ऐतिहासिक सुकेश्वर पोखरी सौन्दर्यकरणको नाममा करोडौँ लगानी, तर उपलब्धि देखिएन

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा भवानीपट्टीमा शुकदेव ऋषिको तपोभूमि रहेका कारण यो आफैँमा ऐतिहासिक तथा धार्मिक विशेषता बोकेको स्थान हो । यो स्थानको सम्बन्ध ऐतिहासिक मिथिला क्षेत्रका परापूर्वकालका राजा जनक र रामायणकालीन इतिहाससँग जोडिन्छ ।
महाशिवरात्रि, साउन महिनाको सोमबार, विवाह पञ्चमी लगायतका पर्वमा यहाँ भक्तालु तथा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ  ऐतिहासिक मन्दिर र पोखरीको सौन्दर्यकरणका लागि प्रदेश सरकार र स्थानीय तहबाट गएको बजेट दुरुपयोग भएको आरोप स्थानीयवासीले लगाएका छन् । यसको सौन्दर्यकरणका नाममा २०७६/७७ सालदेखि नै बजेट विनियोजन हुँदै आएको छ । मन्दिरको जीर्ण भौतिक पूर्वाधार निर्माण तथा ऐतिहासिक पोखरीको घाट निर्माणदेखि चारैतिर पक्की सिँढीसहित घाट निर्माण, शौचालय, धर्मशाला बनाउने लगायतका कामका लागि बजेट परे पनि अधिकांश काम अलपत्र अवस्था छन् ।
 
 
पोखरीको चारैतिर पक्की घाट निर्माण हुने भने पनि ६ वटा घाट निर्माणमात्र गरिएको छ । त्यो पनि घाटको सिँढी प्रयोग गर्न कठिन हुने गरी साइज बिगारिएको छ ।
स्थानीय ७३ वर्षीय उमेश तिवारीले भने, ‘यो पूरै पोखरीको चारैतिर पक्की घाट निर्माण हुने भनिएको थियो । ५/६ वटा घाटमात्र निर्माण गरिएको छ । त्यो पनि प्रयोग गर्न कठिनाइ छ । घाट भएर पोखरीभित्र गयो भने निस्कनै मुस्किल पर्छ ।’
शौचालय निर्माण पनि अधुरो अवस्थामै रहेको उनको भनाइ छ । ‘बजेट आयो, काम सुरु भयो भन्यो तर अहिले हेर्दा केही काम भएकै छैन । सबैले बाँडीचुँडी खाएका त होलान्,’ उनले भने ।
तिवारीले पोखरी छेउकै अत्याधुनिक तवरले निर्माण गरिएको भवन तत्कालीन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले बनाएको बताए । कायस्थकै अगुवाइमा यो मन्दिर र पोखरी सौन्दर्यकरणका लागि प्रदेशबाट बजेट छुट्ट्याई काम भएको भनिए पनि अहिले सबै अधुरो अवस्थामै रहेको उनको भनाइ छ ।
स्थानीयवासीका अनुसार ०७८ सालमा प्रदेश सरकारबाट मन्दिर र पोखरीको सौन्दर्यकरणको नाममा १ करोड ६८ लाखको बजेट परेको थियो । तर त्यो बजेटबाट भएको काम खासै नदेखिएको उनीहरूको भनाइ छ ।https://www.ratopati.com/story/593550/

प्रतिकृया दिनुहोस