सीताभूमिबाट पार्वती जन्मथलो पुग्दा

२०४९ सालतिरको कुरा हो। राजनीतिशास्त्रमा स्नातकोत्तर सकेपछि म भरपर्दो रोजगारीको खोजीमा थिएँ। पत्रकारितामा सक्रिय त थिएँ नै, तर यसबाट गुजारा चल्ला जस्तो लागेको थिएन। मेरा अग्रज शुभाषचन्द्र कर्ण त्यतिवेला पर्वत जिल्लाको कुनै क्याम्पसमा आबद्ध थिए। उनले राजनीतिशास्त्र पढाउँछौ त भनेर प्रस्ताव गरे।

अहो, नामै पर्वत, कस्तो विकट होला? जनकपुरको मानिसको मनमा यो प्रश्न उठ्नु अस्वाभाविक पनि नहुँदो हो। त्यसैले पनि म पर्वत गइनँ।

पर्वत नजानु मेरो जीवनकै निर्णायक क्षण बन्न पुग्यो। त्यसपछि नै हो, मैले पत्रकारितामै भविष्य कोर्ने निर्णय गरेको।

जब टेकेँ पर्वत

धेरै पछि पर्वत पुगेपछि मात्र मैले थाहा पाएँ– पर्वत मैले सोचेजस्तो विकट बिल्कुलै रहेनछ। त्यहाँ प्रत्येकपटक पुग्दा लाग्छ– मलाई पर्वतको नामैले झुक्यायो। देशका अन्य पहाडजस्तै भूगोल छ, पर्वतको। पूर्वमा कास्की र स्याङ्जा, दक्षिणमा स्याङ्जा र गुल्मी, पश्चिममा गुल्मी, बागलुङ र म्याग्दी, उत्तरमा म्याग्दी जिल्लाले घेरिएको यस जिल्लामा समुद्री सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी धाम पनि छ अनि ३,३०९ मिटर उचाइमा हम्पाल लेक पनि।


बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने पुलमा पर्यटक। तस्बिर सौजन्य : प्रकाश बराल

मैले सम्झेसम्म पर्वतको पहिलो आवासीय भ्रमण २०६६ सालमा गरेको हुँ। त्यसबेला म नेपाल पत्रकार महासंघको अध्यक्ष थिएँ। मसँगको कुस्मा बसाइमा प्रेस काउन्सिलका अध्यक्ष नारायण शर्मा र जगदीश पौडेल अनि सूचना विभागका महानिर्देशक श्रीधर गौतम पनि साथै थिए। पत्रकार ओमप्रसाद शर्मा घायल, दुर्गाप्रसाद शर्मा, छवि तिवारी, माया अधिकारीलगायत पत्रकारले हामीलाई निकै सघाएका थिए। एउटा कुरा थप सम्झना छ– हामी अम्बोटमा खाजा खाइरहेका थियौँ, एक जना क्यामेरा हल्लाउँदै हाम्रासामु अलि थर्काउने पाराले प्रस्तुत भएका थिए। ओम र दुर्गाले सम्झाइबुझाई गरेपछि ती व्यक्ति फर्केका थिए।

कुस्मा बजार देशका औसत पहाडी बजारजस्तै थियो। नेपालकै अग्लो मानिने झोलुंगे पुलका आधारमा यस जिल्लाले फरक चिनारी बनाइसकेको थियो। त्यसबेला हामीले कालीगण्डकीमाथि निर्मित झोलुंगे पुलबाट वारपार गरेका थियौँ। निकै तल बगिरहेको कालीगण्डकी हेर्न पनि ठूलो आँट चाहिनेजस्तो लागेको थियो।

नयाँ चिनारी

२०६६ सालपछि सम्झने गरी म यहाँ आएको १७ पुस २०७८ पुस हो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिद्वारा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रमका क्रममा सहजकर्ताको भूमिकामा बागलुङपछि म पर्वत आएको थिएँ र दुई रात कुस्मामा बिताएको थिएँ। त्यहीबेला नै हो, मैले फेरिएको पर्वत र कुस्माको अनुभव गरेको। एक दशकमा पर्वतले भौतिक र आर्थिक विकासमा गरेको उल्लेखनीय प्रगति मेरा लागि बदलिँदो नेपालको साक्षी बनेको थियो।

ज्योतिष विद्याका लागि चर्चित पर्वतलाई कुनै खास परिचय आवश्यक थिएन। तर, साहसिक पर्यटनका लागि बन्जी जम्पिङ, जिपलाइन, पारि सुविधासम्पन्न होटल, रिसोर्ट। एकै ठाउँमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्ने यति धेरै माध्यम। जोकोहीका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्ने सम्भावना मैले देखेँ।

कुस्मा बजार क्रमशः पहाडबीचको आधुनिक सहरका रूपमा विकसित भइरहेको बोध मैले त्यसलगत्तै १७ जेठ २०७९ को भ्रमणताका गरे। त्यसबेला म मुस्ताङबाट मुक्तिनाथ दर्शन गरेर फर्किरहेको थिएँ। मुस्ताङका अजंगका पहाडको दृश्यावलोकनपछि कुस्मा आइपुग्दा एक प्रकारले तराई आइपुगेजस्तो हुने रहेछ।

यसपटकको यात्रा टोलीमा पत्नी मुन्नी र छोरी शिवार्ती पनि थिए। शिवार्तीले बन्जी जम्पिङ क्षेत्र हेर्ने रहर गरेपछि हामी त्यता मोडिएका थियौँ। यसको संयोजन पत्रकार ओमप्रसाद शर्मा घायलले गरेका थिए। उनले त्यहाँ पर्वतबारे थुप्रै जानकारी दिनुका साथै पथप्रदर्शकको भूमिका पनि निर्वाह गरे।


बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने पुलबाट बन्जी गर्दै पर्यटक । तस्बिर सौजन्य : प्रकाश बराल

घायलका अनुसार पर्वतका हरेक गाउँलाई कच्ची नै भए पनि मोटरबाटोले जोडेको छ। मोदीखोला जलविद्युत् आयोजना सञ्चालनमा आएदेखि विद्युतीकरणले तीव्रता पाएको छ। नजिकैको पर्यटकीय सहर पोखरा र विश्वप्रख्यात पैदलयात्रा मार्ग अन्नपूर्ण संरक्षण क्षेत्रलाई लक्षित गरेर जाने पर्यटकलाई आकर्षित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन।

कालीगण्डकी सभ्यताको एक महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित यो भूमिको पनि मुस्ताङ र म्याग्दीजस्तै एक समान विशेषता छ, त्यो हो– शालग्रामको उपलब्धता। दक्षिण भेगमा अवस्थित प्रसिद्ध शालग्राम शिला यसको प्रमाण हो।

झोलुंगे पुलको जिल्ला

पत्रकार घायल हामीलाई जानकारी दिइरहेका थिए– पर्वतमा नेपालकै सबैभन्दा लामा र अग्ला झोलुंगे पुलहरू छन्। भने– संसारकै दोस्रो ठूलो बन्जीजम्प, जिपलाइन, यान्त्रिक पुल आदि यहाँका साहसिक पर्यटनका आकर्षण हुन्।

कुस्माबाट पर्वतको ज्ञादी र फलेवास जोड्ने र बागलुङको बलेवा जोड्ने अग्ला र लामा पुलहरूले पनि पर्यटक लोभ्याइरहेका छन्। कुनै बेला झोलुंगे पुलको जिल्लाका रूपमा चिनिने बागलुङको परिचय यतिखेर पर्वततिर सरेको छ। ती पुलहरूबाट कालीगण्डकी र मोदी खोलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

मलाई अचम्म लागिरहेको थियो– मुस्ताङमा पुरापुर फैलिएर बग्ने कालीगण्डकी कुस्मामा साँघुरो खोँचजस्तो क्षेत्रबाट बग्ने गर्दछ, त्यो पनि बस्तीबाट निकै तल। जोमसोममा भने बस्तीको बीचबाटै कालीगण्डकी बगेको देख्न सकिन्छ, हेर्दा सहज लाग्छ। कुस्माको जस्तो अत्यास लाग्दैन।


बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने झोलुंगे पुल। तस्बिर सौजन्य : प्रकाश बराल

अवलोकनको यस क्रमलाई मैले पछिल्लोपटक गत २ जेठमा पनि निरन्तरता प्रदान गरेको थिएँ। तीन वर्षअघिको अवस्थामा खासै परिवर्तन आएको त छैन, तर परिवर्तनको क्रम रोकिएको पनि छैन। बस्ती विस्तार जारी छ। होटेललगायत नयाँ व्यापारिक प्रतिष्ठान खुलिरहेकै छन्। रोजगारीका अवसर बढेका छन्। पत्रकार दुर्गाप्रसाद शर्माका अनुसार कुस्माको आर्थिक गतिविधि निकै बढेको छ र जिल्लाको अन्य क्षेत्रको तुलनामा सम्पन्न बन्दै छ। पछिल्लो समयमा यहाँ बसाइँसराइ (स्थानान्तरण)को क्रम पनि अत्यन्त न्यून छ।

