काठमाडौं । मसाज वा मालिस पौराणिक समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गर्ने प्रचलित विधि हो । यसलाई ३००० इसापूर्वदेखि प्रयोगमा आएको प्राकृतिक चिकित्सा विधि मानिन्छ ।
प्राकृतिक चिकित्सा विधिमध्येको मसाज आफैंमा बहुउपयोगी विधि हो । मसाज सबै उमेर र सबै लिंगका मान्छेको लागि उपयुक्त विधि हो । अहिलेसम्म पनि बच्चा जन्मिएको ६ महिनासम्म बच्चालाई दिनको तीनपटकसम्म घाममा राखेर तेल मालिस गर्ने चलन यो पनि मालिसको एउटा विधि हो ।
मालिसले मान्छेको हाड तथा मांसपेशीलाई बलियो बनाउँछ । मान्छेको वृद्धिविकासमा योगदान पुग्ने, पाचन शक्ति बढ्ने, छालासम्बन्धी रोग नलाग्ने र मजाले निद्रा लाग्ने विश्वास गरिन्छ ।
हाम्रो समाजमा शरीरलाई फूर्तिलो, बलियो र तन्दुरुस्त राख्न मालिस वा मसाज निकै प्रयोग गरिन्छ । यद्यपि मसाजको प्रयोग आनन्दका लागि पनि गरिन्छ । त्यसैले मसाजलाई चिकित्सा विज्ञानले विभिन्न रुपमा विभाजित गरेको छ । मसाजले डिप्रेसन, मानसिक तनाव, अनिद्रा, चिन्ता र माइग्रेन जस्ता समस्याबाट मुक्ति दिन्छ ।
मसाजले शारीरिक तथा मानसिक स्फूर्ति ल्याउनुका साथै सोच तथा स्मरणशक्ति बढाउँछ ।
अहिले बच्चालाई घाममा तेल तताएर मसाज गर्ने चलन कम छ । तर सहरी भेगमा पनि जैतुनको तेल र बेबी लोसनले मालिस गर्ने चलन देखिन्छ । तर प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसारको मालिस गर्ने चलन भने हराउँदै गएको देखिन्छ ।
मसाजका प्रकार र यसका फाइदा
मसाजका विभिन्न तरिका भएपनि चिकित्सा विज्ञानले यसरी विभाजन गरेको छ ।
स्युडिस मसाज
यो एकदमै चलेको मसाजको प्रकार हो । यसमा स्ट्रोक, ट्यापिङ, निडिङ जस्ता धेरै विधि प्रयोग गरिन्छ । यो मसाज मुख्यतः दुखाइ कम गर्नका लागि प्रयोग गरिन्छ । यो ढाडको दुखाइ, मांसपेशी जगडिएको, घडा दुखाइ र अर्थराइटिस जस्ता रोगको लागि प्रयोग गरिन्छ ।
डिप टिस्यु मसाज
यो मसाजले छालामुनि रहेका गहिरा तन्तुहरुलाई ध्यान केन्द्रित गर्ने भएकाले अपेक्षाकृत बढी दबाब प्रयोग गर्दछ । यो प्रविधिमा औंलाद्वारा दबाब दिएर छालामा विभिन्न टेक्निक समावेश गरिन्छ । यसले मांसपेशीको दुखाइ कम गर्न मद्दत गर्दछ । साथै शारीरिक असन्तुलन मिलाउन र तनाव गर्न पनि यसले सहयोग गर्छ ।
अरोमा थेरापी मसाज
यो विधि भावनात्मक र मानसिक उपचारमा केन्द्रित छ । यसले दिमागलाई आराम गर्न मद्दत गर्दछ । यो विधिमा रोगअनुसार विभिन्न तेलको प्रयोग गरेर मसाज गरिन्छ । शरीरलाई सान्त्वना र आराम दिन, सुगन्धित तेलको प्रयोग गरिन्छ । यसले मस्तिष्कलाई सुखद् अनुभूति दिन्छ ।
प्रतिकृया दिनुहोस