यस्तो छ गोसाईकुण्डधामको महत्व

पालका विभिन्न ऐतिहासिक धार्मिक धरोहरहरुको पावन भुमि हो । जहाँ अत्यन्त पावन तिर्थस्थल पनि पर्ने गर्दछ । यसै मध्ये  नेपालको रसुवा जिल्लामा पर्ने गोसाईकुण्ड पनि प्रसिद्ध तिर्थस्थल हो । यस पावन भूमि  समुद्र सतहबाट ४,३८० मिटर उचाइमा रहेको छ । हिन्दू धर्ममा यसलाई भगवान शिवको बासस्थान मानिन्छ। यहाँ जनैपूर्णिमा र गंगा दशहराका अवसरमा ठूलो मेला लाग्छ  ।
 पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डहरूमध्येको सबैभन्दा ठूलो कुण्ड हो। गोसाइँकुण्ड र त्यस आसपासमा अरू १०८ वटा कुण्ड रहेका छन् ।जसमध्ये  पार्वती कुण्ड , गोसाइँकुण्ड -(शिवकुण्ड) ,भौरव कुण्ड, सरस्वती कुण्ड, सुर्य कुण्ड, बर्द कुण्ड लगायतका धेरै कुण्डहरुले धार्मिक आस्थाका साथमा पर्यटकिय महत्व बोकेका छन् । 
पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीचको समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालय खण्डको काखमा भगवान् शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भयो। सोही त्रिशूल धाराको पानी जम्मा भएर गोसाइँकुण्ड बनेको भन्ने जनविश्वास छ।
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइने, पितृले मोक्ष पाउने र आफूले चिताएका सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्छन्।
काठमाडौँबाट नुवाकोटको विदुर हुँदै रसुवा सदरमुकाम १ सय किमीको यात्रा तय गरेर पुग्न सकिन्छ। धुन्चेबाट विस्तारै पैदल यात्रा गर्दा डेढ दिनमा कुण्ड पुगिन्छ। बाटोमा विभिन्न रमणीय दृष्यावलोकन गर्दै चन्दनबारी, चोलाङपाटी, लौरीविनायक जस्ता बस्ती पार गरेपछि गोसाइँकुण्ड पुगिन्छ। 
समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड २०६३ सालमा रामसार (सिमसार) सूचीमा सूचीकृत भएको छ। गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको संरक्षित क्षेत्रका साथै अत्यन्त आकर्षक र मनमोहक स्थान पनि मानिन्छ।
वेत्रगङ्गा (वेत्रावती) र त्रिशूलीको संगममा नुहाएर संकल्प गरी नीलाद्रिको तीर्थयात्रा गरी नीलकण्डह्रद (गोसाइँकुण्ड) मा स्नान गर्ने विधानको हिमवत्खण्डपुराणको नीलकण्ठतीर्थयात्राप्रकरणमा उल्लेख छ । 


गोसाइँकुण्डको स्नान गरेपछि कुण्डलाई दक्षिणावर्तले परिक्रमा गरी सुन्दरीजलको बाटोबाट आएर गोसाइँकुण्डको पवित्र जल, भैरवपाती र सुनपाती भगवान् पशुपतिनाथलाई चढाएर तीर्थयात्रीहरू घर फर्कने परम्परा रही आएको छ । नीलकण्ठह्रदलाई नेपाली भाषाको बोलीचालीको शब्दमा गोसाइँकुण्ड भने जस्तै यस कुण्डलाई नेपाल भाषामा शिलु भनिन्छ । मध्यकालिन ऐतिहासिक कागजपत्रहरूमा गोसाइँकुण्डलाई श्री ३ नीलकण्ठह्रद, नीलकण्ठ र शिवल्हुति भनेको पाइन्छ । 
        
शिव यो संस्कृत भाषाको शब्द हो भने ल्हुतिचाहिँ नेपाल भाषाको शब्द हो । ल्हुतिको अर्थ स्नान भन्ने हुन्छ । चैत्रशुक्लपूर्णिमालाई नेवारी भाषामा ल्हुतिपुन्हि भनिन्छ । यस दिन बालाजुको बाइसधारामा स्नानगर्ने परम्परा छ । अतः नेवारी भाषाको शिवल्हुति शब्दको अर्थ शिवस्नानतीर्थ भन्ने हुन आउँछ । 

हिमवत्खण्डपुराणको एउटा प्रसङ्गमा देवता र दानवहरूले समुद्रमन्थन गर्दा निस्केको हलाहल विष पिएर क्षुब्ध भएका नीलकण्ठ महादेव नीलकण्ठह्रद (गोसाइँकुण्ड)को मध्यभागमा गएर सुतेको उल्लेख छ भने हिमवत्खण्डपुराणकै नीलकण्ठमाहात्म्य देवलोकवरदानमाहात्म्य अध्यायमा चाहिँ कालान्तरमा महादेवका दोस्रो मूर्ति भीमसेन धेरै पर्वतहरू नाघेर नीलकण्ठह्रद (गोसाइँकुण्ड)को मध्यभागमा सुखसाथ सुतेको उल्लेख छ । यस पावन क्षेत्रको  दर्शनका साथै देश विदेशका  पर्यटकहरु  अवलोकनका लागि अन्य समयमा पनि आउने गर्दछन् । पछिल्लो समयमा पदयात्राका लागि समेत यस क्षेत्र धेरैको रोजाईमा पर्ने गरेको छ । यस पावन क्षेत्रमा जानका लागि पदयात्रा का साथै हवाईयात्रा हेलिकप्टर  बाट पनि भक्तजनहरु दर्शन गर्न जाने गर्दछन् । यस्ता पावन भूमिमा सहज यात्राका लागि राज्यले समेत पहल गर्नेु पर्ने हुन्छ । 



प्रतिकृया दिनुहोस