आज बराह जयन्ती, भगवान विष्णुको पूजा आराधना गरिदै

काठमाडौं । आज बराह जयन्ती, हिन्दु धर्म ग्रन्थका अनुसार श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा वराह जयन्ती विशेष पूजा अर्चना सहित मनाइन्छ ।

भगवान वराहको पूजा अर्चनाले सुख शान्ति र सम्वृद्धी प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।भगवान विष्णुले आजको दिन वराह अवतार लिएर हिरण्याक्ष नामक राक्षसको वध गर्नुभएको विश्वास गरिन्छ । हिन्दु धर्मावलम्बीहरुले आजको दिन भगवान विष्णुको पूजा अर्चनाका साथै भजन कीर्तन, व्रत लिने प्रचलन रहेको छ ।

सत्ययुगमा भगवान विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । बराह अवतार भगवान विष्णुको तेस्रो अवतार मानिन्छ भने वराह अवतार भन्दाअघि भगवान विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसक्नु भएको थियो । ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्दार गरेको उल्लेख गरिएको छ ।

सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतंक दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए ।

त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान विष्णु वराह अवतारमा प्रकट हुनुभयो । त्यसबेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रशन्न भइ उहाको स्तुति गर्न थाले । वराह अवतार रुपी भगवान विष्णुले पानीभित्र लुकाइएको धर्तीलाई आफ्नो दातमा च्यापेर त्यहाँबाट निकाले ।तत्पश्चात सबै देवलोक खुशी भए ।

जब हिरण्याक्षलाई यो कुरा थाहा भयो, तब उनले भगवान विष्णुको वराह अवतारलाई युद्धका लागि लाल्कारे । त्यसपछि भगवान विष्णुले वराह अवतारका रूपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको कथन रहेको छ ।

प्रतिकृया दिनुहोस