पत्रकार महिलामाथि हिंसाका उजुरी सम्बोधन तत्काल: अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडियामा पत्रकार महिलामाथि हुने जुनसुकै हिंसाबारे परेको उजुरीलाई सम्बोधन गर्न काउन्सिल हरदम तयार रहेको बताउनुभएको छ ।

काठमाडौँमा आज काउन्सिल र सञ्चारिका समूहले गरेको ‘न्यू मिडिया र पत्रकार महिला: युट्युबसहित सामाजिक सञ्जालको पत्रकारिता प्रभाव’ विषयक अन्तरक्रियामा अध्यक्ष बस्नेतले मर्यादित आचारसंहितामा रही मर्यादित पत्रकारिता गर्न सुझाव दिनुभएको थियो ।

पत्रकार निर्मला शर्माले सामाजिक सञ्जालमार्फत आएका सूचना तथ्य प्रमाणित गरेर मात्रै समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो । त्यस्तै, पत्रकार बबिता बस्नेतले नयाँ प्रविधिसँगै अगाडि बढेर पत्रकार गर्ने पत्रकार महिलाले आफ्नो क्षमता तिखार्न सधैँ तत्पर हुनुपर्ने धारणा राख्नुभयो ।

सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले न्यू मिडियामा आफूलाई सुरक्षित राख्दै पत्रकारिता गर्नुपर्ने थुप्रै चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सधैँ तालिम र सचेतना जगाउने काम भइरहेको सुनाउनुभयो ।

सञ्चारिका समूहका पूर्व अध्यक्ष नितु पण्डितले न्यू मिडियामा महिला पत्रकारले भोग्नु परेका चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार न्यू मिडियामा पत्रकारितामा महिलाले विभिन्न प्रकृतिका साइबर बुलिङ सहनु परेको छ । उहाँले म्याग संस्थानको रिपोर्टअनुसार ८८ प्रतिशत पत्रकार महिला डिजिटल हिंसामा परेको तथ्य खुलाउनुभयो । इकान्तिपुर डटकमका सम्पादक दुर्गा खनालले अबको पत्रकारिता जीवन्त हुने आधार न्यू मिडिया रहेको भए पनि पत्रकारिता मूल मर्म भुल्न नहुने बताउनुभयो ।

पत्रकार दीपा रेग्मीले प्रस्तुतीकरणमाथि टिप्पणी गर्नुभएको थियो । त्यस्तै, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, पत्रकार अनिता विन्दु, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नारी मासिकका सम्पादक उपासना घिमिरेले लगायतले न्यू मिडियाका चुनौतीमाथि सामूहिक छलफल गरिएको थियो । पत्रकार कृष्णा पौडेलले सहजीकरण गर्नुभएको थियो ।

तस्बिर : गोरखापत्र

प्रतिकृया दिनुहोस