रैथाने बिउ जोगाउन मुस्किल, मूल्य तेब्बर खेती भने खुम्चिँदै

काठमाडौँ, असार १४ गते । नेपालमा आयातित तथा हाइब्रिड (वर्णशङ्कर) बिउको प्रयोग बढ्दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व सङ्कटमा परेको छ । कृषिविज्ञका अनुसार सरकारी नीतिगत कमजोरी, सहरीकरण, बसाइँसराइ, जलवायु परिवर्तन तथा आधुनिक कृषि प्रविधिको विस्तारका कारण रैथाने बिउ तीव्र रूपमा लोप हुँदै गएका छन् । 

हाइब्रिड बिउ स्थानीय र उन्नत जातबिचको वैज्ञानिक संयोजन (क्रस) बाट तयार गरिन्छ । यस्ता बिउले सामान्यतया स्थानीय जातको तुलनामा २० देखि ३० प्रतिशतसम्म बढी उत्पादन दिन्छन् । केही बालीमा उत्पादन दोब्बर वा तेब्बरसम्म हुने गर्छ, छिट्टै पाक्ने भएकाले किसानले कम समयमा बजारमा उत्पादन पु¥याएर आम्दानी लिन सक्छन् ।  

तर हाइब्रिड बिउसँगै धेरै चुनौती छन् । यस्ता बिउबाट उत्पादन भएको बालीको बिउ अर्को वर्ष पुनः प्रयोग गर्दा अपेक्षित उत्पादन नहुने भएकाले किसानले हरेक वर्ष नयाँ बिउ खरिद गर्नु पर्छ । बिउको मूल्य महँगो हुनुका साथै राम्रो उत्पादनका लागि रासायनिक मल, सिँचाइ र अन्य कृषि सामग्रीमा समेत बढी लगानी आवश्यक पर्छ । रोग र किराको प्रकोप धेरै हुन्छ । यसले किसानलाई बजार र कम्पनीमाथि निर्भर बनाउने जोखिम रहेको विज्ञको भनाइ छ । 

रैथाने बाली केवल खाद्यान्नका स्रोत मात्र होइनन्, ती स्थानीय समुदायको इतिहास, संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएका जीवित सम्पदा हुन् । यस्ता बाली स्थानीय वातावरण अनुसार विकसित भएका कारण खडेरी, अनियमित वर्षा, रोग तथा किराको आक्रमणसमेत सहन सक्ने क्षमता राख्छन् तर हाइब्रिड बालीले त्यस्तो प्राकृतिक प्रकोप सहन सक्दैन । रैथाने बालीको लोपसँगै गाउँको खाद्य संस्कृति पनि सङ्कटमा पर्न थालेको छ । पार्टी प्यालेसहरूमा हुने भोजले कोदोको रक्सी, फापरको रोटी, कागुनोको भात, भटमासको अचार र स्थानीय धानका परिकार नयाँ पुस्तालाई थाहा नै छैन ।

रैथाने बिउहरू स्थानीय वातावरणसँग घुलमिल भएका हुन्छन् । यस्ता जातले खडेरी, असामान्य वर्षा वा अन्य प्रतिकूल परिस्थितिमा समेत बाँच्ने क्षमता राख्छन् । स्वाद, पोषण र गुणस्तरका हिसाबले पनि धेरै रैथाने जात लोकप्रिय मानिन्छन् । किसानले आफ्नै उत्पादनबाट अर्को यामका लागि बिउ सुरक्षित राख्न सक्ने भएकाले यसको लागत पनि कम पर्छ । यद्यपि रैथाने जातको उत्पादन क्षमता हाइब्रिडको तुलनामा कम हुने र बाली तयार हुन बढी समय लाग्ने समस्या छ । यही कारण बजारमुखी र व्यावसायिक खेतीमा रैथाने बिउको प्रयोग घट्दै गएको छ । 

लामो समयदेखि धान खेतीको अध्ययन गर्दै आउनुभएका कृषि प्रसार अधिकृत कृष्ण धितालका अनुसार सन् १९८९ मा नेपालमा दुई हजारभन्दा बढी रैथाने जातका धान खेती हुने अनुमान गरिए पनि अहिले तीमध्ये निकै कम मात्र कृषकका खेतबारीमा बाँकी छन् । पोखराको जेठोबुढो, डोटीको जोरायल बासमती, कपिलवस्तुको कालानमक र झापाको कालो नुनियाँ जस्ता सुगन्धित धानका जात संरक्षणको अभावमा हराउने जोखिममा छन् । यस्तै अनदी धान, फापर, कोदो, चिनो, कागुनो, गहत र जौ जस्ता रैथाने बाली पनि अनुसन्धान र विकासको प्राथमिकतामा पर्न सकेका छैनन् । 

