खेर गइरहेका केराका खम्बाले फेरियो जगतपुरका महिलाको जनजीविका

चितवन,७ असोज । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनको सीमाक्षेत्र नजिकैको बस्तीमा बसोबास गर्ने अधिकांश व्यक्तिको आर्थिक स्तर न्यून छ । उक्त क्षेत्रमा बसोबास गर्ने अधिकांशले मेलापात र निकुञ्जको भरमा नै जीविको पार्जन गर्नुपर्ने बाध्यता छ ।

भरतपुर महानगरपालिका–२३ जगतपुरका महिलाको दैनिकी भने पछिल्लो समय फेरिएकाे छ । मेलापात र निकुञ्जबाट निहुराे टिपेरै अर्थोपार्जन गरिरहेका उनीहरुलाई २०७९ को फागुनमा भरतपुर महानगरपालिकाले केराकाे सुत्लाबाट हस्तकलाका सामाग्री बनाउने आधारभूत तालिम दिएकाे थियाे । १० दिनकाे तालिमबाट सिकेका कुराले उनीहरूलाइ आत्मनिर्भर बनाएको छ ।

केराकाे सुत्लाबाट हस्तकलाका विभिन्न सामाग्री बनाउन सिकाएको उक्त तालिमले दैनिक जीवनयापन सहज बनाएको हातेमालो लघु उद्यमी महिला समुहकी अध्यक्ष अप्सरा तामाङ श्रेष्ठले बताइन् । महानगरको उक्त तालिम पश्चात हातेमालो लघु उद्यमी महिला समूहका २० जना महिला दिदिबहिनीहरुले खेर गइरहेको केराको खम्बाबाट विभिन्न किसिमका हस्तकलाका सामाग्री बनाउन सिकेका हुन् । समूहका महिलाले बनाएका सामाग्री उद्योग वाणिज्य संघ चितवनको महिला समितिले आयोजना गरेको महिला उद्यमी मेलामा प्रदर्शन गरिएको छ ।

हातेमालो महिला उद्यमी समूहमा आबद्ध महिलाले केराका खम्बाबाट डिनर म्याट, ब्याग, पेन होल्डर, डस्बिन, टि म्याट, पपकर्न राख्ने भाँडो, ट्रे, फलफूल राख्ने भाँडा, फूलदानी, चप्पल लगायतका विविध सामाग्रीहरु बनाएर विक्रि गरिरहेको श्रेष्ठको भनाई छ । जगतपुरमा केरा खेती राम्राे हुने गरेकाे छ । केरा काटेपछि खेर जाने खम्बाकाे पैसा नपर्ने भएकाले महिलाहरूले शून्य लगानीमा आम्दानी गर्न सक्ने उनी बताउँछिन् ।

‘हस्तकलाका सामाग्री बनाएर बेच्न थालेपछि खेर गइरहेको केराको खम्बाबाट मोहोर कमाउन सकिने रहेछ भनेर थाहा भयो, जिरोबाट हिरो बन्न सकिने व्यवसाय रहेछ,’ उनले भनिन्, ‘पहिले मेलापात गर्न र निहुरो टिप्न जंगल जानुपर्थ्यो तर अहिले यसमै मेहनत गर्न थालेपछि आर्थिक रुपमा पनि आत्मनिर्भर भएका छौँ ।’

उक्त समूहमा रहेका महिलाले व्यक्तिगत रुपमा नै सामाग्री बनाएर बेच्ने गरेको श्रेष्ठ बताउँछिन् । मासिक १० देखि १५ हजारसम्म आम्दानी हुने भएकाले घरपरिवारका सदस्यले पनि केराको खम्बा ल्याइदिनेदेखि रेसा निकाल्नेसम्मको काममा सहयोग गर्ने गरेको उनको भनाई छ ।

हस्तकलाका उक्त सामाग्रीहरु नेपाली पर्यटकहरुको तुलनामा विदेशबाट घुम्न आउने पर्यटकको नजरमा बढि पर्ने गरेको श्रेष्ठ बताउँछिन् । अतिनै मन परेको सामाग्री विदेशीले दोब्बर दस्तुर तिरेर भएपनि लैजाने गरेको उनको भनाई छ ।

‘नजिकैको थारु सङ्ग्रालयमा लगेर हामीले आफूले तयार पारेको सामाग्री छाड्छौ, त्यहीबाट पर्यटकहरुले खरिद गरेपछि हामीले आफ्नो सामाग्रीको मूल्य पाउँछौ,’ उनले भनिन्, ‘बिक्रि भएको पाँच प्रतिशत सङ्ग्रालयबाट सामान बिक्री गरिदिने साथीलाई दिनुपर्छ।’

हस्तकलाका सामाग्री बनाउने कामलाई पूरा समय दिन भने नसकेको उनी बताउँछिन् । ‘घरधन्दा सकेर फुर्सदको समयमा घरमै बनाएका सामाग्रीले पनि राम्रो बजार पाउँदा हामीहरु निकै खुसी छौँ,’ उनले भनिन्। अहिले उक्त समूहले सयदेखि एक हजार रुपैयाँसम्म पर्ने सामानहरु तयार पारिरहेको छ ।

आजभोली समूहका महिलाहरुलाई ढलेको केराको खम्बा देख्नै हुँदैन । पहिले वास्ता नहुने चीज आजभोली अनमोल लाग्न थालेको श्रेष्ठ बताउँछिन् । ‘केराको खम्बा लिन हामीलाई केरा खेती गर्नेहरुले आफै पनि बोलाउनुहुन्छ,’ उनले भनिन्, ‘कतै जाँदा केराको खम्बा ढलेको देखेमा यस्को कति राम्रो सामाग्री बन्थ्यो होला जस्तो लाग्छ ।’

आधारभूत तालिमले सक्षम भएका उक्त समूहका महिलाहरु एडभान्स तालिम पाएर अझै परिस्कृत हुने आशा गरेका छन् । हालै मात्र भरतपुर महानगरपपालिका प्रमुख रेनु दाहालले केराको खम्बाको बोक्रा निकाल्न अत्याधुनिक मेसिन प्रदान गरेको उनले बताइन् । मेशिन सञ्चालन भएपछि सामाग्रीहरू अझै आकर्षक र धेरै बनाउन सकिने उनी बताउँछिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पंचगव्य चिकित्सा किन?

हाम्रो शरीर जुन पाँच महाभुतहरु ( 5 compound element) बाट बनेको छ ति सबै गऊताको गव्यहरुमा उपलब्ध छ...