सुनसान बन्दै ऐतिहासिक टक्सार बजार
धनकुटा, असार २८ गते । कुनै ताका टक (डोली पैसा) छापिने तथा धातु उद्योगको केन्द्र रहेको भोजपुरको ऐतिहासिक टक्सार बजार सुनसान बन्दै गएको छ। आवश्यक सेवा-सुविधा र अवसरको खोजीमा बसाइँसराइ बढेपछि पछिल्लो समय टक्सार बजार सुनसान बन्दै गएको हो।
बसाइँसराइसँगै पुरातात्त्विक तथा कलात्मक शैलीका घरहरू समेत जीर्ण बन्दै गएका छन्। जिल्ला सदरमुकाम भोजपुरबाट करिब डेढ किलोमिटर दूरीमा रहेको टक्सार बजारका धातु उद्योगहरू समेत बन्द हुने अवस्थामा पुगेका छन्। टक्सारमा करिब दुई सय वर्षअघिदेखि धातुका सामग्री बनाउँदै आएको इतिहास पाइन्छ। कुनै ताका यहाँ २५ भन्दा बढी धातु उद्योग सञ्चालनमा थिए। तर, व्यवसायीहरू बसाइँ सरेर गएपछि हाल चारवटा मात्र धातु उद्योग सञ्चालनमा रहेको स्थानीय विमल शाक्यले बताउनुभयो।
अहिले सञ्चालनमा रहेका उद्योगमा पनि सीप पुस्तान्तरण हुन नसक्दा उद्योगहरू धमाधम बन्द हुँदै गएको स्थानीय उद्यमीहरू बताउँछन्। धातुका सामग्री बनाउने काम कठिन भएकाले युवा पुस्ता यसप्रति आकर्षित हुन नसकेको शाक्यको भनाइ छ।
टक्सारमा कलात्मक शैलीका धातुका करुवा, आङ्खोरा, कचौरा, कप, डाडु, पन्यु, थाल, डबका, गाग्री र खड्कुँला लगायतका दर्जनौँ प्रकारका सामग्री बनाउने गरिन्छ। जसका कारण कुनै समय यहाँको व्यापार व्यवसाय निकै चलायमान रहेको थियो। बसाइँसराइले धातु उद्योग बन्द भएसँगै टक्सार बजार सुनसान मात्र भएको छैन, मौलिक कला-कौशलमा निर्माण गरिएका घर, पाटीपौवा र मठमन्दिर समेत जीर्ण बन्दै गएका छन्।
बसाइँसराइ तीव्र भएपछि सीमित मात्रामा मात्र उद्योग सञ्चालनमा रहेकाले बजारमा धातुका सामानको माग बढी भए तापनि उत्पादन कम हुँदा माग धान्न मुस्किल हुने गरेको उद्यमीहरू बताउँछन्। अहिले उद्योगको सङ्ख्या घट्नुका साथै काम गर्ने कालिगढ पाउनसमेत मुस्किल भएको छ। यहाँको मौलिक कला र उद्योग संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक स्रोत र साधन उपलब्ध गराउनु आवश्यक देखिएको छ।
कच्चा पदार्थ र कालिगढको अभावले पुर्ख्यौली पेसा ओझेलमा पर्दै गएको अर्का उद्यमीले गुनासो गर्नुभयो। उद्योगका लागि आवश्यक पर्ने कोइला, धातु, धलोट लगायतका कच्चा पदार्थ काठमाडौँबाट ल्याउनुपर्ने बाध्यता छ। टक्सारमा बनेका हस्तकलाका सामग्री विगतमा चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको इतिहास छ। तर, हाल बसाइँसराइका कारण ती कलात्मक घरसँगै मठमन्दिर समेत जीर्ण भएर भत्किन थालेका छन्।https://gorkhapatraonline.com/news/214043








प्रतिकृया दिनुहोस