भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।


राष्ट्रपति भवन शीतल निवासमा आज बिहिबार भएको एक विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्‍ग तथा प्रमाण-पत्र प्रदान गरेका हुन्।


उक्त समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, राष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका सचिवहरु, नेपालका लागि भारतीय राजदूत र विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरु लगायतको उपस्थिति रहेको थियो ।


नेपाल-भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ ।


दर्ज्यानी चिन्ह प्रदान कार्यक्रम पश्चात् राष्ट्रपतिसँग भारतीय स्थल सेनाध्यक्षले शिष्टाचार भेटघाट समेत गरेका थिए ।


भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै, उनलाई जङ्गी अड्‍डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त अवसरमा उनले जङ्गी अड्डा प्राङ्गणमा वृक्षारोपण समेत गरेका थिए।


आजै प्रधान सेनापति अशोक राज सिग्देल र जनरल उपेन्द्र द्विवेदीबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुई देशका सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । सो अवसरमा एक अर्का देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिने सम्बन्धमा समेत छलफल भएको थियो ।


त्यस्तै, भारतीय सेनापत्नी कल्याण संघकी अध्यक्ष सुनिता द्विवेदी र सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलबीच भद्रकाली स्थित संघको कार्यालयमा भेटघाट भएको थियो ।


उक्त अवसरमा उनलाई सैनिक श्रीमती संघले सञ्चालन गरेका विविध कल्याणकारी गतिविधिहरुका बारेमा जानकारी गराईएको थियो । साथै, प्रधान सेनापति सिग्देलले भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीको सम्मानमा आज साँझ जङ्गी अड्‍डामा रात्रीभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...