भोली शनिवार यस्तो छ शनिवारको महत्व

परापूर्वकालमा सूर्य, चन्द्र, मङ्गल, बृहस्पति, शुक्र , शनि, राहु र केतु नवग्रहहरूमा तँ ठूलो कि म ठूलो भन्ने विषयमा विवाद चल्यो । सबैले आफूलाई नै ठूलो मान्ने भएकोले वास्तवमा को ठूलो हो भन्ने कुराको निर्णय हुन सकेन । त्यसैले सबै ग्रहहरू देवताका राजा ईन्द्रकहाँ हामीमध्ये को ठूलो हो बताइदिन भनेर उपस्थित भए । यो कुराले राजा इन्द्रलाई धर्मसंकट पर्यो । चराचर जगतमा कोही पनि सानो र ठूलो नहुने कुरा बुझेर ईन्द्रले त्यो समस्या मर्त्यलोकका प्रसिद्ध राजा #विक्रमादित्य कहाँ पन्छाइ दिए । जब नवग्रहहरू स्वर्गबाट मर्त्यलोकका राजा विक्रमादित्यकहाँ पुगेर आफ्नो समस्या राखे । राजा विक्रमादित्यलाई पनि को ठूलो बनाउने भन्ने कुरामा समस्या पर्यो । किनकि स्वभाविक रुपले नै जुन ग्रहलाई सानो बनायो त्यो ग्रह राजाप्रति रिसाउँने छ । अन्त्यमा राजाले आफ्नो मुखबाट सानोठूलो नभनी फैसला हुनसक्ने एउटा उपाय पत्ता लगाए । राहुलाई फलाम तथा अन्यलाई विभिन्न धातुका आसन बनाइ नौ ठाउँमा क्रमश राखिदिए । सबैलाई आआफ्नो मनपर्ने धातुको आसनमा बस्न भने । यसरी बस्दा जसको आसनी अगाडि पर्छ त्यो नै ठूलो हुनेछ भने । यसरी राख्दा शनिको आसन सबैभन्दा पछाडि पर्न गयो ।
विक्रमादित्य निर्णयदेखि शनि क्रुद्ध भए र भने- " हे राजन तपाईं मेरो शक्ति र पराक्रमको बारेमा जान्न सक्नुहुन्न । जब कि सूर्य एउटा राशिमा एक महिना बस्छन् ; चन्द्रमा सवा दुईदिन ; मंगल डेढ महिना ; बृहस्पति १३ महिना ; बुध तथा शुक्र एकएक महिना ; राहु र केतु उल्टा चल्ने केवल एक राशिमा १८ महिना मात्र रहन्छन् । तर म एउटै राशिमा तीस महिना जति बसिरहन्छु । ठूला-ठूला देवताहरू पनि मदेखि डराउँछन् । त्यसैले तपाईंले यो कुरा कहिल्यै नबिर्सनुहोला । तपाईंलाई थाहा नै होला जब भगवान् राममाथि साढेसाती आयो तब उनले वनवास लाग्नुपर्यो । रावणमाथि साढेसाती आयो तब राम, लक्ष्मण , हनुमान जस्ता वीर लङ्कामा गएर रावणको वंश विनाश गरेर छोडे । स्वयं गणेश भगवान् माथि मेरो दृष्टि पर्नाले गजानन ( हात्ती टाउके ) हुनुपर्यो । त्यसैले हे राजन् ! तपाईं सावधान रहनुहोला ; किनभने तपाईंमाथि पनि मेरो शक्तिको प्रभाव पर्नेछ ।" यति भनेर शनि रिसाउँदै त्यहाँबाट गए ।अरु ग्रह खुशी हुँदै हिंडे । तर शनि रिसाउँदै जानाले राजा विक्रमादित्यमाथि साढेसातीको दशा लाग्यो ।
एकदिन शनि घोडा व्यापारीको रुप धारण गरेर अत्यन्तै सुन्दर र पाइन्दार घोडाको हुल लिएर राजा विक्रमादित्यको राजधानी सहर उज्जैन पुगे । त्यो खबर थाहा पाएर राजाले आफ्नो दरबारको घोडाको हेरचाह गर्ने मान्छेलाई घोडा किन्न पठाए । घोडेदार राजाको आज्ञा बमोजिम घोडा किन्न गयो । घोडाको मूल्य सुन्दा घोडेदार अत्यन्तै अचम्मित भयो र राजालाई नै घोडा रोज्न सवारी हुन खबर पठायो । राजा तुरुन्तै त्यहीँ पुगेर घोडा रोज्न थाले । एउटा पाइन्दार घोडा रोजेर परिक्षण गर्न घोडामा चढे । घोडा द्रुतगतिमा फाल हानेर एक अनकण्टार वनमा राजालाई पुर्यायो र उनलाई त्यहीँ छोडेर आफू भग्यो ।
