भगवान रामका फरक-फरक रामकहानी
जैन धर्ममा रामकथालाई पौमाचरिता (या पद्मचरिता) भनिएको छ। रामलाई मर्यादा पुरुषोत्तम, अहिंस्रक र वितरागी भनिएको भएकाले जैन धर्मनुसार रामको नाम श्रीपद्म थियो। त्यसकारण जैन रामकथालाई पद्मपुराण पनि भनिन्छ
रामका कथा नेपाल-भारत र हिन्दु धर्ममा मात्र सीमित छैन। थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया लगायत दक्षिण पूर्वी एसियामा पनि रामकथा निकै लोकप्रिय छन्। कथाको केन्द्रमा राम मुख्य पात्र भए पनि देश, संस्कृति र समय अनुसार रामकथामा पनि केही भिन्नता र विविधता छन्।
नेपाल-भारतका हिन्दुमाझ तुलसीदासकृत रामायण लोकप्रिय छ। जैनधर्ममा विमलासूरी लिखित रामकथा (जसलाई पद्मचरिता या पद्मपुराण पनि भनिन्छ) लोकप्रिय छ भने बौद्धमा 'दशरथ-जातक'का नाममा।
समग्रमा तीनवटै रामकथा मिल्दाजुल्दा छन्। त्यसमा पनि जैन र हिन्दु रामकथा बढी नै मिल्छन्। बौद्ध रामकथा भने अलिक फरक छ।
हिन्दुहरूले रामलाई भगवान विष्णुका अवतार मान्छन्। रामायण अनुसार अयोध्याका राजा दशरथका चार छोरा थिए- राम, लक्ष्मण, भरत र शत्रुघ्न। सीता रामकी पत्नी हुन्। कैकेयी (भरतकी आमा) को भरतलाई राजा बनाउने चाहनाले गर्दा राम, लक्ष्मण र सीता १४ वर्ष वनबास जानुपर्छ। वनबास क्रममा लंकाका राजा रावणले सीताको अपहरण गर्छन्। अनि रामले रावणको वध गर्छन्। वनबास पूरा भएपछि उनी अयोध्याका राजा भएर शासन गर्छन्।
जैनहरूले भने रामलाई एक जैन मुनी मानेका छन्। बौद्धहरूले शाक्यमुनी गौतम बुद्ध बन्नुअघि अनेक जन्म बोधिसत्व भएर बिताएमध्येको एक जन्म बोधिसत्व-राम भनेर मान्छन्। यिनै बोधिसत्व रामलाई आदर्श राजाका रूपमा लिएर थाइल्यान्डका धेरै पूर्व राजाहरूले आफ्नो नाम राम राखेको पाइन्छ।
अयोध्याको अर्थ जोसँग युद्ध गर्न सकिन्न, गरी हाले पनि विजय पाउन असम्भव छ। हिन्दु र जैन मान्यता अनुसार संसारमा राज गर्ने दुई चक्रवर्ती राजाहरू, भरत र सगरको राजधानी अयोध्या नगरी थियो। यिनै चक्रवर्ती राजा भरतको नामबाट छिमेकी देशको नाम भारत र यस उपमहाद्वीपको नाम भारतवर्ष रहन गएको हो।
जैन धर्मका प्रथम तिर्थंकर चवन (या च्यवन) को जन्म पनि अयोध्यामै भएको मानिन्छ। उनका पुत्र भरत नै चक्रवर्ती राजा बनेको उल्लेख छ। अयोध्यालाई जैनशास्त्रमा विनित नगर, ईक्ष्वाकु भूमि, कोशल, अवध्या, रामपुरी वा साकेतपुरी नामले उल्लेख गरेको पाइन्छ। जैन र हिन्दुहरूका अनुसार रामको जन्म अयोध्यामा भएको थियो। बौद्ध रामकथा अनुसार रामको जन्म वाराणासीमा भएको बताइन्छ।
दशरथ जातक- बौद्ध रामकथा
एक जमिनदारका पिताको देहान्त हुन्छ। उनी सबै कामकाज छडेर दुःखमा डुबेका हुन्छन्। एकदिन जेतवन बिहारमा बुद्धलाई भेट्न जान्छन्। बुद्धले ती जमिनदारलाई सान्तवना दिन सुनाउँछन् दशरथ-जातक।
दशरथ जातकमा रामायणका सबै पात्र करिब-करिब सबै छन्। तर दशरथ आयोध्याका नभएर वाराणासीका राजा छन्। त्यस्तै सिता रामकी पत्नी नभएर बहिनी हुन्। रामको वनवास १४ वर्ष नभएर १२ वर्ष मात्र छ। रावण, हनुमान जस्ता पात्रको कुनै स्थान छैन। साथै सीताको अपरहण या लंका युद्ध पनि हुँदैन।
वाराणासीका महाराजा दशरथका १६ हजार रानी थिए। सबभन्दा जेठी महारानीबाट दुई छोरा र एक छोरी जन्मिन्छन्। जेठा छोराको नाम राम-पण्डित, कान्छाको लक्खनकुमार तथा छोरीको नाम सीतादेवी हुन्छ।
जेठी महारानीको मृत्युपछि, अमात्य (मन्त्री) हरूको सल्लाहमा अर्की रानीलाई महारानी बनाइन्छ। उनीबाट एक छोरा जन्मिन्छन्, भरतकुमार।
राजा दशरथले पुत्रमोहका कारण महारानीलाई 'जे इच्छा छ, वर माग' भन्छन्।
रानीले 'उचित समय आएपछि माग्छु, त्यति बेला नै माग पूरा गर्ने वचन दिनू' भन्छिन्।
जब भरत ठूला भए तब राजाकहाँ गएर महारानीले भन्छिन्, 'महाराज, हजुरले वर दिनुभएको थियो। अब म माग्छु। मेरे छोरा भरतलाई राजगद्दि दिनुहोस्।'
दशरथ निकै दुखी भएर भन्छन् , 'तेरो नाश होस्। मेरा छोरा राम र लक्खन गुण सम्पन्न छन्। उनीहरूलाई मारेर आफ्नो छोरा भरतलाई राजगद्दि दिन चाहन्छेस्!'
यति सुनेपछि महारानी डराएर आफ्नो कक्षमा जान्छिन्। तर बारम्बार दशरथसँग राजगद्दिको याचना गरिरहन्छिन्।
दशरथ सोच्न थाल्छन्- कतै झुटो राजाज्ञा वा राजमोहर लगाएर राम र लक्खनलाई मारिदिने पो हो कि यसले?
दशरथले राम र लक्खनलाई एकान्तमा बोलाएर भन्छन्, 'छोराहरू, यहाँ तिमीहरूको जीवनलाई खतरा छ। तिमीहरू कुनै जंगलमा गएर बस। मेरो मृत्युपछि फर्केर आऊ र राजगद्दिका लागि आफ्नो वंश अधिकार लिनू।'
दशरथले राज-ज्योतिषीलाई आफ्नो आयु कति बाँकी छ भनेर हेर्न लगाउँछन्। ज्योतिषीहरूले १२ वर्ष बाँकी रहेको बताएपछि दशरथले रामलाई भन्छन्, 'आजको १२ वर्षपछि फर्केर आउनू र राजछत्र धारण गर्नू।'
पिताबाट आज्ञा भएपछि राम र लक्खन राजदरबारबाट बाहिरिन लागेका बेला बहिनी सीताले भन्छिन्, 'म पनि दाइहरूकै साथ जान्छु।'
यसरी तीनै जना नगरबाट बाहिरिन्छन्। राज्यका जनता पनि उनीहरूका पछिपछि आउँदा रामले सम्झाइ-बुझाइ गरेर फर्काउँछन्। तीनै जना हिमालय नजिकको ठाउँमा पुग्छन् जहाँ पानी र फलपूल सजिलै पाइन्थ्यो। त्यहीँ आश्रम बनाएर उनीहरू जीवन निर्वाह गर्न थाल्छन्।
लक्खन र सीताले दाजु रामलाई भन्छन्, 'तिमी हाम्रा अग्रज हौ, पितातुल्य छौ, तिमी आश्रममा बस, हामी जंगलबाट फलफूल ल्याएर तिम्रो पोषण गर्ने छौं।'
राम आश्रममै ध्यान-तपस्या गर्ने लागे र भाइबहिनीले उनको सेवा गरे। यसरी नौ वर्ष बित्यो। यही बेला राजा दशरथको मृत्यु भयो। अनि महारानीले आफ्ना छोरा भरतलाई राजछत्र धारण गरेर राज्य चलाउन भन्छिन्। तर अमात्यहरूलाई यो कुरा राम्रो लागेन। उनीहरूले विरोध गर्दै 'राजछत्रका असली स्वामी जंगलमा छन्' भन्छन्।
भरत 'म आफ्ना जेठा दाइ रामलाई जंगलबाट ल्याएर राजछत्र धारण गराउँछु' भन्ने सोच्छन्।
उनी रामको आश्रम पुग्छन्। त्यो बेला लक्खन र सीता फलफूल खोज्न गएका हुन्छन्। एक्लै ध्यानमा सुखपूर्वक बसेका रामलाई भरतले पिताको मृत्यु भएको समाचार सुनाउँछन् र खुट्टा समात्दै रुन्छन्।
राम न चिन्तित हुन्छन् न रुन्छन्। उनको अनुहारमा कुनै शोक देखिँदैन। त्यही बेला लक्खन र सीता आइपुग्छन्। पिताको मृत्युको समाचार सुनेर दुवै मुर्छित हुन्छन्। होश आएपछि निकै विलाप गरेर रुन्छन्।
भरतले सोच्छन्- दाइ लक्खन र दिदी सीता पिता मरेको खबर सुनेर सहनै नसक्ने गरी दुःखी भए। तर रामले न कुनै शोक गरेका छैनन्। यसरी शोकरहित रहनुको कारण के छ?
उनले सोध्छन्, 'हे राम, तिमी कुन प्रभावका कारण चिन्ता गर्दैनौ? पिताको मृत्युको खबर सुनेर तिमी किन दुःखी छैनौ?'
राम भन्छन्, 'तरुण हो या वृद्ध, मुर्ख हो या पण्डित, धनी हो या दरिद्र , सबै मरणशील छन्। संसारमा सबै नाशवान छ, अनित्य छ । मानिसले जति विलाप गरे पनि सधैं जीवित रहन सक्दैन। त्यसैले बुद्धिमान ज्ञानीले आफूलाई किन कष्ट दिने? रुनु-कराउनु जे गरे पनि मरेको मानिसले केही पाउने होइन, बाँचेर आउने होइन। रुनु, शोक गर्नु निरर्थक छ। जो धीर छ, ज्ञानी छ, यो लोक र परलोक बुझेको छ, उसको मनलाई ठूला शोकले पनि कष्ट पुर्याउन सक्दैन।'
रामको धर्मोपदेश सुनेर सबैले राहत महशुस गर्छन्।
तब भरत आग्रह गर्छन्, 'वाराणासी गएर आफ्नो राज्य सम्हाल दाजु राम।'
राम जवाफ दिन्छन्, 'लक्खन र सीतालाई साथ लिएर तिमी नै राज्यलाई अनुशासन गर।'
भरतः अनि तपाईं?
रामः हेर भाइ, मलाई बुबाले १२ वर्षपछि आएर राजछत्र लिनू भन्नुभएको थियो। म आजै फर्केँ भने पिताको आज्ञा पालन हुँदैन। तीन वर्ष बाँकी छ, समय बितेपछि आउँला।
भरतः त्यो बेलासम्म कसले राज्य चलाउँछ त?
रामले भरतलाई 'तिमी राज गर' भन्छन्। भरत मान्दैनन्। अनि रामले 'जबसम्म म फर्किन्नँ, यो पादुकाले राज्य सम्हाल्नेछ' भनेर आफ्ना खराउ दिन्छन्।
तीनै जनाले रामका पादुका प्रणाम गरेर उठाउँछन् र वाराणासी फर्किन्छन्। तीन वर्ष यसरी नै रामको प्रतीक उनको पादुकालाई सिंहासनमा राखेर भरतले राज्य चलाउँछन्। तीन वर्षपछि राम फर्किन्छन्। रामको राज्याभिषेक हुन्छ। रामले १६ हजार वर्ष राज्य गरे भनिएको छ। (स्रोत: दशरथ जातक-४६१)
जैन रामकथाः
जैन धर्ममा रामकथालाई पौमाचरिता (या पद्मचरिता) भनिएको छ। रामलाई मर्यादा पुरुषोत्तम, अहिंस्रक र वितरागी भनिएको भएकाले जैन धर्मनुसार रामको नाम श्रीपद्म थियो। त्यसकारण जैन रामकथालाई पद्मपुराण पनि भनिन्छ।
हिन्दु धर्ममा राम विष्णुको अवतार मानिएका छन्। तर पद्मपुराणमा राम एक बलभद्र थिए, ६३ शलाका पुरुषमध्ये एक। अर्थात रामलाई विशिष्ट एवं सम्मानीय पुरुषको दर्जा दिइएको छ, जसले सिद्धक्षेत्र मांगीतुंगी (मांगी र तुंगी दुई शिखरवाला पर्वत, महाराष्ट्र) पर्वतमा मोक्ष प्राप्त गरेका थिए।
पद्मपुराणमा रामको आयु लगभग १७ हजार वर्ष र उनको उचाइ १६ धनुषजति थियो। रामसँगै हनुमान, बाली, सुग्रिव लगायत पात्रले पनि मांगीतुंगी पर्वतवाट मोक्ष प्राप्त गरेका थिए। यही पर्वतबाट ९९ करोड प्राणीले मोक्ष प्राप्त गरेका थिए।
हिन्दु रामायण अनुसार रामले सीताको अग्निपरीक्षा गराएपछि सीता धर्तीमा समाहित हुन्छिन्। उनको कपाल मात्र जमिनमाथि शेष रहन्छ। तर पद्मपुराणमा रामले एक धोबीको आरोपपछि सीताको त्याग गर्छन्। त्यसपछि सिताले पृथ्वीमति साध्वी (जैन-सन्यासिनी) सँग दिक्षा लिन्छिन् र केशलोचन (कपाल उखाल्नु) गर्छिन् र सन्यास लिन्छिन् भनिएको छ।
पद्मपुराणमा रामको वनबासबारे भिन्न कथा छ। कैकेयीलाई आफ्ना छोरा भरत संन्यासी बन्लान् भन्ने डर थियो। यही भयका कारण उनले राजपाठको जिम्मेवारी भरतलाई दिए संन्यासी बन्ने छैनन् भन्ने सोच्छिन्। जब यो कुरा रामले थाहा पाउँछन्, उनी आफैं वनबास जान्छन्।
बाली प्रसंग पनि जैन रामकथामा फरक छ। बालीलाई हटाएर जब सुग्रिवलाई सिंहासन दिइयो तब बालीले संन्यास लिए र जैन मुनी बने भनिएको छ। त्यस्तै राम अहिंस्रक भएकाले महाज्ञानी रावणलाई मार्दैनन्। बरू लक्ष्मणले रावणको वध गरेका हुन्।
तीर्थंकर मुनिसुव्रतको शासनकालमा लंका नगरीका राजा रावणको जन्म भएको थियो। पिताको नाम रत्नश्रवा र माताको नाम केकसी थियो। रावणका दुई भाइ, कुम्भकर्ण र विभीषण र एक बहिनी चन्द्रनखा थिए। चन्द्रनखा सूपर्नखा नामले नै अधिक प्रसिद्ध भइन्।
रावण कुलमा राक्षसी विद्याको चलन थियो। रावणका हजुरबुबालाई भिमाद्रदेवले राक्षसी विद्या र नवमाणिकको हार दिएका थिए। सानै उमेरमा एकाएक रावणले त्यो नवमाणिक हार लगाए। तत्कालै उनका अरू ९ टाउका पनि उत्पत्ति भए। त्यसैले पद्मपुराणमा उनलाई दशमुखा पनि भनिएको छ।
जैन रामकथा अनुसार रावणका मन्दोदरी लगायत अनेक रानी थिए। इन्द्रजित, मेघवाहन आदि धेरै शुरवीर छोराहरू थिए। तीन खण्डमा शासन गरेकाले उनलाई प्रतिवासुदेव पनि भनिएको छ। वणलाई एक न्यायप्रिय राजाका रूपमा देखाइएको छ। उनी जैन धार्मिक स्थलहरूको रक्षा गर्छन्। निकै ज्ञानी र सद्गुणी छन्। रावण यदि स्त्री चाहँदिनन् भने उनलाई जबरजस्ती गरिने छैन भन्ने नियम मान्थे। तर बहिनी सुपर्नखाको उक्साहटमा लागेर उनले सिताको अपहरण गर्ने घोर पाप कर्म गरे। तर सीतासँग जबरजस्ती सम्बन्ध बनाएनन्।
पद्मपुराणमा लंकाबाट विजय प्राप्त गरी अयोध्या फर्केपछि रामले राजगद्दि सम्हालेका छन्। पछि लक्ष्मणको अचानक मृत्यु हुन्छ र राममा वैराग्यता आउँछ। उनी राजपाठ त्यागेर जैन मुनी बन्छन्।
यसरी देश, संस्कृति र समय अनुसार रामायणका कथामा समानताका साथै विविधता देखाइएका छन्।
प्रतिकृया दिनुहोस