स्तनपान नगराउने आमालाई क्यान्सरको जोखिम

काठमाडौं,२१ पुस । नेपालमा क्यान्सरको जोखिम बढ्दै गए पनि यसको उपचारविधि भने सहज बन्दै जान थालेको छ। समयमै उपचार गर्ने हो भने क्यान्सर अब डरलाग्दो रोगको रुपमा रहन छाडेको छ। तैपनि समयमै उपचार नगर्दा र जीवनशैलीमा सुधार नल्याउँदा यो रोग जोखिमपूर्ण बनेको छ।

विश्वमा क्यान्सरका रोगीमध्ये २.५ प्रतिशत स्तन क्यान्सरका बिरामी भेटिने गरेको तथ्यांक छ। पछिल्लो समय स्तन क्यान्सर कम उमेरका महिलामा देखिने गरेको छ। चिकित्सकको दाबी अनुसार नेपालमा स्तन क्यान्सर लागेका महिलामध्ये २० प्रतिशत ४० वर्षभन्दा कम उमेर समूहका छन्।

स्तन क्यान्सरलाई हामीले कसरी बुझ्ने ?
सामान्य भाषामा भन्नुपर्दा यो स्तनमा हुने क्यान्सर हो। अलि गहिरिएर बुझ्दा स्तनमा दुईवटा कुरा महत्त्वपूर्ण हुन्छन्। एउटा, दूध बनाउने ग्रन्थी र अर्को बनेको दूधलाई निप्पलसम्म लैजाने नली। दूध बनाउने ग्रन्थीलाई लोबिल भनिन्छ भने नलीलाई डक्ट भनिन्छ। लोबिलमा हुने क्यान्सरलाई लोबिलर क्यान्सर र डक्टमा हुने क्यान्सरलाई डक्टल क्यान्सर भनिन्छ। स्तनका यही दुईवटा भागमा बढी क्यान्सर हुन्छ, जसलाई स्तन क्यान्सर भनिन्छ।

यसको कारण चाहिँ के रहेछ ?

ठ्याक्कै यही कारणले भन्न सकिँदैन। तर पहिले जनचेतनाको कमीका कारण ढिलो थाहा हुन्थ्यो। स्तनबाट शरीरका अन्य भागमा फैलिसकेपछि मात्रै क्यान्सर भयो भन्ने हुन्थ्यो। अहिले सुरुकै अवस्थामा पत्ता लाग्ने भएर कम उमेरमा पनि स्तन क्यान्सर लागेका महिलाको संख्या बढेको जस्तो देखिएको हुनसक्छ। खानपिन र जीवनशैलीको असरका कारणले पछिल्लो समय सानै उमेरमा स्तन क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ।

स्तनपान गराउने आमामा यसको जोखिम कति छ ?
स्तनपान नगराउँदा यसको जोखिम हुने हो। स्तनपान गराउने आमामा स्तन क्यान्सर लाग्ने सम्भावना एकदमै कम हुन्छ।

यो रोग लागेमा कस्ता लक्षण देखिन्छन् ?

सुरुवाती अवस्थामा स्तनमा नदुख्ने खालका गिर्खा आउने, छाला रातो हुने, सुन्निने, स्तनको छाला सुन्तलाको बोक्राजस्तो रंगको देखिने, निप्पल भित्रतिर जाने, काखी र घाँटीसम्म गिर्खाहरु आउने जस्ता लक्षणहरु देखिन सक्छन्। तर, छातीमा आउने सबैखाले गिर्खाहरु क्यान्सर हुँदैनन्। त्यसैले शंका लाग्ने बित्तिकै विशेषज्ञसँग परीक्षण गराउनुपर्छ।

प्रतिकृया दिनुहोस