मौलाकालिकामा हरेक मंगलबार साँझ महाआरती हुने
गैँडाकोट । नवलपुरको गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिर परिसरमा हरेक सोमबार हुँदै आएको महाआरती अवदेखि मंगलबार हुने भएको छ । साउन ७ गतेदेखि हरेक सोमबार हुँदै आएको सोमबार सन्ध्या महाआरती अवदेखि हरेक मंगलबार हुने धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष खगराज कंडेलले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मौलाकाली मन्दिरमा हुँदै आएको सोमबार हुँदै आएको महाआरती अवदेखि हरेक मंगलबार साँझ आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो । सन्ध्या महाआरती साउन महिनाको लागि सोमबार गरिएको र अब भाद्र महिनादेखि हरेक मंगलबार गरिने तय भएको कँडेलले बताउनुभयो ।
मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा मौलाकाली केबलकारको सहयोगमा साँझ ६ वजेदेखि सवा ७ वजेसम्म सुरु गरिएको महाआरतीमा भक्तजन तथा दर्शनार्थीहरुको उपस्थिति राम्रो भएपछि महाआरतीलाई निरन्तरता दिन लागिएको हो ।
मौलाकालिका मन्दिरमा चलिरहेको महाआरतीलाई ध्यान दिदै मौलाकाली केबलकारले आफ्नो टिकटमा दिदै आएको ५० प्रतिशत छुटलाई निरन्तरता दिएको छ । केवलकारका म्यानेजर सुरज पौडेलले अवदेखि हरेक मंगलबार साँझ ५ वजेपछि जान र आउन (दुइतर्फी) टिकट २७५ रुपैयामै काट्न सकिने बताउनुभयो । साँझपख मन्दिर जान र मन्दिरको महाआरतीमा सहभागि हुन चाहने यात्रु तथा भक्तजनहरुले केवलकारको टिकट काउन्टरबाट छुट सुविधा लिनसक्ने मौलाकाली केवलकारले जनाएको छ ।
प्रतिकृया दिनुहोस