'मन लगाऔं, आफ्नो मुटु बचाऔं' भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै
काठमाडौं,१२ असोज ।प्रत्येक वर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने चलन छ। यस वर्ष विश्वभर 'मन लगाऔं, आफ्नो मुटु बचाऔं' भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै छ।
'आफ्नो मुटुको सुरक्षा आफैं गरौं, स्वास्थ्य परीक्षण गराऔं, मुटु रोगका जोखिमहरू थाहा पाइराखौं, कुनै स्वास्थ्य समस्या भए तुरून्त उपचार गराऔं, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल जस्ता समस्या बिनाउपचार पालेर नराखौं, उपचारमा हेलचेक्रयाइँ नगरौं' आदि सन्देश दिन खोजिएको छ।
विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि दुई करोड मानिस मुटुको रोगबाट मर्छन्। यीमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख र अविकसित राष्ट्रका छन्।
१९ औं शताब्दीमा मानव मृत्युको प्रमुख कारण संक्रामक रोग र कुपोषण थिए। २० औं शताब्दीको सुरूसम्म पनि मुटु रोगबाट मर्नेहरूको संख्या १० प्रतिशतभन्दा कम थियो। २१ औं शताब्दीको सुरूमा आएर मुटुरोगबाट मर्नेको संख्या विकसित राष्ट्रहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरूमा २५ प्रतिशत पुगेको छ।
विश्व स्वास्थ्य संगठनले भविष्यवाणी गरेअनुसार, सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने छ। र, कोरोनरी मुटुको रोग (हृदयघात) संसार कै हत्यारा नम्बर १ रोगका रूपमा स्थापित हुनेछ। सन् २०३० सम्ममा नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान छ।
नेपालमा हाल २५ प्रतिशत अर्थात करिब ७५ लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन्। मुटु रोगीहरूको संख्या नेपालमा बीस वर्षयता पाँच गुणाले बृद्धि भएको छ।
प्रतिकृया दिनुहोस