दृष्टिविहीनले चलाएको जडीबुटी व्यापार

हेटौंडा,१० ,चैत। मानव शरीरमा सबैभन्दा महत्वपूर्ण अंग हो आँखा । संसार आँखाकै कारण मानसपटलमा खिचिन्छ । त्यसैले कतिपयलाई लाग्छ आँखाको दृष्टि गुमे सबथोक गुम्छ । तर यो भनाइलाई चुनौति दिएका छन् मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ घर भएका ६४ वर्षीय केदार बजगाईंले । आँखाको ज्योति गुमेकाले पनि जीवनलाई सार्थक बनाउन सक्छन् भन्ने उदाहरण हुन् उनी ।

उनले जडिबुटी उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । त्यसैबाट घरखर्च चलाएका छन् । तीन–चार जनालाई रोजगारी दिएका छन् ।उनी भन्छन्, ‘यसबाट धेरै पैसा त कमाएको छैन । तर घर खर्च, मेरो र श्रीमतीको खर्च मज्जाले पुगेको छ । ओखती बिक्री गर्न २–३ जना कर्मचारी राखेको छु । उनीहरुलाई पनि पैसा दिन सकेको छु ।’

जन्मदा नै दृष्टि कमजोर भएका केदारले ६ वर्षअघि आँखा पूर्णरुपमा देख्न छोडे । कमजोर दृष्टि हुँदा पनि उनले घरमै जडिबुटीबाट औषधि उत्पादन गरिरहेका थिए । ६ वर्ष अघिसम्म थोरै मात्र औषधि बनाउँदै आएको बताउने केदारले दृष्टि गुमेपछि व्यवसायिक उत्पादन थाले । यो काममा उनकी ६१ वर्षीया सावित्री बजगाईंले सघाइरहेकी छन् ।
पूर्णरुपमा आँखा देख्न छाडेपछि सुरुमा उनलाई अब केही गर्न सकिँदैन भन्ने लाग्यो । तर हिम्मत हारेनन् । आफूजस्तै दृष्टिविहीन साथीहरुसँग उनी राष्ट्रिय अपाङ्ग महासंघमा पुगे । त्यहाँ अरु थुप्रै अपाङ्गता भएकाहरुलाई भेटेर सहानुभूति पाए । ‘त्यसपछि मलाई सम्हालिन सजिलो भयो,’ केदार भन्छन्, ‘त्यसपछि केही गर्नुपर्छ भन्ने सोचेर मैले जे जानेको थिएँ, त्यही कामलाई व्यवसायिक रुप दिएँ ।’

उनको ‘बजगाईं एग्रिकल्चर एण्ड हर्बल फर्म’ दर्ता छ । पाइल्स, ग्याष्टिक, अल्सर, खोकी, सुगर, दम, डायरियादेखि पाठेघर र प्रोस्टेटका बिरामीका लागि समेत औषधि उत्पादन गरिरहेको उनले सुनाए ।

‘आँखा अलिअलि देख्दासम्म थोरै मात्रै बनाउँथे । बाउबाजेले गर्दै आएको कामलाई मैले निरन्तरता मात्रै दिएको थिएँ । मेरो आँखा पूरै बन्द भएपछि औषधि उत्पादन र हर्बल चियापत्तीलाई व्यवसायिक बनाइरहेको छु,’ बजगाईंले सुनाए ।

वि.सं. २०१८ सालमा ललितपुरको खरीडाँडामा जन्मिएका बजगाईं २०२८ सालमा १० वर्षको उमेरमा परिवारका साथ मकवानपुर बसाइँ सरेर आएका थिए । हजुरबुबाहरु मदनबहादुर बजगाईं र गंगाबहादुर बजगाईंबाट जडीबुटीबारे बाल्यकालदेखि नै ज्ञान लिएका उनले जडीबुटीमै भविष्य देखे ।

गंगाबहादुर त्यति बेलाको ‘वैद्य बजगाईं’को रुपमा प्रख्यात रहेको केदार बताउँछन् । ‘हजुरबुवाहरुले घरमा जडिबुटीबाट औषधि बनाएको हेर्थें, उहाँहरुबाटै सिकेको हुँ । पछि जडिबुटीको बारेमा पढेँ पनि,’ केदारले भने ।