राजा विक्रमादित्य एक्लै त्यस घनिभूत जंगलमा बाटोको खोजीमा भट्कन थाले । दिनभर बाटोको खोजिमा जंगलभर भट्किएका राजाको भोकप्यास र थकाइले शरीर शिथिल भयो । यस्तैमा एक्कासि राजाको एकजना ग्वालासँग भेट भयो । तिर्खाले व्याकुल भएका राजालाई त्यो ग्वालाले अलुकति पानी दियो र शरीर केही सर्सायो । ग्वालाको उपकारले प्रसन्न भएका राजाले आफ्नो सुनको औंठी उसैलाई उपहार दिएर त्यहाँबाट ग्वालाले बताएको डोरेठो समाउँदै मानव बस्तीतिर लागे ।
धेरै दिनको कठिन यात्रापछि मात्र राजा विक्रमादित्य एउटा नौलो शहरमा पुगे । लामो समयको हिंडाइ, भोक, प्यास र नैराश्यताले गर्दा राजा थकित भएर एउटा पसलको आडमा थचक्क बसे । पसलमा भएको व्यापारीले राजालाई देखेर सोधखोज गर्यो । राजाले आफ्नो नाम #विका भएको र आफू अमरापुरी जान हिँडेको भनी उत्तर दिए । त्यस व्यापारीले राजालाई भद्र स्वभावको देखेर खाजा खुवायो । अचानक त्यसदिन त्यस पसलमा पहिले कहिल्यै नभएको व्यापारको भीड लाग्यो र मालामाल व्यापार भयो । व्यापारीलाई यो मान्छे त अत्यन्तै लक्षणको रहेछ भन्ने लागेर उसले राजालाई भोजन गर्न र बास बस्न आफ्नो घरमा लिएर गयो । व्यापारीको घरमा राजाले खाना खाँदै थिए । त्यसैबेला राजाले अनौठो दृष्य देखे । उनी बसेको खाटको नजिक एउटा हिराको हार थियो । खाटको खुट्टाले बिस्तारै त्यो हिराको हार तानेर निल्दै गर्व्को थियो । व्यापारी भोजन गरेर राजा भएको कोठामा आयो । उसले खाटमा भएको हार देखेन र यो कोठामा विका बाहेक अरु कोही नभएले उक्त हार विकाले नै लुकाएको ठहर गरेर सोधपुछ गर्न थाल्यो । राजाले आफूले त्यो हार नलिएको र खाटको खुट्टाले निलेको बताए । तर व्यापारीले त्यो कुरा पत्याएन । अनि उसले राजा विकालाई प्रहरीको जिम्म लगाइदियो । प्रहरीले उनलाई राजा समक्ष उपस्थित गराए । केरकार गर्दा उक्त हार विकाले नै चोरेको ठहर गर्यो । त्यो राज्यमा चोरलाई हातखुट्टा काटेर शहरको टुँडिखेलमा राख्ने कानून थियो । त्यसै मुताविक विकालाई पनि त्यसै गरियो ।
एकदिन एउटा तेली ( तेल व्यापारी) त्यहीँ पुग्यो । विका छट्पटाई रहेको देखेर उसलाई साह्रै दया लागेर आयो । उसले त्यो मुढो शरीरलाई आफ्नो गाढामा राख्यो र घरतिर लिएर हिँड्यो । बाटोमा जाँदा विकाको मुढो शरीरको मुखको आवाजले गाडा हाँक्यो । उता #शनिदेवको क्रोधले शनिदशा लागेर यस्तो कठोर सजायँ भोगिरहेका विकाप्रतिको क्रोध घट्दै गएकोले शनिदशाको प्रभाव पनि घट्दै गयो ।
यसै बीचमा वर्षा ऋतु शुरु भयो । कता-कता विक्रमादित्यको मन प्रफुल्लित हुँदै आयो । अनायास उनले हृदस्पर्शी स्वरमा संगीतको अत्यन्तै मीठो #मल्हार_राग गाउन लागे । त्यो रागले शहर नै गुन्जाएमान भयो । त्यस्तो मीठो राग सुनेर त्यो राज्यकी राजकुमारी #मनभवानी लाई मोहनी लाग्यो । उनले यो आवाज कहाँबाट कसले आलापेको हो बुझेर आऊ भनेर आफ्नी सुसारेलाई अह्राइन् । मल्हार राग गाउनेको स्वर सुन्दै त्यो सुसारे नगर घुम्दै-घुम्दै एउटा तेलीको घर नजिक पुगेर रोकिई । अनि त्यो आवाज कस्तो मुखबाट निस्कँदो रहेछ भनेर हेर्न जाँदा त एउटा मुढो शरीरको भएको मान्छेको आवाज रहेछ । त्यो कुरा सुसारेले दरबारमा आएर राजकुमारीलाई बेलिबिस्ता लगाई । त्यो कुरा सुनेर राजकुमारीले जस्तोसुकै भएपनि आफूले त्यही मल्हार राग (गीत ) गाउने मानिससँग विवाह गर्ने अठोट गरिन् ।
