मूर्ति हेर्न र दर्शन गर्न नपाइने त्रिपुरासुन्दरी भगवती
२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरीको मन्दिर । तस्विरः बाबुराम शर्मा
दोलखा । पुजारीबाहेक मन्दिरमा कसैलाई भगवतीको पूजाआजा तथा दर्शन गर्न निषेध गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखाको पवित्र देवीकोट त्रिपुरासुन्दरी मन्दिरमा कसैले पनि त्रिपुरासुन्दरी भगवतीको पूजाआजा तथा दर्शन गर्न हुन्न भन्ने प्रचलन रहिआएकाले भगवतीको मूर्ति हेर्न र दर्शन गर्न निषेध गरिदैँआइएको छ ।
ऐतिहासिक, धार्मिक एवम पर्यटकीय महत्व बोकेको किराँतकालमा स्थापना भएको भनाइ रहेको त्रिपुरासुन्दरी भगवतीको पूजाआजा तथा दर्शन गर्न हुन्न भनेर त्यसताकाका तान्त्रिकहरुले रोक लगाएदेखि नै निषेध हुँदैआएको छ ।
किंवदन्तीअनुसार त्यसताका यहाँका तान्त्रिक सिन्धु भनिने च्वाफे गोस (खरेटो जुङगे) र विन्दु भनिने तुफी गोस (कुचो जुङगे) ले नै प्रत्येक दिन यहाँबाट तामाकोसी नदी (नागदह) मा गएर नुहाई चोखो पानी ल्याएर भीमेश्वरमा पूजा गर्ने गर्दथे ।
त्यसक्रममा एक दिन उनीहले नागदहमा तीन वटी दिदीबहिनी खेलेर बसेको देखेका थिए । तान्त्रिक शक्तिले हेर्दा मानिस नभई देवीहरु भएकाले तान्त्रिक विधिले बाँधेर फकाइफुलाई दोलखामा नै बस्ने मन्जुर गराइएका थिए भन्ने भनाइ छ ।
तिनीहरुमा जेठी अति नै (त्रिपुरमध्येकै) राम्री भएकीले त्रिपुरासुन्दरी भनिएको हो भन्ने किंबदन्ती रहेको स्थानीय तीर्थनारायण जोसीले बताउनुभयो । अर्की माहिली अलि काली भएकीले कालिञ्चोक भगवती भनी अग्लो स्थान (तीन हजार ८४२ मिटर) कालिञ्चोकमा र कान्छी बहिनी बालिका बालकुमारी भनी दोलखामै स्थापित छन् । तिनीहरु सबै तामाकोसी नदी देखिने स्थानमा नै स्थापना भएका छन् ।
अहिले मरिहेको स्थानमा त्यति बेला पञ्चभलाद्मी बसी निर्णय गर्ने गरेको तथा दोलखा शहरको रक्षार्थ सेना राख्ने कोत पनि भएकाले त्रिपुरासुन्दरीलाई देवीकोट भन्ने गरिएको किंबदन्ती रहेको स्थानीय जोशीले बताउनुभयो ।
यो मन्दिर अहिलेको ठाउँभन्दा अलि तल रहेको भग्नावशेष अध्यावधिक रहेका छन् । पछि नेपाल सम्वत् ९६५ मा अहिले भएको स्थानमा सारिएको मन्दिर बाहिर रहेको शिलालेखमा उल्लेख छ ।
किम्बदन्तीअनुसार कुनै दिन एक जनाले पुजारी नभएको बोला पारी मन्दिरभित्र पसेर हेरेका र घर पुगेर मन्दिरभित्र हेरेको भन्ने बित्तिकै रगत छाडेर मरेको खबरले अझसम्म कोही पनि भित्र पसेका छैनन् । यहाँ अर्को रोचक पक्ष पनि रहेको छ । जतिसुकै बोको, राँगो आदि बलि चढाउन ल्याउँदा पनि पूजाकोठामा अरु जान नहुने, हेर्न नहुने प्रचलनले एक्लै पुजारीले च्याइँचुइँ नगरी काटेर बाहिर निकाल्ने गर्छन् ।
यहाँ बलि चढाएको मासु घर लान नहुने भनिएकाले यहीँ नै पकाएर भोज खाने गरिन्छ । तत्कालीन राजाले आफैँले स्थापना गरेकाले देवीको रक्षार्थ तथा राज्य सञ्चालानार्थ सरसल्लाहका निमित्त आफ्नो घरको झ्याल र मन्दिरको झ्याल खुलै राखेकाले आजसम्म पनि दुङगल टोलको पुरानो घरको र मन्दिरको एउटा झ्याल खुलै राख्ने गरेको किम्बदन्ती छ ।
२०७२ सालको भूकम्पले ध्वस्त बनाएको मन्दिर पुरातत्विक हिसाबले नै पुनर्निर्माण गरिएको छ । दोलखा मन्दिरै मन्दिरको जिल्लाको रुपमा चिनिने गर्दछ । यहाँ १५४ वटा मठमन्दिर तथा ५५ वटा गुम्बा रहेका एक तथ्याङकले देखाएको छ । : Gorkhapatra online
प्रतिकृया दिनुहोस