प्रधानमन्त्री राहत कोषमा आज ६० करोड सहयोग , अहिलेसम्म ६ अर्ब ३६ करोड बढी रकम जम्मा

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।
रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न ८३ उद्योगी, व्यवसायी तथा परोपकारी व्यक्ति तथा संस्थाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकम सहयोग गरेका हुन्।


अर्थ मन्त्रालयका अनुसार सोमबार अर्थमन्त्री वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत प्राप्त चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ। भदौ ११ गतेदेखि मन्त्रालयमार्फत राहत कोषका लागि भौतिक रूपमा सहयोग रकम संकलन गर्न थालिएयता सोमबार सबैभन्दा बढी रकम प्राप्त भएको हो।

यसअघि भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ तथा भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर सहयोग प्राप्त भएको थियो।
मन्त्रालयका अनुसार भदौ ११ गतेदेखि सोमबारसम्म चार दिनमा अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ संकलन भएको छ।संकलित रकममध्ये ८० हजार रुपैयाँ नगद रहेको र बाँकी रकम ‘एकाउन्ट पेयी’ चेकमार्फत प्राप्त भएको मन्त्रालयले जनाएको छ। यसबाहेक २ लाख अमेरिकी डलर बराबरको सहयोग रकमको चेकसमेत प्राप्त भएको छ।
सरकारले संकलित रकम रसुवा तथा अन्य बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि परिचालन गर्ने जनाएको छ।अहिलेसम्म रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार स्वदेश तथा विदेशबाट प्राप्त सहयोगमार्फत उक्त रकम जम्मा भएको हो ।



प्रतिकृया दिनुहोस