भगवान् गणेशको उत्पत्ति

काठमाडौं । विभिन्न कल्पमा गणेशको जन्म र चरीत्रमा विविधता पाइन्छ । ती मध्ये एकपटक शनिको दशाले उनको शिरच्छेदन भएर हात्तीको टाउको जोडियो । तर पछिल्लो स्वेतकल्पमा शिव स्वयंले नै गणेशको टाउको काटेर हात्तीको टाउको जोडिदिएको प्रसंग श्रीशिवमहापुराणको द्वितीय रुद्रसंहिताको कुमारखण्डमा उल्लेख छ ।

यहाँ आशुतोष भगवान शिवजीको विषयमा कुनै शंका र सन्देह गर्नु ठिक छैन;उनी सगुण र निर्गुण दुवै अवस्थामा छन् ।मातृपक्ष र पितृपक्षबीच द्वन्द्व पौराणिक कालदेखि नै भएको पाइन्छ ।त्यसै गरी महादेव र पार्वती बीच पनि शक्तिका विषयमा द्वन्द्व थियो । 

महादेवका आफ्ना शक्तिशाली गण (नन्दी,भृङ्गी,चतुसष्टियोगिनी आदि)थिए ।तर माता पार्वतीका कुनै गण थिएनन् ।शक्ति प्रयोग गर्नुपर्दा महादेवका गण चलाउने गर्थिन् तर ती गणहरु पार्वतीसँग टेर्दैनथे । उता पार्वतीका सखी जया र विजयाले यो कुरा बुझेर सधैँ आफ्नै गण उत्पत्ति गर्न उक्साइरहन्थे । पार्वतीले यो कुरा मनमा मात्र लिएकी थिइन् ।

 एकदिन पार्वती नङ्न भएर नुहाउन लागेकी थिइन् त्यहीबेला शिवजी टुप्लुक्क आइपुगे ;उनी लाजले भुतुक्क भइन् र बल्ल आफ्ना शक्तिशाली गण भएको भए त यस्तो हालत हुँदैनथ्यो भन्ने महसुस गरिन् ।

समय बित्दै गयो ।पार्वतीले त्यसै गरि नुहाउन लागिन । शरीर मिज्न थालिन् ।मयलका लुँडा निस्के । ती मयललाई एकत्रित गरिन र एउटा पिण्ड बनाइन् ।आफ्नै शरिरबाट पैदा भएको सोचेर उनले त्यस पिण्डलाई मानवाकृति बनाइन् । 

त्यसमा प्राण भरेर त्यो त सर्वलक्षणयुक्त पुरुष निर्माण भयो र   उसैलाई आफ्नो गणको नायक बनाएर एउटा लठ्ठी दिएर तिमी नै मेरो एकमात्र पुत्र हौ भनी  आफू नुहाइञ्जेल कसैलाई पनि प्रवेश नदिनु भनेर ढोकामा परेदारको रुपमा राखिन् ।
        
 उता शिवजी घरमा आइपुगेर भित्र पस्न लाग्दा बालक गणेशले रोके । एकापसमा वादविवाद भयो ।गणेशले एक लठ्ठी शिवाजीलाई बजाए । उनी क्रुद्ध भएर आफ्ना गणहरुलाई यस बालकलाई रोक भनेर आफू बाहिर नै बसिरहे । 

 पार्वतीका गणनायक र शिवजीका गणहरुबीच विवाद सुरु भयो । त्यसले उग्ररूप लियो ।घमासान युद्ध भयो । दुवै गणका धेरै सदस्यहरु मारिए तर युद्ध साम्य भएन । यो कुरा पार्वतीले आफ्ना सखी मार्फत थाहा पाइन् र आइन् ।

उनले आफ्ना छोराको पक्ष लिदै स्यावास्!छोरा भन्दै धाप मारेर सुर्‍याइन् । गणेशले शिवगणलाई तिमीहरू शिव गण रहेछौ म पनि पर्वतीमाताको गण हुँ त्यसैले हामी।आ-आफ्नो कर्तव्य पालन गरौं भने ।यो गणेशको प्रस्तावमा शिव गण पनि सहमत भयो र शिवजीलाई साची राख्न गए ।

