भोलि कुष्माण्ड नवमी (अक्षय नवमी) ,यस्तो छ यसको महत्व
मिति २०८३ साल मंसीर २ गते बुधबार कार्तिकशुक्लपक्ष कुष्माण्ड नवमी तिथी राती २ / १६ वजेसम्म त्यस उप्रान्त दशमी तिथि आरम्भ भएकोले
कुष्माण्ड नवमी (कार्तिक शुक्ल नवमी) को शास्त्रीय महत्व मुख्य रूपमा पद्म पुराण, स्कन्द पुराण, र भविष्य पुराण जस्ता वैदिक तथा पौराणिक ग्रन्थहरूमा वर्णन गरिएको छ।यस दिनलाई अक्षय नवमी वा धात्री (अमला) नवमी पनि भनिन्छ।
कार्तिकशुक्ल नवमी तिथी देखिपूर्णिमा तिथीसम्म भगवान
लक्ष्मीनारायण भगवान अमलाको बोटमा निवास गर्नुहुनेछ।यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने धेरै पुण्य प्राप्त भएर करोडौं जन्मसम्म पनि नाश हुदैन।पद्म पुराणका अनुसार कार्तिक शुक्ल नवमीकै दिन द्वापर युगको आरम्भ भएको थियो।यसलाई युगादि तिथि मानिने हुनाले यस दिन गरिने स्नान, दान र जपको फल कहिल्यै नाश नहुने (अक्षय) मानिन्छ।
यहि दिन भगवान बिष्णुले कूष्माण्ड नाम गरेको दैत्यको वध गर्नुभएको हुनाले यो दिनलाई कूष्माण्ड नवमी भनिएको हो।कूष्माण्ड दैत्यको शरीर बाट कुभिन्डो उत्पन्न भएको हुनाले यो दिन कुभिन्डो दान गर्नाले अनन्त कोटि फल प्राप्त गर्दछ।
सोही कारण यस दिन धर्मशास्त्र तथा निर्णयसिन्धु आदि ग्रन्थहरूमा कुभिन्डो दान गर्दा पढिने प्रमाणित मन्त्र/श्लोक उल्लेख छ:
"पञ्चरत्नैः समायुक्तं गोघृतेन समन्वितम् ।
फलान्नदक्षिणायुक्तं ब्राह्मणाय निवेदयेत् ।।"
(अर्थ: पञ्चरत्न वा स्वर्ण, गाईको घिउ, फलफूल, अन्न र दक्षिणासहितको कुभिन्डो ब्राह्मणलाई दान गर्दछु।)
कुभिन्डो,सुन ,चाँदी ,पहेलो कपडा ,तामाको भाडोमा तिल राखेर दान गर्ने मनुष्यले आफुले चिताएको फल प्राप्त गर्दछ।
स्कन्द पुराण (कार्तिक माहात्म्य) अनुसार यस तिथिमा गरिएको स्नान, तर्पण, अन्नदान र पुण्यकर्मको फल अक्षय (कहिल्यै क्षय नहुने) हुन्छ
यो दिन अमलाको बोटमा अमृत प्राप्त हुने भएकोले हरेक मानिसले अमलाको पूजा अवश्य गर्नुपर्दछ।अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा-अर्चना गरेर पहेलो धागोले अमलाको रूखको परिक्रमा गरिन्छ ।१०८ पटक अमलाको परिक्रमा गर्नाले सबै मनोकामना पूर्ण हुने जनविश्वास समेत रहेको छ ।अमला तथा विष्णु भगवानको पूजा-अर्चना गरिसकेपछि अमलाको वृक्षमुनी बनभोज ब्राह्मण भोजन र अमला सेवन उत्तम मानिन्छ।साथै यो दिन अमलाको रूखमुनि बसेर ‘ॐ धात्र्ये नम:’ यो मन्त्रले अमलाको जरामा दूधको धारा दिएर पितृहरूलाई तर्पण समेत दिन सकिन्छ ।








प्रतिकृया दिनुहोस