आज १५ पुष पर्व मनाउदै

आज वैदिक सनातनीहरुले  १५ पुष पर्व  मनाउदै छन् । विशेष गरी पहाडी क्षेत्रका खसआर्य समाजमा आजको दिनमा मिठो परिकार बनाएर खाने गरिन्छ । यो दिनमा चेलीबेटीलाई माइतीमा बोलाउने चलन पनि रहेको छ । यस पर्व विशेष गरि सुदुरपश्चिमा पनि भव्यताका साथ मनाउने गरिन्छ ।
पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५‘ को रुपमा चर्चित रहेको छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ ।

यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटीलगायतका डोटेली खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।

पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो दाउराको मूढोको आगो ताप्नुपर्ने र एक–अपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ ।

पर्वको तयारी स्वरुप हरेक घरका गृहणीहरुले आज आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीवेटीलाई घरमा आमन्त्रण गरी भव्यरुपमा स्वागत एवम् सत्कार गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस