गौशाला धर्मशालामा निरन्तर प्रदर्शन, काठमाडौं महानगरले माग्यो प्रशासनसँग सुरक्षा

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग सुरक्षा माग गरेको छ। 

गत असोज २२ गते महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौताअनुसार धर्मशाला सञ्चालन र व्यवस्थापनका लागि प्रशासनसँग सुरक्षा माग गरिएको हो।

मारवाडी सेवा समितिले मोहियानी हक लाग्ने दाबी गर्दै दिनहुँ प्रदर्शन गर्न थालेपछि काठमाडौं महानगरपालिकाले प्रशासनसँग गुहार माग्नुपरेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए।

धर्मशाला सञ्चालन तथा व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले असो २० गते महानगरलाई पत्राचार गरेको थियो। त्यसलगत्तै असोज २२ गते बसेको महानगरको कार्यपालिका बैठकले त्यसलाई अनुमोदन गरेको थियो। काठमाडौं जिल्ला अदालतले पनि असोज १६ गते फैसला सुनाउँदा गौशाला धर्मशालामा मारवाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरेको थियो।

यता, मारवाडी सेवा समितिले धर्मशालामा निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ। धर्मशालामा आफ्नो मोहियानी हक लाग्ने र यस सम्बन्धी मुद्दाको अन्तिम किनारा नलागेसम्म आफ्नो न्यायिक अधिकार सुनिश्चित हुनुपर्ने प्रदर्शनकारीको माग छ। : अन्नपूर्ण पोष्ट

प्रतिकृया दिनुहोस

साताको लोकपृय