जडीबुटीको संकलन गर्दै आफ्नो ६ कठ्ठा जग्गामा श्रीखण्ड, रक्तचन्दन, लेबन घाँस, सितोनेला, चिनीपात, अमला, कुरिलो लगाएका छन् । औषधिका लागि बाँकी जडिबुटी वनस्पति अनुसन्धान केन्द्रबाट ल्याउने गरेको केदारले बताए ।

मकवानपुरमा हेटौंडा र थाहा नगरपालिकामा गरेर वनस्पति अनुसन्धान केन्द्रका तीन वटा कार्यालय छन् ।

जिल्लाको लेकाली क्षेत्र दामन–पालुङबाट सिमलको फूल, पलाँसेको फूल, लोट सल्लो, पाखनबेद, ठूलो ओखतीलगायका जडिबुटी स्थानीयमार्फत संकलन गर्ने गरेको उनले बताए । यसरी १ सय २० प्रकारका जडिबुटीबाट औषधि उत्पादन गर्दै आएको उनको भनाइ छ । १०८ प्रकारका जडिबुटी मिसाउँदा सबै प्रकारका रोगका लागि औषधि हुने केदार दाबी गर्छन् । ‘१०८ भन्दा थप जडिबुटी चाहिँ रोग अनुसार प्रयोग गर्ने वा नगर्ने भन्ने हुन्छ,’ उनले भने ।

‘जडीबुटी प्रकृतिको देन हो, कतिपय जडीबुटी हाम्रै वरिपरि नै पाइने भएपनि त्यसलाई हामीले पहिल्याउन सक्दैनौं जडीबुटीको नकारात्मक असरभन्दा पनि सकारात्मक पक्ष धेरै छ । निरोगीले अन्य जडीबुटी खान मिल्छ, बकाइनो र निम भने धेरै खानाले शरीरमा नकारात्मक असर पर्छ,’ उनले भने ।

केदारले जडीबुटीको औषधि मात्र बनाएनन्, अन्य दृष्टिविहीनहरुलाई साथमा लिएर अचार उत्पादनतर्फ पनि लागे । हेटौंडा उपमहानगरपालिका–८, कमानेमा दृष्टिविहीनहरुको संस्था स्थापना गरेर उनले अचार र मसला उत्पादन गर्दै बजारीकरण गरिराखेका छन् ।

बजगाईंले जडीबुटीहरु छामेर र सुँघेर पत्ता लगाउँछन् । जडीबुटीहरु पिस्नेदेखि लिएर प्याक गर्नेसम्म आफैं गर्छन् । उनले औषधिको बट्टा पत्ता लगाउनका लागि ब्रेललिपीबाट लेखेको कागजलाई बट्टामा टाँस्ने गर्छन् । घरमा कोही नभएको बेला औषधि किन्न ग्राहक आउने र आफूलाई चिन्न सजिलो होस् भनेर ब्रेललिपीबाट लेखेको कागज टाँसेर राख्ने गरेको उनले बताए ।

ब्रेललिपी दृष्टिविहीनले पढ्ने भाषा हो । उनले आँखाको ज्योति गुमाइसकेपछि बुढेसकालमै भएपनि ब्रेललिपी सिकेको उनले बताए । तीन छोरा र तीन छोरीका धनी बजगाईंले कसैको सहारा लिँदैनन् ।

मकवानपुरगढी घर भएका उनी एक्लै श्रीमतीका साथ हेटौंडाको कमानेमा डेरा गरी पनि बस्ने गरेका छन् । उत्पादित अचार तथा जडीबुटी बजारीकरण गर्न सजिलो हुने भएकाले डेरा गरी बसेको केदारले बताए ।

मकवानपुरमा रहेका सम्पूर्ण दृष्टिविहीनको आँट, साहस र हौसलाको प्रतीक बनिरहेका बजगाईंले आफूसँगै अन्य २८ जना दृष्टिविहीनलाई डोर्‍याइराखेका छन् ।

नेत्रहीन संघ मकवानपुरका अध्यक्षसमेत रहेका बजगाईंले दृष्टिविहीनहरुलाई रोजगारीदेखि स्वरोजगार बनाउन सरकारको ढोका ढकढक्याउँदै आएका छन् ।



https://www.onlinekhabar.com/2025/03/1646778/



प्रतिकृया दिनुहोस