आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरिदै

गोरखापत्र 

काठमाडौँ, कात्तिक २३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द हुँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको दक्षिणपश्चिमतर्फ समानान्तर ट्याक्सीवे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारका लागि तेस्रो पटक उडान अवतरण नै बन्द गरेर क्षमता विस्तारको काम हुन लागेको हो । 

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम चैत १८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार काम पूरा गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।

उहाँले भन्नुभयो, “नयाँ ट्याक्सीवे धावनमार्गको विभिन्न सात ठाउँमा जोड्नेलगायतका कामका लागि तीन वटा फरक फरक विदेशी निर्माण कम्पनीले दैनिक १० घण्टा काम गर्ने छन् । सम्पूर्ण उडान अवतरण बन्द गरेर सम्पन्न हुने कामपछि धावनमार्गको क्षमता २५ प्रतिशतसम्म बढ्ने छ ।”

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने उहाँले बताउनुभयो । 

अन्तर्राष्ट्रिय नियम अनुसार उडानका बेला विमानस्थल सञ्चालनका लागि धावनमार्गको दायाँबायाँ ७५ मिटर क्षेत्रमा कुनै खाल्डोलगायतका निर्माण कार्य चालु हुनुहुँदैन । त्यसैले राति खनिएको खाल्डो बिहान अस्थायी रूपमा पुरेर काम गरिने उहाँले जानकारी दिनुभयो ।

उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर राति खनिएको खाल्डो बिहानसम्म पुरिसक्नुपर्ने भएकाले आयोजना सम्पन्न हुन समय लागे पनि यसले एयर ट्राफिक व्यवस्थापनमा समेत थप सहज हुने उहाँले बताउनुभयो ।

विमानस्थलको क्षमता विस्तारपछि हवाई कम्पनी काठमाडौँमा थप आकर्षित भए पनि पोखरा र भैरहवा उडानका लागि कुनै असर नपुग्ने उहाँको भनाइ छ ।

स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएका छन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । विमानस्थल सञ्चालनको समय छोट्याउँदा आन्तरिकतर्फ ३५ र अन्तर्राष्ट्रियतर्फ २९ प्रतिशत उडान कटौती हुँदै छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । यहाँ आन्तरिकतर्फ दैनिक तीन सय र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् । 

यसअघि २०७५ सालमा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झन्डै चार महिनसम्म विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । उक्त अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएका थिए ।

त्यस्तै २०७७ सालमा विमानस्थलको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो टु) धावनमार्ग विस्तार गरिएको थियो । त्यतिबेला बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।  गोरखापत्र

प्रतिकृया दिनुहोस