गौरा संस्कृति
कहाँ उव्जी गया महेश्वर गुंसाई कहां उव्जी लोली गमरा।
शिखर धुरा सुनका सिहांसन महेश्वर उव्याउन
धान खेत सौं खेत लोली रे उव्जी।
गंगा धर नौलीपार लोली रे उव्जी
चुखै भाडी दाडीमको भाडी लोली रे उव्जी
फूलकी भाडी कुरुजो भाडी लोली रे उव्जी ॥
शिखर धुरा सुनका सिहांसन महेश्वर उव्याउन
धान खेत सौं खेत लोली रे उव्जी।
गंगा धर नौलीपार लोली रे उव्जी
चुखै भाडी दाडीमको भाडी लोली रे उव्जी
फूलकी भाडी कुरुजो भाडी लोली रे उव्जी ॥
यी पंक्ति गौरा देवीका मंगल गीत हुन्। अर्थ हुन्छ महेश्वर अर्थात् शिवजी र गौरा पार्वती अर्थात लोली गमराको उत्पत्ति कहाँबाट भयो शिखरमा सुनका सिहांसनमा महेश्वरको उत्पत्ति भयो । हरियो धानको खेत कुवा नदी तथा विभिन्न फलफूलका बृक्षबाट माता गौरीको उत्पति भयो।
नेपालको मध्य तथा सुदुरपश्चिमका साथै भारतको उत्तराञ्चलमा भदौमा गौरा पर्व मनाइन्छ । तीजका दिनबाट सुरु हुने गौरा पर्व मूलतः पाचमीका दिनबाट चार दिन मनाइन्छ । महेश्वर र गौराबीच विवाह भएको प्रसंग यस पर्वमा जोडिएको पाइन्छ। गौरा पूजन विवाहित माहिलाले मात्र पूजा गर्ने भएपनि पुरुष र अविवाहित महिला पनि पर्वमा सामेल हुन्छन्। भाद्र शुक्ल पक्षमा उज्याली गौरा र कृष्ण पक्षमा अन्यारी गौरा मनाइन्छ।
उज्याली गौरालाई नयां गौरीया अर्थात् नयां दुलहीको लागि शुभ मानिन्छ। एकै वर्षमा अर्थात विवाह भएकै वर्षमा व्रत बसेमा तेमुडी हुने जसलाई शुभ मानिदैन भएकाका वर्ष दिन पुगेपछि मात्र दुलहीले नयां गौरीयाको रुपमा ब्रत बस्ने चलन छ।
गौराकॊ पहिलो दिन अर्थात पाचमीको दिन विरुडा पाँच प्रकारका अन्न गहुत गहुँ मास केराउ (स्थानीय भाषामा कंलउ भनिन्छ र गुंरौस) भिजाउने गरिन्छ। विहानैबाट नुहाईधोएर चोखो भई ब्रत बसी पाचविरुडा भिजाएर आआफनो घरमा चोखो ठाउँमा राखिन्छ । त्यही ठाउँमा भगवानको स्तुति गर्ने र बत्ती बाल्ने चलन छ । दोस्रो दिन विरुडा धुन नजिकैको कुवा धारो अर्थात् नौलोमा विरुडा लगेर सफा गर्ने चलन छ। विरुडा सफा गर्ने दिनलाई नौलाकी गौरा पनि भनिन्छ । सोही दिन पानीको मुहानमा गएर विरुडा सफा गर्ने र नौलामा गौरा बनाई विरुडाले पूजा गर्छन् । चेलीबेटीले खेतबाट जरा सहितको धानको बोट सौ (धान जस्तै देखिने एकप्रकारको घांस), बल (स्थानीय स्तरमा पाईने एक प्रकारको डांठे घाँस) गुबो सेतो पात भएको कलिलो फूल भएको घांस कुरुजो हरेक धर्मकर्मका बेला चोख्याउनलाई प्रयोग गरिने एक प्रकारको फूल हरियो दुवोका साथै विभिन्न फलफूललाई मिलाएर गौरा बनाइन्छ । रातो कपडाले घुम्टी ओढाएर विरुडाले पूजा गरिसकेपछि गौरा सेलाउने चलन छ । बेलुकी पूजा गरी खाना खाइन्छ। अन्यारी गौरा भए सप्तमीका दिन विशेष गौराको पूजा गरिन्छ । उज्याली गौरा भएमा अष्टमिको दिनमा मात्रै गौरा पूजा गरिन्छ।
गौराको अन्तिम दिन अष्टमिको दिनमा ब्रत बसी माहिलाले गौरा र महेश्वरको मूर्तिलाई टाउकोमा बोकेर नजिकको मन्दिरमा लग्ने गरिन्छ । सबैतिरबाट ल्याएको गौरा मिलाएर एउटै बनाइन्छ र अठ्यावाली पार्ने शिव र पार्वतीका विवाहसँग सम्बन्धित विभिन्न गीत फाग गाइन्छ। सोही दिन पहिले बनाएको गौरा गंगा भएकी र पछि भगवान शिवले अर्की महिला सज्जासँंग पनि विवाह गरेको सम्मुना गरी गौरा पर्वको आधा दिनपछि चेलीबेटीले खेतमा गएर नयां सज्जा नामक गौरा बनाएर ल्याउँछन् । नयाँ गौराको पनि शिवजीमाथि समान अधिकार भएको जनाउन पहिली गौरासँंग पाँंच चोटी घुमेर एउटैमा मिलाएर राख्ने एउटै घुम्टी ओढाई समान पूजाअर्चना गर्ने चलन छ । यसले समाजमा दोस्री पत्नीको हकलाई स्थापित गरेको मानिन्छ।
विशेष पूजाअर्चनापछि गौरालाई चढाएका फलफूल चारजना पुरुषले सफा कपडामा राखेर भीडतिर फाल्छन् । पहिले पूर्व फर्किएर आकाशतिर फाल्नुपर्छ । त्यसपछि क्रमश सबै दिशातिर फालिन्छ। यसलाई स्थानीय भाषामा फल फट्काउने भनिन्छ। यस्ता फल पाउने भाग्यमानी हुने र उसले चिताएको पुग्नॆ भनाइ छ। त्यसपछि गौरामा चढाएका आआपुना दुबधागो निकाली घांटीमा पोतेमा बांधेर लगाउने र पुरानॊ धागो गौरामा नै चढाउने चलन छ । अन्त्यमा ब्रतालु महिलाले प्रसादका रुपमा पाचविरुडा पानीमा राखी नचपाई निल्छन् र ब्रत पूरा हुन्छ । त्यसपछि विरुडालाई प्रसाद मानेर पति र आफन्तको टाउको पूजी आशीर्वाद लिनेदिने गरिन्छ।
गौरा पर्वले मध्य तथा सुदुरपश्चिम क्षेत्र र उत्तरााचल प्रदेशलाई सांस्कृतिक एवं सामाजिक रुपमा जोडेको छ। आजभोलि परदेशमा रहेका सुदूरपस्चिमेलि तथा मध्यपस्चिमेलिहरुले पनि परदेशमा पनि बिबिध कार्यक्रम गरि गौरा पर्ब मनाउन थालेका छ्न ! यस बिचमा यहि अगस्त २५ गते आइतबारका दिन अमेरिकाका मेरिल्याण्ड, टेक्सास र न्युयोर्कमा गौरा पर्ब बिशेष कार्यक्रम आयोजना भैरहेका छ्न ।
प्रतिकृया दिनुहोस