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) मा विभिन्न बालीका करिब १३ हजार जात तथा फिल्ड जिन बैङ्कमा १८ हजारभन्दा बढी जात संरक्षण गरिएको छ । जिन बैङ्कका सूचना अधिकारी डा. मुकुन्द भट्टराईका अनुसार दीर्घकालीन र मध्यकालीन विधिबाट आनुवंशिक स्रोत संरक्षण गरिए पनि कृषकको खेतबारीमै संरक्षण र उपयोग विस्तार हुन सकेको छैन । दीर्घकालीन संरक्षण एक सय वर्षसम्म हुने र मध्यकालीन संरक्षण १५ वर्षसम्मको हुने उहाँले उल्लेख गर्नुभयो । काभ्रेपलाञ्चोकका कृषक महेश्वर दाहाल रैथाने बिउ संरक्षणमा प्रभावकारी कदम नचालिए खाद्य सुरक्षा, जैविक विविधता र कृषि प्रणालीमै दीर्घकालीन असर पर्ने बताउनुहुन्छ ।  बिउ उत्पादक उपेन्द्र तिमल्सिनाका अनुसार हाइब्रिड बिउबाट बढी उत्पादन भए पनि किसानले हरेक वर्ष नयाँ बिउ खरिद गर्नुपर्ने, लागत बढी पर्ने तथा पर्याप्त सिँचाइ र मल आवश्यक पर्ने चुनौती छन् । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले व्यावसायिक उत्पादनका लागि हाइब्रिड उपयुक्त भए पनि खाद्य सुरक्षा, जलवायु अनुकूलन र जैविक विविधताका लागि रैथाने बिउ संरक्षण अपरिहार्य रहेको बताउनुभयो । 

जोगिँदै छन् तिल्की र सिम्ठारो

तुलसीपुर समाचारदाता गोकर्ण पौडेलका अनुसार लुम्बिनी प्रदेशका गाउँघरमा कुनै समय सुनखस्रा, सान्जिरा, राइमल्वा, ढुनमुने, गौरे, गोपाल, तिल्की, सिम्ठारो, अनदी र कालानमक जस्ता रैथाने धानका जात किसानको रोजाइमा थिए । यी धानले केवल भान्सा भरिँदैनथे, स्थानीय संस्कृति, परम्परा र जैविक विविधताको समेत प्रतिनिधित्व गर्थे तर आज तीमध्ये धेरै जात लोप भइसकेका छन् ।

करिब ६५ वर्षदेखि तिल्की धान खेती गर्दै आएका दाङको तुलसीपुर–१९, पर्के निवासी ८७ वर्षीय किसान दुर्गाबहादुर खत्री भन्नुहुन्छ, “पहिले धेरै जातका धान थिए, अहिले तिल्की र सिम्ठारो मात्रै कता कता देखिन्छन् । संरक्षण नगर्ने हो भने यी पनि हराउने छन् ।” उत्पादन कम भए पनि रैथाने धानको मूल्य निकै उच्च छ । दाङको जयराप्ती राइस मिलका अनुसार तिल्की चामल प्रतिक्विन्टल १६ हजार रुपियाँसम्म बिक्री हुन्छ जबकि हाइब्रिड धानको चामल करिब पाँच हजार चार सय रुपियाँमा पाइन्छ अर्थात् रैथाने चामलको मूल्य तीन गुणाभन्दा बढी छ ।
https://gorkhapatraonline.com/news/211950
यति राम्रो मूल्य हुँदाहुँदै पनि किसानको उत्साह किन बढ्न सकेन त ? पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार यसको मुख्य कारण उत्पादनमा रहेको अन्तर हो । उहाँले भन्नुभयो, “रैथाने धानले राम्रो मूल्य पाए पनि उत्पादन कम हुन्छ । किसानले बजारभन्दा पहिले खेतको उत्पादन हेर्छन् ।”

