भोली षड्तीला एकादशी , यस्तो छ यसको महत्व

माघ,११, चितवन । यस वर्षको षड्तीला एकादशी भोली शनिवार परेको छ । माघ महिनामा पर्ने  माघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । यसलाई माघ कृष्ण एकादशी, तिला एकादशी आदि विभिन्न नामले जानिन्छ । षट् अर्थात् ६ वटा र तिल अर्थात् तिलको दाना, यी दुई शब्द मिलेर यस एकादशीको आव्हान भएको छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको व्रत बस्नेले व्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै वर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसै गरी अरू एकादशी व्रत झैँ श्रद्धापूर्वक षटतिला एकादशीको व्रत बस्नाले सबै पापहरूको नष्ट हुने मान्यता रहेको छ । षटतिला एकादशी व्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले नै षटतिला भनिएको हो ।


व्रतविधानका सम्बन्धमा जुन विषयवस्तु पुलस्य ऋषिले दलभ्य ऋषिलाई बताएकाथिए त्यो यहाँ प्रस्तुत गरिन्छ । ऋषि भन्दछन- माघको महिना पवित्र र पावन मानिन्छ, यस महिनामा व्रत र तपको ठूलो महत्त्व छ । यस महिनामा कृष्णपक्षमा आउने एकादशीलाई षट्तिला भन्दछन । षट्तिला एकादशीका दिन मनुष्यले भगवान विष्णुका निमित्त व्रत लिनुपर्छ । व्रत लिने व्यक्तिले गंध, पुष्प, धूप, दीप, ताम्बूल सहित विष्णु भगवानको षोड्षोपचार विधिले पूजा गर्नुपर्छ । मासतिल मिश्रित खिचडी पकाएर भगवानलाई लगाउनु पर्छ । रात्रिको समयमा तिलले १०८ पटक "ॐ नमो भगवते वासुदेवाय स्वाहा" यस मन्त्रले हवन गर्नु पर्छ । यस एकादशीको व्रतमा तिललाई ६ किसिमले उपयोग गर्नु उत्तम फलदायी मानिएको छ । जुन व्यक्तिले जति किसिमले तिलको उपयोग गर्दछ त्यसलाई त्यति हजार वर्ष स्वर्गप्राप्ति हुन्छ । ऋषिवरले जुन ६ किसिमको उपयोग बताउनुनु भएको छ त्यो यस प्रकार छ-

  • १. तिलमिश्रित जलले स्नान गर्नु,
  • २. तिलले शरीरको मालिश गर्नु,
  • ३. तिलको तिलक लगाउनु,
  • ४. तिलमिश्रित जल-पान गर्नु,
  • ५. तिलको भोजन र
  • ६. तिलद्वारा हवन।

यी वस्तुलाई आफूले स्वयं ग्रहण र उपयोग त गर्नै पर्छ तथा कुनै श्रेष्ठ ब्राह्मणलाई बोलाएर उनलाई पनि यी वस्तु उपभोग हुने गरी दानादि गर्नुपर्छ। यस प्रकार जसले षट्तिला एकादशीको व्रत लिन्छ, भगवानले उसलाई अज्ञानतापूर्वक गरेभएका सम्पूर्ण अपराधबाट मुक्त बनाई दिनुहुन्छ र पुण्य प्रदान गरेर स्वर्गमा स्थान प्रदान गर्नुहुन्छ। यस कथनलाई सत्य मानेर जो भगवद्भक्तले यो व्रत विधिवत लिन्छ त्यसको प्रभुले निश्चय नै उद्धार गर्नुहुन्छ



षटतिला एकादशी व्रतकथा
पौराणिक कथन अनुसार एक दिन नारदमुनि ऋषि त्रिलोक भ्रमण गर्दै जाँदा बिष्णुबास वैकुण्ठ पुगे । त्यहाँ नारमूनि लाई विष्णु भगवानले श्रद्धापूर्वक स्वागत गरे । नारदले सोही मौकामा षटतिला एकादशी व्रतका बारेमा विष्णुसँग जिज्ञासा राखे । विष्णुले पनि यस एकादशी व्रत महिमाको सबै कथा बेलिबिस्तार सुनाइदिए । कथा अनुसार त्यति बेला पृथ्वी लोकमा एक ब्राम्हणी बस्दथिन् । ब्राम्हणी विष्णुप्रति धेरै श्रद्धा भक्ति गर्दथिन् । एक दिन ती ब्राम्हणीले विष्णुको भक्ति स्वरूप एक महिना लामो व्रत बसिन् । व्रतको प्रभावले ब्राम्हणी सबै पापबाट मुक्त भई शुद्ध भइन् तर तिनको एउटा कमजोरी के थियो भने कहिल्यै पनि कसैका निम्ति अन्न दान गरेकी थिइनन् । विष्णुले आफ्नो भक्त सबै पाप हरण भई स्वर्गमा बास पाउन योग्य भए पनि अन्न दान नगरेका कारण अतृप्त नै रहने कुरा मनन गरे । त्यही भएर उक्त कार्यबाट ब्राम्हणीलाई मुक्त गराउन स्वयं एक दिन भिक्षा लिन ब्राम्हणीकहाँ पुगे ।

ती ब्राम्हणीले पनि भिक्षा स्वरूप माटोको डल्लो विष्णुरूपी भिक्षुका हातमा राखिदिइन् । भिक्षु विष्णु त्यही माटोको डल्लो लिएर गए । दिन बित्दै जाँदा ती ब्राम्हणी एक दिन परलोक धाम भई बिष्णुलोक मा पुगिन् । उनलाई बिष्णुलोक मा आँपको रुख नजिकै एउटा खाली कुटि मिल्यो । खाली कुटि भेटेपछि चिन्तित बनेकी ती ब्राम्हणीले पुन विष्णुको भक्ति गरिन् । विष्णु प्रकट भए । ब्राम्हणीले आफू सबै धर्म परायण भएर पनि किन खाली कुटि मिल्यो भनेर विष्णु समक्ष जिज्ञासा राखिन् । विष्णुले पनि उनले कहिल्यै अन्न दान नगरेको र भिक्षा दिँदा समेत माटोको डल्लो दान गरेका कारण यस्तो भएको बताइदिए । यस्तो सुनेपछि ब्राम्हणी चिन्तित भएको देखेर विष्णुले त्यसको उपाय स्वरूप( देवकन्याहरु तिमीलाई भेट्न आउनेछन् र त्यति बेला मात्रै कुटिको ढोका खोल्नु कि जति बेला उनीहरूले तिमीलाई षटतिला एकादशीको व्रत विधि सुनाउँछन्, भनी बताइदिए ।

ब्राम्हणीले पनि खुसी हुँदै त्यसै गरिन् । देवकन्याहरुले बत्ताइदिएको विधि अनुसार उनले षटतिला एकादशीको व्रत बसिन् । तिल दान गरिन् । फलस्वरुप ब्राम्हणीलाई कुटिभरी बाँकी धेरै अन्नहरू प्राप्त भयो । विष्णुले नारदलाई यसरी षटतिला एकादशी व्रतको सबै विधि कथा बत्ताइदिए । सोही अनुसार षटतिला एकादशी व्रतका बेला तिल लगायतका अन्न दान गरेको खण्डमा वैकुण्ठ बास भई सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।हाम्रो पात्रो 

प्रतिकृया दिनुहोस