‘महानगरका सबै वडामा ज्येष्ठ नागरिकलाई विश्रामस्थलको खाँचो’

भरतपुर । ज्येष्ठ नागरिकहरुले भरतपुर महानगरपालिकाका सबै वडाहरुमा विश्रामस्थलको खाँचो भएको बताएका छन् । उनीहरुले यसका लागि महानगरपालिकाले पहल गर्नुपर्ने बताए ।

भरतपुर महानगरपालिका वडा नं–३ को ज्येष्ठ नागरिक संघ उपशाखाले शनिबार आयोजना गरेको तेस्रो स्थापना दिवस तथा दोस्रो साधारण सभामा ज्येष्ठ नागरिकहरुले मन बहलाउनका लागि पनि विश्रामस्थलको खाँचो भएको बताए ।

ज्येष्ठ नागरिक संघ उपशाखा भरतपुर–३ की अध्यक्ष पद्मा श्रेष्ठ ढेवाजूले भरतपुर–३ मा ज्येष्ठ नागरिकहरुका लागि विश्रामस्थलको खाँचो भएको र यसका लागि जग्गाको व्यवस्थापन गरिदिन माग गरिरहेको बताइन् । उनले भनिन्, ‘ज्येष्ठ नागरिकहरुले आफ्नो विगतका अनुभव साटासाट गर्न, मन बहलाउन, धर्म–संस्कृतिको अध्ययन गर्न र विभिन्न सांस्कृतिक क्रियाकलापलाई अगाडि बढाउन ज्येष्ठ नागरिक विश्रामस्थलको खाँचो छ ।’ उनले भरतपुर–३ नं वडाले जग्गाको व्यवस्थापन गरेको खण्डमा दाताहरुको सहयोगमा विश्रामस्थल बनाउन सकिने बताइन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक संघ चितवनका कार्यवाहक अध्यक्ष माधव शर्मा घिमिरेले भरतपुर महानगरका प्रायः सबै वडाहरुमा ज्येष्ठ नागरिक संघ बनेको, तर विश्रामस्थल नभएको बताए । उनले भने, ‘महानगरले रातो किताबमै ज्येष्ठ नागरिकहरुका लागि विश्रामस्थल बनाउने कुरा उल्लेख गरी बजेट विनियोजन गर्नुपर्छ ।’

कार्यक्रमका प्रमुखअतिथि चित्रसेन अधिकारीले वडाहरुले निकालेको सार्वजनिक जग्गाहरुमा विश्रामस्थल बनाउन सकिने बताए । उनले चितवनका सातै पालिकामा ज्येष्ठ नागरिक संघ बनेर यसले कुनै न कुनै गतिविधि गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरका कार्यवाहक अध्यक्ष माधवप्रसाद अर्यालले ज्येष्ठ नागरिकहरुका लागि प्रत्येक वर्ष वडाले बजेट विनियोजन गरेको बताए । उनले भने, ‘यो वर्ष पनि रातो किताबमा पर्ने गरी वडाले ज्येष्ठ नागरिकहरुका लागि बजेट विनियोजन गरेको छ ।’

कार्यक्रममा कोषाध्यक्ष विष्णुप्रसाद अगस्तिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको आर्थिक प्रतिवेदन बहुमतले पारित भएको छ । सचिव चिन्तामणि पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सल्लाहकार रामहरि श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, समाजसेवी तारामित्र पण्डित, भगवती मन्दिरका अध्यक्ष शंकर सापकोटालगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा प्रेमकुमार श्रेष्ठलगायतबाट आर्थिक सहयोग भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य सुकमाया परियार, वडा सदस्य रामकुमार लोहनीलगायतको उपस्थिति थियो ।: चितवन पोष्ट


प्रतिकृया दिनुहोस