पैँचो अभियान

रैथाने बिउ जोगाउन विभिन्न सङ्घ संस्था र स्थानीय सरकारले पहल गरिरहेका छन् । दाङमा ‘रैथाने बिउ पैँचो अभियान’ तीन वर्षदेखि सञ्चालनमा छ । यस अन्तर्गत किसानलाई बिउ उपलब्ध गराइन्छ र उत्पादनपछि सोही परिमाणको बिउ फिर्ता गर्नु पर्छ । अभियानले बिउ संरक्षणमा सहयोग गरे पनि व्यावसायिक खेतीतर्फ किसानको आकर्षण अझै सीमित छ ।

तुलसीपुर–१८ स्थित गन्यारी कृषक सहकारी संस्थाले भने रैथाने धानलाई व्यावसायिक रूपमै अघि बढाउने प्रयास गरेको छ । सहकारीले एक बिघा १५ कट्ठा क्षेत्रमा तिल्की धान खेती गर्दै आएको छ । वार्षिक ५५ देखि ६० मुरीसम्म उत्पादन हुने यो धान बिक्रीमा कुनै समस्या नभएको संस्थाका अध्यक्ष लक्ष्मी चौधरी बताउनुहुन्छ । 

रैथाने धान दाङमा मात्रै सीमित छैन । लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासीपश्चिम), बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पासम्म यसको उपस्थिति भेटिन्छ ।

प्रदेशको सबैभन्दा चर्चित रैथाने धान कालानमक हो । मसिनो दाना, मिठो स्वाद र विशिष्ट सुगन्धका कारण कालानमक धानलाई विशेष महत्व दिइन्छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कपिलवस्तुमा मात्रै करिब ७४ हेक्टर क्षेत्रफलमा यसको खेती हुने गरेको अनुमान छ । रुपन्देही र नवलपरासी पश्चिममा पनि यसको उत्पादन हुँदै आएको छ ।

बाँकेमा घैया, गर्भे र अनदी धान संरक्षणको प्रयास भइरहेको छ भने पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पामा जर्नेली, झिनुवा, रमनी र आँगा जस्ता स्थानीय जात अझै जीवित छन् ।

दाङ घोराही–२ स्थित जैविक विविधता सहकारी संस्थाले रैथाने धानको संरक्षणमा उल्लेखनीय काम गरिरहेको छ । संस्थाले सान्जिरा, राइमल्वा, ढुनमुने, गौरे, गोपाल, तिल्की, अनदी, कालोधान र सिम्ठारोसहित ४३ जातका रैथाने धानको बिउ बैङ्क सञ्चालन गरेको छ ।संस्थाकी अध्यक्ष कमला भण्डारीका अनुसार यी धान केवल उत्पादनका लागि नभई भावी पुस्ताका लागि आनुवंशिक सम्पदा जोगाउने उद्देश्यले संरक्षण गरिएका हुन् । कृषि ज्ञान केन्द्र दाङले पनि यस अभियानमा सहयोग गर्दै आएको छ ।

कृषि विकास निर्देशनालयका निमित्त महानिर्देशक रामप्रसाद पाण्डेका अनुसार लुम्बिनी प्रदेशमा करिब तीन लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ तर रैथाने धानले कुल क्षेत्रफलको एक प्रतिशतभन्दा पनि कम हिस्सा ओगटेको अनुमान छ । हाइब्रिड र उन्नत जातको विस्तारसँगै रैथाने धानको क्षेत्रफल बर्सेनि घट्दै गएको छ । कृषि वैज्ञानिकले जलवायु परिवर्तन र रोगप्रतिरोधी क्षमता भएका नयाँ धानका जात विकास गरिरहेका छन् । हर्दिनाथ–४, ५ र ६, बहुगुणी धान–२, गङ्गासागर–१ र ३ लगायतका जातले उत्पादन वृद्धि र खाद्य सुरक्षामा योगदान पु¥याएका छन् तर यससँगै स्थानीय जातहरूको संरक्षण पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।

सुवासित करियाकमोद घट्दो

ढल्केबर समाचारदाता विजयकुमार साहका अनुसार विशिष्ट सुगन्ध, मसिनो तथा स्वादका कारण कुनै समय उपभोक्ताको प्रमुख रोजाइमा पर्ने करियाकमोद धान अहिले लोप हुने अवस्थामा पुगेको छ । धनुषालगायत तराई मधेशका क्षेत्रमा व्यापक रूपमा खेती गरिने रैथाने करियाकमोद धान पानीको अभाव, उत्पादन लागत वृद्धि र कम उत्पादनका कारण किसानले खेती क्रमशः छाड्दै गएपछि यो लोप हुने अवस्थामा पुगेको हो । 

