तीजमा निराहार व्रत बस्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व हो तीज । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीज पर्व मनाइन्छ ।

तीजको दिन विवाहित महिलाले श्रीमानको लामो आयुका लागि निराहार व्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले पानी पनि नखाई व्रत बसेमा राम्रो श्रीमान् पाउने भन्ने जनविश्वास छ ।

तर निराहार पानी पनि नखाई दिनभर व्रत बस्नु स्वास्थ्यको दृष्टिकोणले स्वस्थकर नहुने डायटिसियन डा.शोभा शाक्य बताउँछिन् । 

शाक्यका अनुसार तिजको अघिल्लो दिन टन्न रातको १२ बजेसम्म दर खाने र भोलीपल्ट दिनभर व्रत बस्दा अपचको समस्या, ग्यास्ट्रिकको समस्या देखा पर्ने सम्भावना रहन्छ । 

अघिल्लो एक दिन मात्रै धेरै खाएर भोलीपल्ट व्रत बस्दा धेरै असर पर्दैन तर अहिलेको सन्दर्भमा एक महिनाअघि बाट नै एकदमै धेरै दर खाने गरिन्छ यसकारण पेटको समस्या सिर्जित हुनसक्छ । 

उनि भन्छिन् ‘निराहार व्रत बस्नु स्वस्थकर पक्कै हैन । किनकि निराहार व्रतमा पानी समेत खाइँदैन । हाम्रो शरीरलाई पानी अत्यन्त आवश्यक कुरा हो । त्यसमाथी यो गर्मीको समयमा पसीना आउँछ, तिजमा व्रत बस्दा नाचगान गरेर रमाइलो गरिन्छ यसकारण पानीको पनि सेवन नगर्दा डिहाईड्रेसन हुने सम्भावना रहन्छ । सकभर निराहार व्रत नबस्नुहोस् ।’

यदि तपाईलाई डायबिटिज छ,उच्च रक्तचापको समस्या छ,मिर्गौलाको बिरामी लगायत समस्या भएका र विभिन्न रोगहरूको औषधि लिइरहनुभएको छ भने  त्यस्ता व्यक्तिहरूले व्रत नलिँदा नै उचित हुन्छ । 

दिनभरि केही नखाई बेलुका टन्नै खाँदा अपचको समस्या त हुने नै भयो । र अर्को ग्यास्ट्रिकको समस्याले पनि सताउन सक्छ । दिनभरि भोकै बसेपछि बेलुका सन्तुलित भोजन गर्नुपर्छ । एकै पटक भोक लागेको छ भनेर धेरै थरीका खानेकुराको सेवन गर्नु राम्रो होइन ।

अझ स्पाईसी मसालेदार खानेकुराहरू खानुभयो भने पेटको सन्तुलन बिग्रन्छ । यसकारण धार्मीक हिसाबले व्रत बस्दा खान नहुने खानेकुराहरूको सेवन नगरे पनि व्रत बस्दा खान मिल्ने खानेकुराहरू जस्तै गेडागुडीहरूको सलाद बनाएर,अन्नहरू, दालहरू,काँक्रो लगायत पानी प्रशस्त भएका फलफूलहरूको सेवन गरेर व्रत बस्नुभयो भने स्वास्थ्यमा समस्या हुँदैन । 

प्रतिकृया दिनुहोस