आउदैछ बाला चतुर्दशी पर्व , यस्तो छ यो पर्वको महिमा
चितवन,१३,मंसिर । वैदिक सनातनीहरुले पत्येक वर्ष ्रमंसिर कृष्ण चतुर्दशीलाई बाला चतुर्दशी भन्ने गर्दछन् । यो दिन शतबीज छर्ने दिन का रुपमा पनि प्रसिद्ध मानिन्छ । यस दिन विभिन्न मठ मन्दिर लगायतका धार्मिक धामहरुमा शतबीज छर्ने गरिन्छ । यस वर्ष आगामी मंसिर १५ गते यो पर्व परेको छ । यो पर्व विशेषगरी दिवंगत परिवारको सदस्य सम्झनामा मनाउने गरिन्छ । हाम्रो समाजमा परिपारको सदस्य दिवंगत भएको वर्ष सतबिज छर्न जानै पर्छ भन्ने मान्यता रहेको छ । मार्गकृष्ण त्रयोदशीको साँझमा राजधानी काठमाडौको पशुपतिनाथ लगायत अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन छर्ने गरिन्छ ।
बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । धेरै वर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन्। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ। राति बालिएको बत्ती चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाउने या बगाउने गरिन्छ । पशुपति क्षेत्रमामा बस्नेहरूले भने मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्छन् । लगातार ३ वर्षसम्म बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर साङ्गेको अर्थात चतुर्थीकृत्य पनि गर्दछन ्। पहिलो र दोस्रो वर्ष बत्ती बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन्। कैलाशमा बसेर दहीच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास रहेको छ । तर पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलीपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती बगाउँछन् ।
अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपति परिसरमा आइपुग्छन् ।
आजकल पशुपति क्षेत्रका साथै विभिन्न धार्मिक स्थलहरुमा पनि सतबीज छर्ने गरिन्छ । पछिल्लो केहि वर्षहरुमा चितवनको देवघाट क्षेत्रमामा पनि सतबीज छर्ने थालिएको छ । त्यसका साथै स्थानीय मठमन्दिर लगायतका धार्मिक धामहरुमा सतबीज छर्ने गरिन्छ ।
। यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, मुगं, तिल, कागुनु र मकैलाई लगायतका अन्न अर्थात गेडाडुडीलाई लिने गरेको पाइन्छ । ठाउँ अनुसार यस्ता अन्नहरुमा फरक फरक पाहिन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने मिसाएर छर्ने गरिन्छ । बालाचतुर्दशीको दिन एक गेडा बीऊ छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।
प्रतिकृया दिनुहोस