यतिबेला नेपालमा धार्मिक क्षेत्रमा सक्रिय संस्था र अभियानहरुले धार्मिक गठबन्धन निर्माणका लागि चौतर्फी प्रयास गरिरहेका छन् । गठवन्धन निर्माणको सन्दर्भमा नेपालमा भएका विगतका इतिहास थोरै खोतल्न जरुरी छ ।
विश्वभरका हिन्दुहरुको हकहितमा बोल्ने र हिन्दुत्व संरक्षणमा महत्वपुर्ण भूमिका खेल्ने उद्देश्यले चारै शंकराचार्य, साधुसन्त र धर्माचार्यहरुको अग्रसरतामा २०३७ साल चैत शुक्ल पक्ष नवमी अर्थात श्री रामनवमीको दिन नेपालमा पहिलो अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन आयोजना भएको थियो । सो सम्मेलनको उद्घाटन स्वर्गवासी राजा श्री ५ वीरेन्द्रले गर्नुभएको थियो । राष्ट्रगुरु योगी नरहरिनाथ आचार्य खेमराज केशवशरण, बडागुरुज्यू अम्बिकाप्रसाद अधिकारी लगायत नेपालका प्रसिद्ध धर्मगुरुहरुको साथमा ॐकार परिवारका बौद्ध जैन शिख सम्प्रदायको समेत उल्लेख्य सहभागिता रहेको सो सम्मेलनले पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा विश्व हिन्दु सम्मेलन नामको संस्था स्थापना गर्यो, जसमा त्यो बेला देशविदेशमा सक्रिय रहेका ४२ वटा धार्मिक संस्था आवद्ध थिए । । संसारका तीन दर्जन बढी मुलुकको प्रतिनिधित्व त्यो सम्मेलन र महासंघमा रहेको थियो । दोस्रो अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन २०४४ मा ३१ राष्ट्रको सहभागिता रहेको थियो । विभिन्न संस्थाहरुको छाता संस्थाको रूपमा सम्मेलनको नाम संशोधन गरेर विश्व हिन्दु महासंघको नाममा दर्ता कायम भयो विश्व हिन्दु महासंघलाई संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले समेत मान्यता प्रदान गरेको थियो । स्थापनाकालदेखि २३ वर्षसम्म विश्व हिन्दु महासंघको नाम र काम निकै चम्कियो । महासंघको पदमा पुग्नमात्रै होइन आजीवन सदस्यता पाउनु पनि निकै ठूलो कुरा हुन्थ्यो किनकी देशमा राजसंस्था र हिन्दु अधिराज्य कायम थियो । महासंघमा राजारानी स्वयंको प्रत्यक्ष संलग्नता हुन्थ्यो । सरकारले धेर थोर वार्षिक वजेट पनि दिन्थ्यो । कार्यक्रम गर्न खोज्दा व्यापारीले चन्दा पनि दिन्थे । दरबारको नजरमा पर्ने भएकोले महासंघमा काम गर्न इच्छुक मान्छेको प्रतिस्पर्धा हुन्थ्यो । त्यो बेलासम्म देशभरका धार्मिक संघसंस्थाले विश्व हिन्दु महासंघलाई अभिभावक मानेर त्यसैमा एकताबद्ध थिए ।
वि सं २०६० मा पुग्दा विश्व हिन्दु महासंघको नेपाल राष्ट्रिय समिति फुटाएर त्यही नामको अर्कै संस्था जन्मियो । हिन्दु महासंघ त्यसपछि ओरालो लाग्न थाल्यो । ०६२/६३ को जन आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन गर्यो । मुलुक धर्म निरपेक्ष भयो साथसाथै राजसंस्था पनि खारेजीमा पर्यो । राजारानीको प्रत्यक्ष सम्बन्ध रहेको महासंघलाई अधिकांश धार्मिक संस्थाले साथ छाडे । सरकारले दिने बजेट कटौती भयो । उद्योगी व्यापारीहरुले सहयोग दिन पछि हटे। सहयोगीहरु नयाँ उदय भएका राजनीतिक शक्तिका पछाडि लागे । जसरी राजसंस्थाको नियोजित बदनाम गरिएको थियो त्यसैगरि हिन्दु धर्म र विश्व हिन्दु महासंघको पनि नियोजित बदनाम गराउन मान्छे खटाइए ।
धर्म निरपेक्षताको विरोधमा विश्व हिन्दु महासंघले कहिले कलंकी कहिले शहीदगेट कहिले भद्रकालीमा नियमित रूपमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राख्यो तर त्यसमा धार्मिक मान्छेहरू नै आउन नमान्ने परिस्थिति भयो । दस बीस जना बाटोमा पहेंला झण्डा लिएर उभिएको आवाज कतै सुनिएन ।
