डब्लूएचओ भन्छ: कोरोनाभाइरस विश्वव्यापी महामारी, जाँच र उपचारका लागि नेपाललाई प्राविधिक सहयोगको प्रतिबद्धता

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाभाइरसको सङ्क्रमणलाई महामारीको संज्ञा दिएको छ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले पछिल्लो दुई हप्तामा चीनबाहिर १३ गुणाले कोरोनाभाइरसको सङ्क्रमण विस्तार भएको बताए।

उनले चिन्ताजनक तहमा अनिर्णयको अवस्था रहेको भन्दै त्यसले आफूलाई गम्भीर बनाएको बताए।

एकै समयमा एउटा रोग एक भन्दा धेरै देशमा फैलिएको अवस्थामा त्यसलाई महामारीका रूपमा चित्रण गरिन्छ।

डब्लूएचओले के भन्यो?

डाक्टर टेड्रोसले महामारी भन्नुको अर्थ डब्लूएचओले देशहरूलाई चाल्नुपर्ने कदमका बारेमा दिएका सुझावमा परिवर्तन नगरिएको उल्लेख गरे।

कोरोनाभाइरसतस्वीर कपीराइटAFP

उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन देशहरूले 'तत्कालै र आक्रामक स्तरमा' कदमहरू चाल्नुपर्ने बताए।

उनले कैयौँ देशहरूले यो भाइरसलाई दबाउन र नियन्त्रण गर्न सकिन्छ भनेर पुष्टि गरिरसकेको बताए।

उनको अपिलसँगै कैयौँ देशहरूले भाइरसलाई नियन्त्रणमा लिन थप कदमहरू चालेका छन्।

सोमवार यता सङक्रमितको सङ्ख्या १० गुणाले बढेर ५१४ भएको डेनमार्कले शुक्रवारबाट लागु हुने गरी सबै विश्वविद्यलाय र विद्यालयहरूमा बिदा दिएको छ।

संवेदनशील जिम्मेवारीमा रहेका बाहेक सबै निजी क्षेत्रका कर्मचारीलाई बिदा दिने उसले घोषणा गरेको छ।

भारतले एप्रिल १५ सम्म अधिकांश विदेशीका प्रवेशाज्ञा निलम्बन गर्ने बताएको छ।

ग्वाटेमालाले युरोपेली नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्नबाट बिहीवारबाट प्रतिबन्ध लगाउँदै छ।

महामारीको अर्थ के हो?

बीबीसीकी फिलिपा रोक्सबी भन्छिन्, डब्लूएचओले विश्वव्यापी रूपमा देखिएको कोरोनाभाइरसको सङक्रमणलाई महामारी भन्नु ठूलो आश्चर्य होइन।

केही समयअघि सम्म कोरोनाभाइरसको महामारी देखिने जोखिम वा सम्भावना रहेको भनेर भन्ने गरिएको थियो।

तर १०० देशसम्म सङक्रमण विस्तार भएको र पीडितहरूको सङ्ख्या बढ्नुमा सङ्क्रमणग्रस्त देशबाट भएका यात्राहरू नजोडिएपछि महामारीको घोषणा गरिएको हो।

डब्लूएचओले महामारी भन्नुको अर्थ यसलाई नियन्त्रण गर्न सकिँदैन भनिएको होइन।बिबिसी नेपाली सेवा 

प्रतिकृया दिनुहोस