कालिञ्चोक भगवतीमा बडादसैँका अवधिमा गत वर्षभन्दा आधा दर्शनार्थीले मात्र दर्शन गरे

दोलखा । कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासका साथ घटस्थापनादेखि पूर्णिमासम्ममा १० हजार एक सय श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेको बताइन्छ कालिञ्चोक दर्शनका सन्देश शिवाकोटीका अनुसार घटस्थापनादेखि सोमबारसम्ममा पाँच हजार एक सयले केबुलकारबाट सेवा लिएका छन् ।

केबुलकारमा पालो नपाएपछि आधाभन्दा बढी पैदल यात्रा गर्न बाध्य भएका थिए । कुरीका होटल व्यवसायी नवराज पाख्रिनले भन्नुभयो, “केबुलकार चढ्न नपाएपछि पाँच हजार जनाले पैदल यात्रा गरी कालिञ्चोक भगवतीको दर्शन गरे । गत वर्ष २० हजारले दर्शन गरेकोमा यस वर्ष अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध सडक राम्ररी खुल्न नसक्दा श्रद्धालु भक्तजन घटेका हुन् ।
यहाँ जनैपूर्णिमा, कृष्णाष्टमीसमेतमा विशेष मेला लाग्ने गर्छ । मेलामा धामीझाँव्रmीको ठुलो भिड हुने गर्छ भने अन्य भक्तजन पनि छोराछोरी, धनसम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासी बताउँछन् । यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्छन् ।

चरीकोट–कुरी १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सयौँ होटल लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था भएको छ । महìवपूर्ण र सुरक्षित, धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीय सरकार लागेको छ ।
कालिञ्चोकमा केबुलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ । आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलहरूमा लगानी थपिँदै गएको छ । आसपासका सुन्द्रावती, लापिलाङ र कालिञ्चोक गाउँपालिकाबाट पनि सडक सञ्जाल जोडिन थालेका छन् । हराभराका लागि वृक्षरोपण पनि गरिने गुरुयोजना बनेको छ । काठमाडौँतिरबाट त आवतजावत छँदै छ, अब दक्षिणतिर झापाबाट समेत आवतजावत गर्न प्याकेजका रूपमा व्यवस्था मिलाउन लागिएको कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले जानकारी दिनुभयो ।

केबुलकार नचढ्दा पनि कुरी बजारदेखि उकालो करिब एक घण्टा पैदलयात्रा गरी कालिञ्चोक भगवती स्थानमा सहजै पुग्न सकिन्छ । कालिञ्चोक भगवती दोलखा जिल्लाको रमणीय एवं धार्मिक हिसाबले महìवपूर्ण स्थानका रूपमा परिचित छ । कालिञ्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाम देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् ।
कच्ची मोटरबाटोमा जिप, गाडी र मोटरसाइकल चलाउन सकिन्छ । सुक्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन । चरीकोटबाट करिब एक घण्टाको हिँडाइपछि देउराली भन्ज्याङ पुगिन्छ । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ । यातायात नचल्दा करिब पाँच घण्टाको उकालो चढेपछि बल्ल कुरी पुगिन्छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ होटल धेरै खुलिसकेका छन् । हिउँदमा मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ तर बाटो निकै जोखिमपूर्ण छ । ढुङ्गा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि करिब तीन घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मजा छ । रासस

प्रतिकृया दिनुहोस