पहिलो संविधान सभाको चुनाव भएर संविधान निर्माण हुन्छ भन्ने भएपछि धार्मिक गतिविधि अलिकति बढेर गयो । धार्मिक सहकार्यको वातावरण बन्दै गयो । नयाँ खुलेका संस्था र अभियानले कार्यक्रम गर्दै गए । डा माधव भट्टराईको नेतृत्वमा राष्ट्रिय धर्मसभा नेपाल र शंकर पाण्डेको नेतृत्वमा राष्ट्रिय धर्म जागरण अभियानले संगठन र जागरणका काम गर्दै गए । पहिलो संविधानसभाले संविधान बनाउन सकेन यसबाट धार्मिक क्षेत्र अझै उत्साहित र संगठित भए । अभियानहरु थपिदै गए । हरिबोल भट्टराईको नेतृत्वमा धार्मिक संस्थाहरुको सञ्जाल बन्यो पछि त्यसको नेतृत्व शंकर पाण्डेले गर्नुभयो । काँग्रेस नेता खुमबहादुर खड्काको नेतृत्वमा महाअभियान शुरु भयो । श्रीनिवासाचार्यले शान्ति बाटिकाबाट अनशन बसेर सबैलाई जोड्ने प्रयास गरिरहनु भएको थियो । त्यही बीचमा राष्ट्रिय धर्मसभा नेपाल, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति , नेपाल ज्योतिष परिषद र पुरोहित संघ लगायतका संस्थाहरुको अग्रसरतामा १३३ वटा धार्मिक संस्था आवद्ध सनातन हिन्दु मोर्चा गठन भएर धार्मिक अभियान र आन्दोलनमा सरिक भयो । स्वामी कमलनयनाचार्य र एलपी भानु शर्माको नेतृत्वमा अर्को अभियान चल्न थालियो । कतिपय संस्था संयुक्त सनातन मोर्चाको नामबाट पनि संगठित भएका थिए । नेपाल सन्त समाजको पहलमा चितवन नवलपरासी रुपन्देही पूरै एकतावद्ध भएर आन्दोलित भएका थिए । ब्राह्मण समाजलगायत जातीय संस्थाहरुले समेत हिन्दु राष्ट्रको पहिचान रक्षामा आन्दोलित भए । सबैको परिश्रमलाई मटियामेट पारेर संविधानमा धर्म निरपेक्षताले संस्थागत स्वरूप लियो । तथापि राष्ट्रिय जनावर गाई, त्रिकोणात्मक चन्द्रसूर्य झण्डा, धर्म परिवर्तन दण्डनीय र सनातन धर्मको रक्षा गर्ने भन्ने संवैधानिक व्यवस्था हाम्रा संघर्षका कारणले मात्रै रहेका हुन ।
एकलौटी वामपन्थी सरकारको पतन भएर काँग्रेस नेतृत्वको नयाँ सरकार बनेलगतै अहिले पुनः धार्मिक संस्था र अभियानहरु आन्दोलनको मनस्थिति बनाउन थालेका छन् । महाधिवेशन अघि आन्दोलन उठाएर कांग्रेसलाई दबाब दिनसके काँग्रेसले हिन्दुत्वको मुद्दा बोक्छ भन्ने दृष्टिकोण र यो बेला आन्दोलन गर्दा सरकारी दमन कम हुन्छ भन्ने बुझाइले पनि हुनसक्छ अहिले एकाएक भित्री सलबलाहट बढेको छ । कोरोना महामारीको प्रभावले आन्दोलनको वातावरण नभए पनि संस्थाहरु गठवन्धन बनाउन थालेका छन् । श्रावण चार गते देवघाटमा सन्तसमाजको नेतृत्वमा भएको धार्मिक अगुवाहरुको भेलाले डा चिन्तामणी योगीको संयोजकत्वमा विश्व ॐकार एकता महा अभियान गठन भएको छ । त्यसैगरी केही अगाडि मात्रै डा निर्मलमणी अधिकारी नेतृत्वमा सनातन धर्म महासंघ गठन भैसकेको छ भने पं रामकृष्ण उपाध्यायको प्रयासमा अर्को छुट्टै गठबन्धन तयारी भैरहेको छ ।
१८ वर्षअघि छुट्टीएर गएको विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको गत वैशाख ८ गते एकीकरण भएर महासंघको पुरानो शाख पुनःस्थापन गर्ने अभियानमा रहेको छ । आफूलाई धार्मिक शक्तिकेन्द्र बनाउने होडमा कतिपय संस्थाहरु पुरानो शक्ति विश्व हिन्दु महासंघलाई जोडतोडले निन्दा र आलोचना गर्दै हिडेका छन् । कतिपय संस्थाका नेतृत्व आफू अरुको आह्वानमा भएका कार्यक्रममा सहभागी नहुने तर अरुलाई एकता गर्छु भन्दै हिडेका छन् । धार्मिक संस्थाकै निन्दा गरेर कसरी वृहत् एकता बनाउन सकिएला ? अरुको निम्तो नस्वीकार्नेको घरमा निम्तो मान्न को जाला ? एउटै डुंगामा यात्रा गरिरहेका यात्रुहरुको यो हविगतले डुंगा नै डुब्ने खतरा बढेर गएको छ ।
सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि धार्मिक संस्था र अभियानहरुको कार्यगत एकता अत्यन्तै जरुरी छ । तर धेरैजसो धार्मिक अभियानहरुले धार्मिक मुद्दाको साथसाथै एकएक वटा राजनीतिक पार्टी बोकेका छन् । धार्मिक जनमतको समानुपातिक भोट लिएर संसदमा पुग्ने च्याँखे दाउमा छन् । कसैले कसैको नेतृत्व स्वीकार नगर्ने अहंवादले ग्रसित रहेपछि एकताको चिन्तन निकै पेचिलो हुँदै गएको छ । साँच्चिकै धार्मिक गठवन्धन गर्ने हो भने माथि उल्लेखित चारै खम्बा एकै ठाउँमा उभिनुपर्दछ, एकले अर्कोलाई अपमान गरेर होइन आदर सम्मान गरेर जोडिनुपर्छ अन्यथा खुट्टा तानातानको अवस्थाले धार्मिक संस्थाको गठवन्धनको सपना भ्यागुताको धार्नी हुनसक्छ ।
(
प्रतिकृया दिनुहोस