धनुषाको धनुषाधाम नगरपालिका–९, नौसय बिघाका किसान रामकिशोर यादवका अनुसार कुनै समय यस क्षेत्रका करिब ९० प्रतिशत खेतमा करियाकमोद धान लगाइन्थ्यो । अहिले यसको हिस्सा घटेर करिब १० प्रतिशतमा सीमित भएको छ ।

उहाँका अनुसार करियाकमोद धान पाक्न पनि अरू धानभन्दा बढी समय लाग्ने गर्छ । उत्पादन पनि कम हुने भएकाले किसान आर्थिक हिसाबले उन्नत तथा हाइब्रिड जाततर्फ आकर्षित भएका छन् ।

अर्का स्थानीय किसान गोविन्द यादवले विगतमा गाउँका खेतमा कालो रङका धानका बाला प्रशस्त देखिने गरेको भए पनि अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको बताउनुभयो । ढल्केबरका चामल व्यापारी बद्री साहले सुगन्धित र उच्च गुणस्तरका कारण करियाकमोद चामलको मूल्य सामान्य चामलभन्दा दोब्बरभन्दा बढीमा बिक्री हुने गरेको बताउनुभयो । कृषिविज्ञका अनुसार करियाकमोद जस्ता रैथाने धान केवल खाद्यबाली मात्र नभई स्थानीय जैविक विविधता, संस्कृति र पहिचानसँग जोडिएका अन्न हुन् । यस्ता जातका धान हराउँदै जाँदा स्थानीय कृषि प्रणालीको विविधता पनि कमजोर बन्छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका कृषि प्राविधिक रबेन्द्रप्रसाद साहका अनुसार पहिलाको तुलनामा खेती क्षेत्र र उत्पादन घटे पनि विभिन्न स्थानमा किसानले यसको उत्पादन गर्दै आएका छन् । 

कृषि प्रणाली र आर्थिक सामाजिक क्षेत्र प्रभावित

बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार उन्नत तथा विकासे जातका बालीको विस्तारसँगै रैथाने धान, मकै, तरकारीलगायतका स्थानीय बाली क्रमशः लोप हुँदै गएका छन् । 

महोत्तरीको गौशाला–७, जमुनियाकी ७४ वर्षीय कृषक आशादेवीका अनुसार हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन, मालभोग, बच्ची, जसवा, बाहरनी र मन्सरी जस्ता धानका प्रजाति अहिले देखिन छाडेका छन् । बासमतीले मात्र कुनै प्रकारले आफ्नो अस्तित्व जोगाइरहेको उहाँले बताउनुभयो । 

स्थानीयका अनुसार रैथाने धान हराउँदै जाँदा उत्पादन प्रणाली मात्र नभई सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा समेत असर परेको छ । महोत्तरीकै प्रमुख धान उत्पादन क्षेत्रमध्ये एक मानिने जमुनियालाई सदावहार रूपनीखोलाबाट वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुने भएकाले ‘धानको माइतीघर’ समेत भनिन्छ तर स्थानीय प्रजाति हराउँदै जाँदा गाउँको परम्परागत जीवनशैलीमा परिवर्तन आएको कृषकको अनुभव छ ।

गाउँका ७२ वर्षीय अगुवा कृषक रुद्रनारायण चौधरीका अनुसार विकासे धानले स्थानीय जातलाई विस्थापित गरेपछि परालको अभाव हँुदा पशुपालन प्रभावित भएको छ । रैथाने धानका बोट अग्ला हुने भएकाले त्यसको परालबाट गुन्द्री बुन्ने, पिर्का बनाउने तथा घरको छाना छाउने काम गरिन्थ्यो । गरिबका लागि पराले गुन्द्री जाडोमा सिरकसरह हुन्थ्यो । धान काटिसकेपछि खेतमै बोटको तल्लो पराले भागबाट ‘लार’ निकालेर आलु खेतीमा प्रयोग गरिन्थ्यो, जसले उत्पादन बढाउनुका साथै रासायनिक मलको आवश्यकता पर्दैनथ्यो । उत्पादन पनि बढ्थ्यो । 

