पर्यटकीय नगरी पोखरामामा दाइँ महोत्सव

पर्यटकीय नगरी पोखरामामा दाइँ  महोत्सव
कास्की। कास्कीको पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक छाएको थियो । धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए । महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल छान्दै थिए ।

खेतका कान्लामा बसेर परम्परागत रूपमा धान थन्क्याउने नेपालको कृषि कार्यको दृश्य विदेशी पर्यटकले रमाइलो मानेर हेरिरहेका थिए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नौबिसेटोलमा तेस्रो संस्करणको दाइँ महोत्सव आयोजना गरिएको थियो ।

संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि गरिएको महोत्सवमा विदेशी पर्यटकले नेपाली धान थन्क्याउने परम्परालाई नजिकबाट नियाल्ने अवसर पाए । हिमालको पृष्ठभूमिमा धान चुट्ने र गोरु धपाउने दृश्य उनीहरूका लागि नौलो अनुभव बनेको थियो । केही पर्यटक आफैँ दाइँमा सहभागी भएर रमाएका थिए ।

इङ्ल्यान्डका पर्यटक मार्कले गोरु धपाउन सुरु गरे भने उनलाई अन्य पर्यटकले पनि साथ दिए । पदयात्राका लागि नेपाल आएका मार्कले दाइँ महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

‘म दुई हप्ताका लागि नेपाल आएको हुँ । पदयात्रामा जाने योजना छ । हिमालको पृष्ठभूमिमा धानको महोत्सवमा सहभागी भएर गोरु धपाउने काम मेरा लागि पहिलो अनुभव हो । म खुसी भएँ । स्वदेश फर्किएर साथीहरूलाई यसबारे सुनाउनेछु’, उनले भने ।

दुई महिनाका लागि अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आएकी जापानी पर्यटक हितुमीले पनि दाइँ महोत्सवमा सहभागी हुँदा उत्साहित भएको बताइन् । गोरु धपाउने अनुभव रमाइलो लागे पनि धान चुट्ने तरिका भने आफूलाई कठिन लागेको उनको भनाइ थियो । ‘मैले गोरु धपाएँ, राम्रो लाग्यो । तर धान चुट्न सकिनँ, अग्लो हुँदोरहेछ । नेपालको कृषि गर्ने तरिका रमाइलो रहेछ’, उनले भनिन् ।

चिनियाँ पर्यटक सन्देशले चीनमा पनि परम्परागत रूपमा यसैगरी खेती गर्ने गरिएको बताए । धान रोप्ने र थन्क्याउने तरिका नेपाल र चीनमा उस्तै रहेको उल्लेख गर्दै उनले आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुपर्ने बताए ।

‘आजभोलि धेरै विकास भएको छ, ट्रयाक्टर र मेसिन आएका छन् । अबका बच्चाबच्चीलाई धान कसरी आउँछ भन्ने कुरा सिकाउनुपर्छ’, उनले भने ।

पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा स्थानीयवासी, विभिन्न विद्यालयका विद्यार्थी, बालबालिकालगायतको उपस्थिति थियो ।

महोत्सवका संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण र किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुगेको बताए  https://nepalnews.com

प्रतिकृया दिनुहोस

Copyright © 2026, omkarkhabar.com, All Right Reserved