अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प

न्युयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको यो हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द गरिएका छन्।न्युयोर्कदेखि म्यासाचुसेट्ससम्मका क्षेत्रहरू हिउँको बाक्लो तहले ढाकिएका छन्, जसले गर्दा सडक, हवाई र विद्युत् सेवा पूर्ण रूपमा प्रभावित भएको छ। राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा झण्डै ३३ इन्चसम्म हिउँ जमेको छ।

न्युयोर्कको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ। न्युयोर्कका सरकारी निकायहरूले यात्रा गर्नै नसकिने स्थिति रहेको भन्दै चेतावनी जारी गरेका छन्। हिमपातका कारण न्यु जर्सी र म्यासाचुसेट्समा सबैभन्दा बढी प्रभाव परेको छ, जहाँ ६ लाखभन्दा बढी घर र व्यवसायहरूमा विद्युत् आपूर्ति बन्द भएको छ।


यो हिमपातले ४८ वर्षअघिको ऐतिहासिक रेकर्ड समेत ध्वस्त पारेको छ। रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा सन् १९७८ को फेब्रुअरीमा कायम भएको २८.६ इन्च हिउँको रेकर्डलाई उछिन्दै यस पटक ३३ इन्च हिउँ परेको छ। मौसमविद्हरूले यो अवस्थालाई सोचेभन्दा निकै भयावह र अनपेक्षित भनेका छन्।

हिउँको थुप्रोका कारण सडकमा गुडिरहेका सयौँ सवारी साधनहरू बिचैमा फसेका छन् भने हिउँ पन्छाउने कार्यमा अवरोध पुर्‍याउने ३०० भन्दा बढी गाडीहरूलाई प्रहरीले तानेर हटाउनुपरेको छ।


सुरक्षालाई ध्यानमा राख्दै रोड आइल्याण्ड, कनेक्टिकट र म्यासाचुसेट्स जस्ता राज्यहरूमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाइएको छ। म्यासाचुसेट्सकी गभर्नर माउरा हिलीले मानिसहरूलाई घरभित्रै रहन आग्रह गर्दै हिउँका कारण केही नदेखिने अवस्थाले गर्दा उद्धार कार्यमा समेत कठिनाइ भइरहेको बताएकी छन्। न्युयोर्क जस्तो व्यस्त सहर पनि सोमबार दिउँसोसम्म झण्डै सुनसान बनेको थियो।



हवाई यात्राको अवस्था झनै नाजुक देखिएको छ। फ्लाइटअवेयरका अनुसार अमेरिकाभित्र र बाहिर हुने ५ हजार ६ सयभन्दा बढी उडानहरू रद्द भएका छन्। न्युयोर्कका लागाार्डिया र जेएफके विमानस्थलबाट हुने ९० प्रतिशतभन्दा बढी उडान ठप्प भए भने बोस्टन र न्यु जर्सीका प्रमुख विमानस्थलहरूले पनि आफ्ना अधिकांश उडान कटौती गर्नुपर्‍यो।

म्यासाचुसेट्सको केप कडलगायतका क्षेत्रमा ८५ प्रतिशत ग्राहक अन्धकारमा बस्न बाध्य भएका छन्। रुखका हाँगाहरू भाँचिएर विद्युत्का तार र सडकमा खस्दा दुर्घटनाको जोखिम अझै बढेको छ।https://www.ratopati.com/story/546001/

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...