 दुवै गण शिव सामु उपस्थित भए । उनले दुवै पक्षका कुरा सुनेर भने - हेर तिमीहरू दुवै गण रजेछौ । शिव गण पुरुषको गण हो ;पार्वती को गण स्त्रीको गण हो ; त्यसैले माफी माग भन्ने आदेश गरे ।फेरि उनम स्त्रीसँग के माफ माग्ने भन्ने आशंका उब्ज्यो र यो जाबो फुच्चेले के पो गर्न सक्ला र भनेर लडाइँ नै गर भन्ने आदेश आफ्ना गणलाई दिएर आफू चूप बसे ।

 लडाइँ सुरु भयो ।मातृगणका सामु पितृगणको केही नलाग्ने देखियो ।शिवगण भागे । यो कुरा विष्णु र ब्रह्मासम्म नारदले पुर्‍याए । ब्रह्माले त्यो विवाद मिलाउन धेरै प्रयत्न गरे ।गणेश आवेगमा आएर ब्रह्माका दारी समातेर लल्कारे । अन्त्यमा पितृसत्ताको हार हुन दिनु हुँदैन भनेर ब्रह्माविष्णु र इन्द्रादि देवता पनि आफ्ना हतियार लिएर मातृसत्ताविरुद्ध लडाइँमा होमिए ।

घमासान युद्ध भयो ;तर गणेशसामु कोहि पनि टिक्न सकेनन् ।त्राही माम भन्दै लाखापाखा भए ।
यो कुरा शिवजीको कानमा पुग्यो । पुरुषत्वको अहंकारले शिवजीलाई छोडेको थिएन । उनी आफैं युद्ध मैदानमा ओर्लिएर बालक गणेशसँग लडाइँ गरे । युद्धको वर्णन गरी साध्य भएन ।विष्णु पनि गरुडसहित आकाश मार्गबाट सुदर्शनचक्र छाड्न थाले ।यदि विष्णुले सुदर्शनचक्र छोडेमा गणेशले निल्न सक्ने भाव बुझेर शिवजी  अत्यन्तै क्रोधित हुँदै प्रकाश गतिमा गएर त्रिशूलले बालक गणेशको घिच्रोमा गाडेर दुईभाग गरिदिए ।यसरी मातृसत्ताको असफल परास्त भयो । 

शिवगणले  गणेशको शिरच्छेदन महादेवबाट भएपछि महोत्सव गर्न लागे । यता पार्वतीले यो खबर पाएपछि अत्यन्तै क्रुद्ध भइन् र पुत्रवियोगले रुँदै आफ्ना केशराशिबाट लाखौं शक्तिको रचना गरेर भनिन्- हे !गणहरु हो ;तिमीहरूले देवता,राक्षस,ऋषि,आफ्नो अर्को केही नभनिकन खाँदै जाओ;प्रलय गर । पार्वतीगणले जसलाई भेटे पनि निल्न थाले । 

यो दृश्य देखेर शिव,विष्णु, ब्रह्मा र इन्द्रादिदेव सबै अतालिए ।अब पार्वतीको स्तुति नगरी यो समस्या समाधान हुँदैन भनेर नाना तरहले पार्वतीको स्तुति गरे ।

लामो समयपछि पार्वतीले यदि आफ्नो छोरा गणेश बाँचेर देवगणको पनि पूज्य हुन्छ भने यहाँ शान्ति हुन्छ अन्यथा हुनसक्दैन भनिन् ।

 यस्तो अडान लिएपछि शिवजीले आफ्ना गणलाई उत्तरदीशाम गएर जुन प्राणी पहिले भेटिन्छ उसैको शिर काटेर ल्याऊ भन्ने आदेश दिए । उनिहरुले एकदाँते हात्ती भेटेर त्यसैको शिर काटेर ल्याए । शिवजीले आफ्नो तन्त्रविद्या प्रयोग गरेर बालक गणेश को शरिरमा हात्तीको टाउको जोडिदिए । अनि कमण्डलुको जल छर्के ; बालक गणेश जौरुक्क उठे । हात्ती टाउके, रातो वर्णका,सुन्दर कान्तिमान् ,प्रसन्नवदन थिए ।

यसरी मातृसत्ताको पुनरुथान भयो;देव पूजाको सुरुमा " श्रीगणेशाय: नम: " भनेर गणेश स्मरण गरिन्छ ।

प्रतिकृया दिनुहोस