चौधरीले भन्नुभयो, “स्थानीय धान एकनासले फल्ने र रोग प्रतिरोधी पनि हुन्थे तर विकासे धानले सुरुमा राम्रो उत्पादन दिए पनि पछि उत्पादन घट्दै जाने र रोगको समस्या बढ्ने गरेको छ । यसले रोग नियन्त्रणका लागि महँगा विषादी प्रयोग गर्नुपर्ने भएकाले किसान थप आर्थिक भारमा परेका छन् ।”

स्थानीय धानसँगै कृषि प्रणालीसँग सम्बन्धित अन्य जैविक विविधता पनि हराउँदै गएको छ । कृषकका अनुसार खेतमा पाइने भ्यागुता, गँगटा, स्थानीय माछालगायतका जीव अहिले दुर्लभ बनेका छन् । चिसापानी जातको ‘कच्चु’ भनिने कालो आलु, वैशाख–जेठमा छरेर भदौमा भिœयाइने स्थानीय मकै, मङ्सिरदेखि माघसम्म उत्पादन हुने रैथाने सानो काउली तथा हरियो वित्ते घिरौँला पनि खेतीबाट विस्थापित भइसकेका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द रायले रैथाने बाली विस्थापनसँगै कृषिक्षेत्रमा नयाँ चुनौती थपिएको स्वीकार गर्नुभयो । उहाँका अनुसार यसले खाद्यान्नको गुणस्तरमा ह्रास ल्याउनुका साथै नयाँ रोगको सङ्क्रमण बढाएको छ । उहाँले भन्नुभयो, “विकासे बालीसँगै देखिन थालेका नयाँ रोगले उत्पादनमा समेत असर पु¥याएको छ । रैथाने बालीको तुलनामा उन्नत जातमा उत्पादन बढी भए पनि स्वाद, सुगन्ध र गुणस्तर कम हुने तथा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने गरेको छ । सिथ ब्लाइट जस्तो घातक रोगको प्रकोप पनि पछिल्ला वर्ष बढ्दै गएको छ । 

बासमतीकै छैन बास्ना 

गाईघाट समाचारदाता भक्तिविलास पोखरेलका अनुसार उदयपुर जिल्लाका बेलका, चौदण्डीगढी, कटारी, त्रियुगा, उदयपुरगढी, ताप्ली, रौतामाई र लिम्चुङबुङका ग्रामीण क्षेत्रमा पुस्तौँदेखि खेती गरिँदै आएका स्थानीय जातका बालीहरू अहिले सीमित किसानका घरबारीमा मात्र देख्न पाइन्छन् । कुनै समय गाउँको पहिचान बनेका जुनेलो, घैया र कागुनी जस्ता पुराना मौलिक बालीका बिउ नै भेटिन छाडेको गाईघाटका ८६ वर्षीय जेष्ठ नागरिक गोपाल बस्नेत बताउनुहुन्छ । 

उदयपुरगढी गाउँपालिका–६, गढीका ७८ वर्षीय किसान भन्नुहुन्छ, “गाउँघरमा पहिले हरेक घरले कोदो, कागुनो, स्थानीय धानको कमाइले वर्षभरि आफ्नै उत्पादन खान पुग्थ्यो । अहिले गाउँभरि खोज्दा पनि त्यतिबेला लगाइने गरिएका धेरै जसो अन्नबाली भेटिँदैनन्, पुराना बिउ जोगाउने मानिस नै अब गाउँघरमा छैनन् ।” पाण्डेका अनुसार पहिले गाउँमा उत्पादन हुने रैथाने धानको भात पाक्दा टोलभरि नै मगमग बास्ना फैलिन्थ्यो तर अचेल बासमती धानको समेत बास्ना आउँदैन । 

पछिल्लो समय स्वास्थ्यप्रति सचेत उपभोक्ताले कोदो, फापर, कागुनो, र स्थानीय धान, मकैबाट बनेका खाद्यपदार्थ रोज्न थालेकाले रैथाने बालीको नियमित उत्पादन, प्रशोधन र बजारसँग जोड्न तथा किसानको आम्दानी वृद्धि गराउन आवश्यक रहेको चौदण्डीगढीका नगरप्रमुख कालुमान लामा बताउनुहुन्छ ।   
https://gorkhapatraonline.com/news/211950

प्रतिकृया दिनुहोस