्ने धारणा राखिन्।


उनले नेपालमा लामो समयदेखि विभिन्न आईएनजीओ तथा विदेशी गैरसरकारी संस्थाबाट आउने बजेट विभिन्न धार्मिक संघसंस्थासम्म पुग्ने गरेको दाबी गरिन्। आफूले कुनै एउटा धर्मलाई लक्षित नगरेको स्पष्ट पार्दै उनले विभिन्न धर्मसँग सम्बन्धित संस्थामार्फत आउने वैदेशिक स्रोतको प्रयोग पारदर्शी हुनुपर्नेमा जोड दिइन्।


तर, ओलीले सबै वैदेशिक सहायता सरकारी खातामै ल्याउनुपर्ने पक्षमा आफू नरहेको स्पष्ट गरिन्। विकासका नाममा नेपाल भित्रिने सबै वैदेशिक स्रोतलाई भने राष्ट्रिय प्राथमिकता, सार्वजनिक सूचना, परिणाम मापन र उचित लेखापरीक्षणको दायरामा राख्नुपर्ने उनको भनाइ छ।


उनले नेपालमा सञ्चालन हुने प्रत्येक विकास सहायता परियोजनाको अनिवार्य अभिलेख राख्नुपर्ने प्रस्तावसमेत गरेकी छन्। सहायता सम्झौता, कुल बजेट, वार्षिक खर्च, प्रशासनिक तथा परामर्श लागत, खरिद प्रक्रिया, लाभग्राही र परियोजनाबाट प्राप्त परिणामलगायत विवरण सरकारी सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने उनले बताइन्।


त्यस्तै, अर्थ मन्त्रालयको नेतृत्वमा द्विपक्षीय तथा बहुपक्षीय दाता, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, फाउन्डेसन र प्राविधिक सहायता प्रदायकका विवरण समेटिने एकीकृत डिजिटल सहायता अभिलेख प्रणाली निर्माण गर्न उनले सरकारलाई सुझाव दिइन्।https://ghatanarabichar.com/359517

प्रतिकृया दिनुहोस