गर्मीमा आँपदेखि आरु: कुन फलफूल कति खाने ?

काठमाडौं । गर्मीको बेला शरीरमा पानीको मात्रा पूरा गर्न प्रशस्त तरल पदार्थ खानुपर्छ । चर्को घाम र वातावरणको तातोले पनि विभिन्न रोगको जोखिम बढाउँछ जसले शरीरमा आलस्य र कमजोरी ल्याउँछ । गर्मीमा यस्ता धेरै फलफूल पनि पाइन्छ जसलाई खाएपछि शरीरमा पानीको कमीलाई पूरा गर्नुका साथै गर्मीमा हुने धेरै रोगबाट बचाउन मद्दत गर्छ । त्यसैले मौसमअनुसार विभिन्न प्रकारका फलफूल खाएर स्वस्थ रहन सकिन्छ ।

गर्मीमा आँप, लिची, खरबुजा, आरु, आल्चा लगायतका फलफूल धेरै पाइन्छ । यी फलफूलमा भिटामिन, मिनरल, रेशा लगायतका पोषण तत्त्व धेरै पाइन्छ जसले शरीरको पाचन प्रणालीलाई मद्दत गर्दछ ।

आँप

आँपलाई फलको राजा मानिन्छ । आँपमा कार्बोहाइड्रेट र चिनीको मात्रा धेरै हुन्छ । आँपमा भिटामिन ए, बी, सी, ई, पोटासियम, म्याग्नेसियम लगायतका तत्त्व अन्य फलफूलभन्दा धेरै पाइन्छ । यी भिटामिनले रोग प्रतिरोधी क्षमता बढाउँछ । आँपमा भएको रेशाले ठूलो आन्द्राको क्यान्सरको जोखिम पनि कम गर्छ । आँप खाँदा मुटुलाई पनि फाइदा पुर्‍याउँछ । दैनिक एक पटकमा एक सयदेखि एक सय ५० ग्रामसम्मको आँप खान सकिन्छ । अर्थात् एक चिया कप बराबर आँप खान उपयुक्त हुन्छ ।

खरबुजा

खरबुजा गर्मीको समयमा सबैभन्दा लोकप्रिय फल हो । यसमा झन्डै ९० प्रतिशत पानी हुन्छ जसले शरीरलाई पानीको मात्रा कायम राख्न मद्दत गर्छ । खरबुजामा भिटामिन ए, सी, बी ६ र रेशा पनि प्रचुर मात्रामा पाइन्छ जसले ताजगी र ऊर्जा प्रदान गर्छ । खरबुजामा आइरन पनि प्रशस्त मात्रामा पाइन्छ । एक पटकमा एक सय ५० ग्रामदेखि दुई सय ग्रामसम्म खरबुजा खान मिल्छ ।

लिची

लिची पनि स्वादिष्ट र पानीको मात्रा राम्रो भएको फल हो जसले शरीरलाई चिसो र ताजगी महसुस गराउँछ । यसमा भिटामिन बी, सी, म्याग्नेसियम र रेशा पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । आँप जस्तै लिचीमा पनि चिनीको मात्रा धेरै हुन्छ । लिची एक चोटीमा एक सयदेखि एक सय ५० ग्रामसम्म खान मिल्छ, अर्थात् पाँच/छ वटासम्म खान मिल्छ ।

आल्चा

पाकेको आल्चा कलेजी रङ्गको हुन्छ । यसको विशेषता यसको रङ्गसँगै जोडिएको छ । आल्चामा अरू फलभन्दा भिन्न पोषक तत्त्व पाइन्छ । आल्चाको रङ्गमा फाइटोकेमिकल हुन्छ जसले धेरै पोषक तत्त्व प्रदान गर्छ । यसमा 'एन्टिअक्सिडेन्ट' पनि हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ । भिटामिन सी र रेशा पनि यसमा पाइन्छ । ठूलो भए चार वटा र सानो भएमा आठ वटासम्म आल्चा खान उपयुक्त हुन्छ ।

आरु

आरुमा पनि भिटामिन सी को मात्रा धेरै हुन्छ । रेसा बढी हुन्छ । पाकेको आरुमा पनि फाइटोकेमिकल हुन्छ । एकपटकमा ठूलो आरु दुई वटा र सानो आरु पाँच वटासम्म खान मिल्छ ।

भुइँकटहर

भुइँकटहरमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यसमा पाइने रेशाले आन्द्रा र स्तन क्यान्सरको सम्भावना घटाउँछ । पोटासियम, म्याग्नेसियम जस्ता खनिजले उच्च रक्तचापको समस्या घटाउन मद्दत गर्छ । एकपटकमा ७० देखि एक सय ५० ग्रामसम्म भुइँकटहर खान उपयुक्त हुन्छ ।

नास्पाती

नास्पातीमा फाइबर र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्न मद्दत गर्छ र शरीरमा पानीको मात्रा बनाइ राख्छ । एकपटकमा नास्पाती एक सय ग्रामसम्म खान मिल्छ ।

एकैपटक धेरै फलफूल खाएमा पोट दुख्ने वा पाचन प्रणालीमा असर पर्छ । धेरै फलफूल खाएमा शरीरमा चिनीको मात्रा बढ्छ । मौसमी फल दैनिक दुईदेखि तीन पटकसम्म खान सकिन्छ । तर एक पटकमा एक सय ५० ग्रामभन्दा बढी खानु हुँदैन ।

कस्तो फल खाने ?

काँचो फल खाँदा पाचन प्रक्रियामा असर पार्न सक्छ जसले गर्दा पेट दुख्ने, पेटमा हावा भरिने जस्ता समस्या हुन सक्छन् । मौसमभन्दा छिटो फल पकाउन विभिन्न रसायन प्रयोग गरिएको हुन सक्छ । हानिकारक रसायनबाट बच्नका लागि फललाई कम्तीमा आधा घण्टा चिसो पानीमा भिजाएर राख्नुपर्छ जसले फलको बोक्रामा लागेको विषादीलाई घटाउन मद्दत गर्छ ।

मौसमी फलमा प्राकृतिक मिठास हुने भएकाले यी फलको सेवनले कृत्रिम चिनीको आवश्यकता कम गर्छ । यसले मधुमेह जस्ता समस्याबाट बच्न मद्दत गर्दछ । प्राकृतिक रूपमा पाइने मिठासले शरीरलाई ऊर्जा प्रदान गर्छ । मौसमी फलमा फाइबरको मात्रा उच्च हुने भएकाले पाचन प्रणालीलाई सुधार गर्न मद्दत गर्दछ ।

नियमित मौसमी फल खाने व्यक्तिमा कब्जियत र पेटसम्बन्धी समस्या कम हुने गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न फाइबरयुक्त फलको सेवन गर्नु आवश्यक छ ।

(पोषणविद् प्रकृति विष्टसँगको कुराकानीमा आधारित ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

असार १३ गते बिहिबारको पञ्चाङ्ग सहितको राशीफल

आजको पञ्चाङ्ग वि. सं. :       २०८१ असार १३ गते बिहिबारइ.सं. :         27th June 2024 (Thursday)सू...