नामको न्वारान

म पर्वत धेरैपटक पुगेँ, तर यसको नामकरणबारेको जिज्ञासा कायमै थियो। मैले पछिल्लो यात्रामा भने पत्रकार घायलसामु यो जिज्ञासा राखे। उनका अनुसार धार्मिक किंवदन्तीका अनुसार यो जिल्लालाई देवी पार्वतीको जन्मस्थान मानिन्छ, त्यसैले यसलाई पार्वती क्षेत्र पनि मानिन्छ। त्यही नामबाट पार्वत हुँदै पर्वत रहन गएको भन्ने मान्यता छ।

विभिन्न धर्मपुराणमा उल्लेख भएअनुसार पार्वतीको जन्मस्थान कुस्मा नगरपालिका-१, साबिकको पाङ गाउँमा भएको मतका आधारमा पर्वत नामकरण भएको पाइन्छ। परापूर्वकालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो। विगतमा कुस्मालाई कुसुमपुर भनिन्थ्यो, जहाँ कुशैकुशको बगान थियो। कालीगण्डकी स्नान गरी कुसुमपुरको फूल टिपेर माता पार्वती गुप्तेश्वर महादेवलाई पूजा गर्थिन् भन्ने मान्यता पनि रहिआएको छ। विभिन्न शिवालय र देवालय भएकाले पनि पर्वत आफैँमा पवित्र देवभूमि हो भन्दा फरक पर्दैन।

इतिहासमा उल्लेख भएअनुसार राजा मलेबमका पालामा शक्तिशाली चौबीसे राज्य पर्वत उत्तर भोटदेखि दक्षिण गुल्मी र गल्कोट पूर्वमा गौदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भयो। त्यतिबेलाको गण्डकी क्षेत्रको शक्तिशाली चौबीसे राज्य पर्वत १८४४ सालमा नेपाल राज्यमा विलय भएको थियो।

विगतमा घुम्न र जानकारी लिन छुटेका कुस्मानजिकका ठाउँको अवलोकन गर्ने मेरो पछिल्लो भ्रमणको लक्ष्य थियो। कुस्मा बजारनजिकै रहेका प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफा, मोदीवेणी धाम, पञ्चासे र डहरेको लेक देशी तथा विदेशी पर्यटकका आकर्षणका केन्द्र हुन्। शिवरात्रि, ठूली एकादशी र बालाचर्तुदशीजस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ। पत्रकार छवि तिवारी र माया अधिकारीका अनुसार पञ्चासे, हम्पालको लेक र डहरेको लेक यस क्षेत्रका सम्भावना बोकेका पर्यटकीय स्थल हुन्। यसका साथै दक्षिणको पैयुँकोट दरबार पनि धार्मिक एवं ऐतिहासिक स्थलमा पर्दछ।


बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने संसारको दोश्रो अग्लो बन्जी पुल। तस्बिर सौजन्य : प्रकाश बराल

पर्वतमा पर्याप्त पर्यटकीय सम्भावना हुँदाहुँदै यसको समुचित लाभ भने लिनै नसकिएको भान भयो। लाग्यो, पर्वत कुस्माभित्रै खुम्चिएको छ। यहाँ पर्यटकीय महत्त्वका कुस्माको गुप्तेश्वर गुफा, ज्ञादीको अलपेश्वर गुफा, पाङको भुवनेश्वरी गुफा, बर्राचौरको शीतलपाटी गुफा, लुंखुको चनौटे भिरमुनिको ढाउ गुफा प्रसिद्ध छन्, त्यसैले पर्वतलाई गुफाको जिल्ला पनि भनिन्छ।

पत्रकार घायलका अनुसार पर्यटकलाई यी सबै गुफासम्म पुर्‍याउन सके जिल्लाको आर्थिक विकासमा पनि योगदान पुग्न सक्छ। यसका साथै मोदीवेणीको नरसिंह मन्दिर, सेतीवेणीको शालिग्राम शिला, धाइरिङको भुमे, लुंखु चिसापानीको कालिका देवी मन्दिर, कुस्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरू, ठूली पोखरीको बाटुलेचौर, होस्रादीको पैँयुकोट र धुवाँकोटको ऐतिहासिक दरबार तथा किल्ला, माझफाँटको कर्णेलको दरबार तथा लुंखुको महाशिला (मेलढुंगा) महत्त्वपूर्ण मानिन्छन्।

मैले यी सबैबारे सुनेँ मात्र, किनभने ती ठाउँ पुग्न पर्याप्त समय थिएन। ती सबै ठाउँको अवलोकनको इच्छालाई अहिलेका लागि मनमै दबाएर राख्नुको विकल्प थिएन। मैले घायललाई अर्कोपटक पर्वत आएर ती ठाउँ जाने वाचा गरेको छु। https://nepalnews.com/2025/11/30/when-reaching-the-birthplace-of-parvati-from-sita-bhoomi/
 लेखक धर्मेन्द्र विह्वल झा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षराष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय