भोली षट्तिला एकादशी , यस्तो छ यसको महत्व

 पुष महिनाको अन्तिम दिन भोली वुधवार   षट्तिला  एकादशी को पावन दिन परेको छ । माघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ ।षट्तिला एकादशीका दिन तिल दान गर्नु विशेष महत्त्वपूर्ण मानिन्छ। यसका साथै तिलद्वारा होम गर्नु, तिल मिसाइएको पानीले स्नान गर्नु र तिलबाट बनेका पदार्थ चढाउनु ले ठूलो धार्मिक पुण्य प्रदान गर्छ र तिलको सेवनले सबै कष्ठ नष्ट हुन्छ षट्तिला एकादशीका दिन मनुष्यले भगवान विष्णुका निमित्त व्रत लिनुपर्छ । व्रत लिने व्यक्तिले गंध, पुष्प, धूप, दीप, ताम्बूल सहित विष्णु भगवानको षोड्षोपचार विधिले पूजा गर्नुपर्छ । मास र तिल मिश्रित खिचडी पकाएर भगवानलाई लगाउनु पर्छ । रात्रिको समयमा तिलले १०८ पटक "ॐ नमो भगवते वासुदेवाय स्वाहा" यस मन्त्रले हवन गर्नु पर्छ । यस एकादशीको व्रतमा तिललाई ६ किसिमले उपयोग गर्नु उत्तम फलदायी मानिएको छ । जुन व्यक्तिले जति किसिमले तिलको उपयोग गर्दछ त्यसलाई त्यति हजार वर्ष स्वर्गप्राप्ति हुन्छ । ऋषिवरले जुन ६ किसिमको उपयोग बताउनुनु भएको छ त्यो यस प्रकार छ-
१. तिलमिश्रित जलले स्नान गर्नु,
२. तिलले शरीरको मालिश गर्नु,
३. तिलको तिलक लगाउनु,
४. तिलमिश्रित जल-पान गर्नु,
५. तिलको भोजन र
६. तिलद्वारा हवन।
षट्तिला एकादशीको व्रत कथा
नारद मुनि त्रिलोकको भ्रमण गर्दै भगवान विष्णुको धाम वैकुण्ठ पुगे । त्यहां पुगेर उनले वैकुण्ठपतिलाई प्रणाम गर्दै उनीसित आफ्नो जिज्ञासा व्यक्त गर्दै प्रश्न गरे- प्रभु ! षट्तिला एकादशीको कथा कस्तो छ र यस एकादशीको व्रत लिदा केकस्तो पुण्य प्राप्त हुन्छ ? देवर्षिद्वारा विनित भावले यसरी प्रश्न सोधिए पछि लक्ष्मीपति भगवान विष्णुले आज्ञा गर्नुभयो- प्राचीन कालमा पृथ्वीमा एउटी ब्राह्मणी बस्दथिइन् । ब्राह्मणीको मप्रति असाध्यै श्रद्धा एवं भक्ति थियो । तिनले मेरा निमित्त सम्पूर्ण व्रत लिने गर्थिन् । एक पटक तिनले एक महिनासम्म व्रत बसेर मेरो आराधना गरिन् । व्रतको प्रभावले स्त्रीको शरीर त शुद्ध भयो तर तिनले कहिल्यै पनि ब्राह्मण एवं देवताका निम्ति अन्न दान गर्दिनथिन् अत: मैंने विचार गरे यी महिला बैकुण्ठमा बसेर पनि अतृप्त नै रहनेछिन्, त्यसैले म स्वयं एक दिन भिक्षा ग्रहण गर्न जानु पर्‍यो । मैले ती वृद्धा ब्राह्मणीका घरमा पुगेर भिक्षाको याचना गरे, अनि उनले एउटा माटोको डल्लो उठाएर मेरा हातमा राखिन् । म त्यो डल्लो लिएर आफ्ना धाममा फर्किए । केही समय पछि ती स्त्री पनि देह त्याग गरी मेरा लोकमा आइन । यहाँ उनले एउटा एक कुटी र आँपको रुख प्राप्त गरिन् । खाली कुटीलाई देखेर ती महिला अत्तालिदै म सामु आइन र भनिन्- म त धर्मपरायण छु, अनि मेरा भागमा चाहि किन खाली कुटी प्राप्त भएको हो प्रभु ! अनि मैले उसलाई बताए कि यो अन्नदान नगरेकाले तथा मलाई माटोको डल्लो दिएको परिणाम हो । त्यसपछि मैंले त्यस ब्राह्मणीलाई भने- जब देव कन्याहरू तिमीलाई भेट्न आउनेछन त्यस बेला आफ्नो कुटिको दैलो खुल्ला राख्नू, उनीहरूले तिमीलाई षट्तिला एकादशीको व्रतको विधान बताउनेछन् । स्त्रीले त्यसै गरिन् र जुन विधि देवकन्याले बताए त्यस विधिले ती ब्राह्मणीले षट्तिला एकादशीको व्रत लिइन् । व्रतको प्रभावले उसको कुटी अन्नधनले भरिपूर्ण भयो । त्यसैले हे नारद ! जो व्यक्तिले यस एकादशीको व्रत लिन्छ र तिल एवं अन्न दान गर्दछ त्यसलाई मुक्ति र वैभव प्राप्ति हुने गर्दछ ।

प्रतिकृया दिनुहोस