आजदेखि मौलाकालीमा हरेक सोमबार सन्ध्या महाआरती हुने

गैँडाकोट । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको नवलपुरको गैँडाकोटमा अवस्थित  मौलाकाली मन्दिर परिसरमा आज देखि हरेक सोमबार सन्ध्या महाआरती हुने भएको छ ।

मौलाकाली मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा मौलाकाली केबलकारको सहयोगमा साँझ ६ वजेदेखि सवा ७ वजेसम्म महाआरती हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभयो ।

गैँडाकोट धार्मिक पर्यटकीय क्षेत्र भएकाले पर्यटन प्रर्वधन गर्न टेवा पुग्ने उद्देश्यका साथ सुरुवात गर्न लागेको सापकोटाले जानकारी दिनुभयो । धार्मिक उद्देश्यले मात्र नभई पर्यटकीय हिसाबले पनि यो महाआरती महत्त्वपूर्ण हुने उहाँको भनाई छ ।नवलपुर र यस आसपासको क्षेत्रकै महत्त्वपूर्ण र्धािर्मक पर्यटकीय गन्तव्यको रूपमा रहेको मौलाकाली मन्दिरमा महाआरती हुँदा पर्यटकीय गतिविधि बढ्ने भन्दै गैँडाकोट क्षेत्रका स्थानीयहरू खुसी छन्। स्थानीय होटल सञ्चालक तेजेन्द्र सापकोटाले महाआरतीले आफूहरूको पर्यटन व्यवसायमा थप सघाउ पुग्ने बताउनुभयो ।

मौलाकाली मन्दिरमा आजदेखि सुरु हुने महाआरतीलाई ध्यान दिदै मौलाकाली केबलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुटदिने घोषणा गरेको छ ।सोमवारे सन्ध्या आरतीलाई ध्यानमा राख्दै केवलकारले रु ५२५ को टिकटलाई रु. २७५ कायम गरेको हो । केवलकारका म्यानेजर सुरज पौडेलले सोमबार साँझ ५ वजेपछि दुइतर्फी टिकट २७५ रुपैयामै काट्न सकिने बताउनुभयो । साँझपख मन्दिर जान र मन्दिरको महाआरतीमा सहभागि हुन चाहने यात्रु तथा भक्तजनहरुले केवलकारको टिकट काउन्टरबाट छुट सुविधा लिनसक्ने मौलाकाली केवलकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस