गोसाइँकुण्ड मेला : चार स्थानमा स्वास्थ्य शिविर,खानवस्न दररेट निर्धारण

रसुवा : । वैदिक सनातनीहरुको महान पर्व जनैपूर्णिमाको अवसरमा  पवित्र तीर्थ गोसाइँकुण्ड मेलामा सहभागी तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ ।खानेवस्ने दररेट समेत  निर्धारण गरिएको छ । 

यही भदौ १२ गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ । मेला भर्न जाने श्रदालुको स्वास्थलाई ध्यानमा राखी स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो ।

यात्रीहरूलाई लेक लाग्न सक्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले वर्षेनी कुण्ड मेलामा स्वास्थ्य शिविर राख्ने गरिएको छ।
गोसाइँकुण्ड यात्राका क्रममा यात्रीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धुन्चे, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड गरी ४ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य उपसमितिले जनाएको छ।
४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको पवित्र गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन देशका विभिन्न स्थानबाट ठूलो संख्यामा तीर्थयात्री पुग्ने गर्छन्। स्वास्थ्य उपसमितिका संयोजक एवं जनस्वास्थ्य अधिकृत निरध्वज घर्तीमगरका अनुसार धुन्चेस्थित धार्मिक यात्राको प्रवेशद्वारमा रहेको शिव मन्दिरबाटै स्वास्थ्य परीक्षण सुरु गरिनेछ। त्यहाँ रसुवा अस्पताल तथा आयुर्वेदका चिकित्सकले स्वास्थ्य परीक्षण गरी यात्राका लागि आवश्यक सल्लाह र औषधि दिनेछन्।यसैगरी चोलाङपाटीमा नेपाली सेनाको श्रीनाथ गणले चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गर्नेछ। लौरीविनायक क्षेत्रमा गोसाइँकुण्ड गाउँपालिकाले र गोसाइँकुण्डमा हिमालय उद्धार संघले स्वास्थ्य शिविर सञ्चालन गर्ने तय भएको छ। नेपाली सेनाको श्रीनाथ गणले चोलाङपाटीको स्वास्थ्य शिविरका अतिरिक्त चन्दनबारीमा समेत हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सेवा उपलब्ध गराउने जनाएको छ।
यस क्षेत्रमा यात्रा गर्दा लेक लाग्ने समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान तथा अन्य स्वास्थ्य समस्यामा तत्काल प्राथमिक उपचार र चिकित्सकको सल्लाह दिन शिविर राखिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए।
गोसाइँकुण्डलाई भगवान् शिवसँग जोडिएको पवित्र धार्मिक तीर्थस्थलका रूपमा हिन्दू धर्मावलम्बीले विशेष श्रद्धाका साथ पूजा तथा दर्शन गर्ने गर्छन्। जनैपूर्णिमाका अवसरमा यहाँ स्नान तथा पूजाआजा गर्न नेपालका विभिन्न भूभागका साथै भारतबाट समेत तीर्थयात्री आउने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। कठिन उकालो, चिसो मौसम र उच्च भूभागमा यात्रा गर्नुपर्ने भएकाले धार्मिक आस्थासँगै स्वास्थ्य सुरक्षालाई समेत उत्तिकै प्राथमिकता दिन चिकित्सकहरूले आग्रह गरेका छन्।
यात्रीलाई स्वास्थ्यमा समस्या आएमा उद्धारका लागि जिल्ला अस्पताल धुन्चे ल्याउन नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका उद्धारकर्मीको व्यवस्था रहेको र सुरक्षा लगायत कुनै समस्या परेमा सम्पर्क राख्न गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक एवं रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए।
खानेवस्ने दररेट समेत  निर्धारण 
गोसाइँकुण्ड मेला व्यवस्थापनका लागि यात्रीहरूलाई खाना, बास र खाजाको दररेट तोकिएको छ। वर्षेनी हुने दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिसँगै होटलको खाना, बास तथा अन्य सामग्रीको मूल्य सूची निर्धारण गरिएको हो।
मेलाको समयमा सो मार्गमा रहेका अस्थायी छाप्रा (थर्पु) वा स्थायी होटलहरूले गोसाइँकुण्ड क्षेत्र विकास समितिले तोकेको दररेटभन्दा बढी लिन पाउने छैनन्। मेलाको अन्तिम तयारीका क्रममा बाटो सरसफाइ, ठाउँ-ठाउँमा अस्थायी शौचालय, खाना र बासको व्यवस्थाका लागि अस्थायी छाप्रा (थर्पु) निर्माणलगायतका कामहरू सकिएका छन्।

प्रतिकृया दिनुहोस