महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज कोशी प्रदेशभर सार्वजनिक बिदा

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको   १ सय ४०औँ जन्मजयन्ती आज   परेको छ । यस अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिएका छन ।  विसं १९४२ कात्तिक २५ गते इलामको   माङसेबुङ गाउँपालिका वडा नं. २, साविक इभाङ–५ चुक्चिनाम्बामा  फाल्गुनन्दको जन्म भएको थियो । बुबा जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनको कोखबाट साइँला छोराको रूपमा सामान्य किसान परिवारमा महागुरु फाल्गुनन्द लिङदेनको जन्म भयो ।फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन थियो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुन्छ भनेकाले  उहाँको हातमा फलामका चुरा लाईएको थियो। त्यही चुराबाट  उहाँको नाम फलामसिंह रहन गएको थियो। गाउँका अन्य युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा  उहाँको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुग्यो।

किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपर्नुभयो । त्यसक्रममा उहाँले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको २००५ सालमा निधन भयो ।

किराँत समाज सुधारमा पुर्याउनुभएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
महागुरु फाल्गुनन्दलाई बि.स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरियो। उहाँको सम्मानमा पाँचथरमा गाउँपालिकाको नाम नै फाल्गुनन्द गाउँपालिका राखिएको छ। अनि झापा जिल्लाको  शान्तिनगर, झापा|शान्तिनगर]]मा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ। त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ। फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस