कालिका एफएमले आयोजना गरेको बृहत तीज गीत प्रतियोगितामा राम जानकी बालिका आश्रम देवघाट प्रथम

चितवन । कालिका एफएम, टिभि कालिका र महाकालेश्वर शिवालय मन्दिरको संयुक्त आयोजनामा आज भएको बृहत तीज गीत प्रतियोगितामा राम जानकी बालिका आश्रम प्रथम भएको छ । यसैगरी आनन्द दिदिबहिनी भजन समूह भरतपुर १२ दोस्रो भएको छ ।

यसैगरी ग्राण्डी स्कुल परिवार रामपुर तेस्रो हुन सफल भएको छ । र बाँसुरीकला प्रतिष्ठान शरदपुर र कालिका भजन समूह पदमपुरले सान्त्वना स्थान हासिल गरेका हुन् । सदाका बर्षझैं यस बर्षपनि कालिका मिडियाले बृहत तीज विशेष प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा दर्ता गराएका २२ टिम मध्ये १८ वटा टिमको सहभागीता रहेको थियो । प्रथम पुरस्कार रु. २५ हजार दोस्रो पुरस्कार रु. २० हजार तेस्रो पुरस्कार रु. १५ हजार र सान्त्वना पुरस्कार रु. ५/५ हजार प्रदान गरिएको थियो ।

यसैबिच तीज गीत प्रतियोगितालाई प्रमुख अतिथि कालीगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका संस्थापक प्राचार्य आचार्य दुर्गा कंडेल बस्यालले हिन्दू धर्मको जगेर्नामा जोड दिनुपर्ने बताउनुभएको छ । परापूर्व कालदेखि भगवान् शिव पार्वतीले गरेको योगदानबाट नै हरितालिका तीजको महत्त्व बढ्दै गएको बताउनुभयो ।

नेपाल वैदिक सनातन हिन्दूराज्य भएको मुलुक भएको भन्दै उहाँले नेपाललाई पुनः वैदिक सनातन हिन्दूराज्य घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै, चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री तथा कालिका मिडिया ग्रुपका अध्यक्ष बिक्रम पाण्डेले धर्म संकृतिको जगेर्नामा सरकार थप जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

हिन्दूनारीहरुको महान पर्व हरितालिका तीज लगायतका विभिन्न मौलिक चाडहरुमा एफएमले स्थापनाकालदेखि धर्म संस्कृतिको जगेर्नामा जोड दिएको बताउनुभयो । राप्रपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले प्रतियोगितामा भाग लिएका सबै महिला दिदीबहिनीहरुलाई शुभकामना दिनुहुँदै मौलिक परम्पराको जगेर्नमा लाग्न जोड दिनुभयो ।

उहाँले मौलिक परम्पराका गीतको जगेर्नामा राष्ट्रिय ख्यातिप्राप्त कलाकार बिष्णु माझीले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । पछिल्लो समय पश्चिमी शैलीको प्रभावमा परेर बजारमा आएका केही उछृङ्खल गीतहरुले हाम्रा मौलिक परम्पराको धज्जी उडाएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । जबर्जस्त धर्म परिवर्तन गराउन खोज्ने गिरोहलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउदै पूर्वमन्त्री पाण्डेले तत्काल त्यस्ता गिरोहलाई कानुनी दायरामा ल्याउन सरकारलाई आह्वान गर्नुभयो ।: कालिका एफएम

प्रतिकृया दिनुहोस