गन्धर्वको पुर्ख्यौली पेसा सङ्कटमा

अर्घाखाँची, मङ्सिर १ गते । कुनै समय गाउँघरमा महत्वपूर्ण सूचना तथा खबर गीतमार्फत सुनाउँदै हिँड्ने गन्धर्व समुदायको पुर्ख्यौली पेसा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । सञ्चारका आधुनिक माध्यमको विस्तारसँगै सूचना प्रवाहका लागि गन्धर्वले सारङ्गी बजाउँदै गाउँघर डुल्ने परम्परा हराउँदै गएपछि उनीहरूको मौलिक पेसा सङ्कटमा परेको हो ।

पुख्र्यौली पेसा जोगाउन सन्धिखर्क नगरपालिका–९, अर्घाका केही गन्धर्व भने अझै सारङ्गी बोकेर गाउँ गाउँ पुग्ने गरेका छन् । उनीहरूले सारङ्गीको धुनसँगै गीत गाएर मनोरञ्जन दिनुका साथै गन्धर्व समुदायको मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिइरहेका छन् । सन्धिखर्क नगरपालिका–९, अर्घाका गणेश गन्धर्वले आफ्नो पुरानो पेसा जोगाउन गाउँ गाउँमा पुगेर सारङ्गी बजाउने र गीतमार्फत सन्देश तथा मनोरञ्जन दिने गरेको बताउनुभयो । “पहिला महत्वपूर्ण सूचना दिन गीत गाउने चलन थियो । अहिले सञ्चारका साधनको विकास भएपछि सूचना दिन गीत गाएर हिँड्नुपर्ने अवस्था छैन । अहिले मनोरञ्जनका लागि गीत गाउँदै हिँड्छौँ,” उहाँले भन्नुभयो ।

अर्घाखाँचीका अधिकांश वडामा गन्धर्वहरू सारङ्गीको धुनमा रमाउँदै हिँड्ने गरेका छन् । आफ्नो संस्कृति र पुख्र्यौली पेसा लोप हुँदै गएकोमा चिन्ता लागेको गणेशले बताउनुभयो । संस्कृति संरक्षणकै उद्देश्यले अर्घाखाँचीसँगै स्याङ्जा, गुल्मी, बागलुङ, म्याग्दी, पोखरा र नवलपरासीसम्म पुग्ने गरेको उहाँको भनाइ छ । सारङ्गी बजाउँदै गाउँ गाउँ डुल्ने, सारङ्गी बनाउने र बिक्री गर्ने उहाँको मुख्य पेसा हो । जस्तोसुकै समस्या आए पनि पुख्र्यौली पेसा नछोड्ने उहाँ बताउनुहुन्छ । “यो पेसा जोगाउन सके हाम्रो संस्कृति पनि जोगिन्छ । त्यसैले यो पेसालाई निरन्तरता दिइरहेको छु,” उहाँले भन्नुभयो ।

सन्धिखर्क नगरपालिका–९, माथरगाउँका २७ वर्षीय गन्धर्व युवा दिलीप गन्धर्वलाई पनि आफ्नो पुख्र्यौली पेसाप्रति उत्तिकै माया छ । उमेर अनुसार अन्य काम गरेर जीवन निर्वाह गर्न सक्ने भए पनि सारङ्गीको धुन र गीतसँगको सम्बन्ध तोड्न नसकेको उहाँले बताउनुभयो । “देश तथा विदेश गएर अरू काम गर्न सक्थेँ । धेरैले उमेर अनुसारको काम गरेर जीवन चलाउन सुझाव दिनुहुन्छ तर मलाई यही सारङ्गीको धुनसँगै गीत गाउँदै गाउँमा हिँड्न आनन्द लाग्छ,” उहाँले भन्नुभयो ।

गन्धर्वहरू जिल्लाबाहिर कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतिका लागि जाँदा करिब एक महिनापछि घर फर्किने गर्छन् । जिल्लाभित्र गाउँ गाउँ पुग्दा करिब १५ दिनमा घर फर्किने गरेका छन् । सन्धिखर्क नगरपालिका, अर्घामा गन्धर्व समुदायको बढी बसोबास छ । गन्धर्व समुदायका युवाले पेसालाई निरन्तरता दिए पनि राज्यस्तरबाट संरक्षण र प्रोत्साहन नहुँदा मौलिक कला र संस्कृति लोप हुने जोखिम बढेको उनीहरूको भनाइ छ ।   

प्रतिकृया दिनुहोस