भोलिपल्ट जब सुसारेले राजकुमारीलाई ब्युँझाउन खोजी ; त्योबेला राजकुमारी अनशन बसेकी रहिछन् । सुसारेले राजकुमारीको हालत रानीलाई खबर गरी । रानीले आएर छोरीको इच्छा बुझ्न खोजिन् । राजकुमारीले तेलीको घरमा भएको मल्हार राग आलापले अपाङ्गसँग आफूले विवाह गर्न चाहेको कुरा आमालाई बताइन् । तर रानीले त्यो कुरा इन्कार गरिन् । जतिसुकै सम्झाइबुझाइ गरे पनि राजकुमारीले आफ्नो अठोट नछोड्ने निर्णय सुनाएपछि रानीले पनि त्यो कुरा राजालाई बताइन् । राजा साह्रै क्रुद्ध र दुखित भए । राजा हलाक परेर - "दैवले तँलाई जे हुन लेखेको छ त्यही होस् " भनेर छोडिदिए ।
दरबारमा आत्महत्या गरेर सिनो पन्छाउन भन्दा जहाँसुकै मर भन्ने लागेर राजाले मन्त्रीलाई भनेर राजकुमारी मनभवानीको विवाह अपाङ्ग विकासँग नै गराइदिने व्यवस्था मिलाए । सुहागरातमा दुलाहा-दुलही सुतेका थिए । सपनामा राति शनिदेव प्रकट भएर विकालाई भन्नुभयो -" राजा ! तैंले मलाई नौग्रहमध्ये तुच्छ बनाएर धेरै दु:खकष्ट भोग्नुपर्यो ।" हत्तपत्त विकाले शनिदेवको पाउ समाउँदै क्षमा मागे । तब शनिदेवले विकालाई माफ दिँदै प्रसन्न भएर उनका काटिएका अंग जोडिदिए ।
आफू पहिलेजस्तै सवलाङ्ग भएकोले हर्षको आँसु बगाउँदै विक्रमादित्यले प्रार्थना गरे - " हे शनिदेव !जसरी हजूरले मलाई दु:ख दिनुभयो त्यसरी नै कसैलाई दुख नहिस् ; मेरो प्रार्थना स्वीकार गरिदिनुहोस् ।" शनिदेवले भन्नुभयो -" हे राजन् !ठिक छ , तिम्रो प्रार्थना मैले स्वीकार गरेँ । जसले यो मेरो कथा सुन्छ सुनाउँछ ; उसलाई मेरो दशामा कुनै दु:खकष्ट हुनेछैन । जसले नित्य मेरो ध्यान गर्छ र चराचुरुङ्गीलाई गहुँको चारा खुवाउँछ त्यसको मनोरथ पूर्ण हुनेछ । यति भन्दै शनिदेव अन्तर्ध्यान् हुनुभयो ।
यो खबर पहिले विक्रमादित्यलाई हार चोरीको दोष लगाउने व्यापारीले पनि सुन्यो । ऊ राजा विक्रमादित्यकोमा आएर क्षमायाचना माग्यो । यसमा कसैको दोष छैन ; यी सबै शनिदशाका कारणले भएको हो भनेर सम्झाए । अनि व्यापारीले पुनः आफ्नो घरमा आएर भोजन गरिदिन अनुरोध गरेपछि राजा भोजनका लागि गए । त्यहाँ जाँदा अघि खाटको खुट्टाले निलेको हिराको हार ओकेलिदियो ।यो घटना देख्ने सबै शनिदेवको लीलाबाट चकित भए ।
जब राजा आफ्नो राज्य उज्जैन फर्के तब उनले आफ्नो राज्यमा शनिवारको दिन शनिदेवको पूजाआराधना गरी कथा वाचन, श्रवण गर्ने गराउने व्यवस्था मिलाए । साथै शनिदेव सबै ग्रहभन्दा श्रेष्ठ हुनुहुन्छ भन्ने घोषणा गरी राज्यभरी दिपावली मनाई आनन्दले राज्यभोग गर्न लागे ।
जसले शनिदेवको यो कथा भन्दछ , सुन्दछ उसको सबै दु:ख निवारण भई सहज जीवनयापन गर्न पाउने हुँदा शनिदेवको व्रत, पूजन्, उपासना गरी अन्त्यमा यो कथा भन्न र सुन्न सुनाउन अत्यावश्यक भएको शास्त्रीय मत पाइन्छ । गुरुचरणकमलेभ्यो नम: ।

प्रतिकृया दिनुहोस