आमा ! कसरी विश्वास गरौं, तिमी मसँग छैनौ
बाबाको अनुहारको कस्तो थियो भनि कसैले सोधे मलाई झलक्क आमाको अनुहार अगाडि आउँछ । आफूले राम्रोसँग चिन्नुभन्दा अगाडि नै बुबा गुमाएकी छोरीले सम्झिने आमाबुबा दुबै आमा नै रहेछ सायद ।बाल्यकालमै बुबालाई रोगले लगेपछि बुबाको संघर्ष एउटी आमाबाटै सिकेकी छोरीले आमालाई नै विश्व ठान्ने रहेछ । आज आमा गुमाएको १३औँ दिनमा दुनिया मबाट टाढा महसुस गर्दैछु ।
दिन हुनु, रात हुनु अनि पुनः दिन हुनु । यो १३ दिनमा ब्रम्हाण्ड चलिरहेको छ । तर, मेरो सारा विश्व मेरी आमा थिइन्, आज मसँग छैनन् । यो दुनिया मेरो लागि छैन । म चाहन्छु १३ दिनअघिको समयमा ब्रम्हाण्ड टक्क अडिदियोस् । यादहरुमा दिन गन्नुपर्ने मेरो यो बाध्यता सँधैको लागि पर जाओस् ।
दिन हुनु, रात हुनु अनि पुनः दिन हुनु । यो १३ दिनमा ब्रम्हाण्ड चलिरहेको छ । तर, मेरो सारा विश्व मेरी आमा थिइन्, आज मसँग छैनन् । यो दुनिया मेरो लागि छैन । म चाहन्छु १३ दिनअघिको समयमा ब्रम्हाण्ड टक्क अडिदियोस् । यादहरुमा दिन गन्नुपर्ने मेरो यो बाध्यता सँधैको लागि पर जाओस् ।
ओहो ! आमाको यादहरुमा दिन बिताउनुपर्ने समय पो आइसकेको रहेछ ! पछिल्लो पटक बालापनमा फर्किएको तिम्रो हरेक शब्दशब्द कानमा गुञ्जिरहेको छ । कहिले आफैभित्रबाट सुन्छु–मेरो त मोतीबिन्दु पनि गएछ, छ्याङ्ग देख्न थालेँ ।
फेरि कतैबाट मीठो आवाज कानमा ठोकिन्छ–म त तीन पटक स्वर्गमा पुगेर आएँ नि अब त बाँचे ।
छेवैमा आफूलाई स्पर्श गरिरहेको बुढ्यौलीमा चाउरिएका हातको अनुभुत गर्छु । झल्याँस्स हुन्छु, क्षणभरमै आफ्नो भ्रम स्वतः हटिजान्छ । अनि स्वीकार्नै नसकेको तितो सत्यलाई आफ्नो बनाइसकेको वर्तमानको कब्जामा आइपुग्छु ।
मेरी बलवान आमा । जसले जिन्दगीको आधाबढी समय दुई सन्तान हुर्काउन एक्लै संघर्ष गरिन् । उमेरैमा बिमारले बुबा लगेपछि संघर्षले स्पात बनायो । कहिल्यै डरको आभाष देखिन मैले ति दृढ आँखामा ।
पूर्ण किसानी जीवन गरेर उच्च शिक्षा दिनुभयो । अहिले सम्झिन्छु एकल हुनु र एक्लो संघर्षमा जीवन गुजार्नु कति कठिन थियो होला त्यो समय । तर, कहिल्यै आमाको आत्मबल कमजोर महसुस गरेको देखिन ।
आमालाई पनि पीडा हुन्थ्यो सायद । त्यो पीडा दृढ आत्मबलमा प्रकट हुन्थ्यो । हामीले कहिल्यै आँखामा आँशु देख्न दिनुभएन । त्यसैले होला आमा मलाई पनि दृढ र आत्मबलयुक्त छोरी बनाउन चाहनुहुन्थ्यो । दमले गाँजेर पटक पटक अस्पतालको बेडमा आकस्मिक पुर्याएर ब्यूँतिएपछि भन्नुहुन्थ्यो–म मरेँ भने टुहुरी हुने तँ त होस्, मलाई धेरै माया नगर ।
आमाको संघर्षमा, दुःखमा कहिल्यै आँशु नदेखेर होला आमाको अगाडि टारिदिन्थेँ यतिकै । आमाबाट छेलिएपछि भक्कानिदै आफैले आफूलाई सान्त्वना दिन्थेँ, आमाको आत्मबलको लागि म सम्हालिनुपर्छ ।
तर, आज कसको लागि सम्हालिनु । कसलाई आत्मबल दिनु ! आखिर म टुहुरी भइछाडेँ । आमा बिनाको जिन्दगी सन्तानको जीवनमा कल्पना नै नहुँदो रहेछ सायद । आमा नभएपछि कोही छैन झैँ लाग्ने रहेछ । सबैतिर खाली छ । आमाको बोली छैन, गाली छैन । न त छ गालीभित्र मिसिएको माया । हिन्दुधर्ममा विश्वास गर्ने भएर होला, यस्तो लाग्छ वर्षौँ बिछोडिनुभएका बुबासँग आफ्ना दुःख पीडा अनुभूति बाँड्दै होलिन् मेरी आमा । तर, ममा अडिएको तिम्रो परान मलाई एक्लो बनाएर किन गयौ नि ?
अहिले सम्झिन्छु एकल आमाले आफ्ना सन्तानलाई संघर्षसँग मार्ग निर्देश गर्न तयार गर्ने रहेछन् । म बुझ्ने भएदेखि नै आमाका हरेक आनीबानी, व्यवहार, संस्कार मेरो कानून अनि बाटो तय गर्ने सीमाहरु बने । त्यसैले आमा ! तिम्री छोरीले तिमीले नरुचाएका कुनै काममा आफूलाई लगाइन । न सीमाहरु नै जीवनमा मिचेँ !
मेरा लागि तिमी कानून थियो, सीमारेखा कोरिदिने मार्गदर्शक थियौँ । अझ समग्रमा तिमी मेरी जीवन हौ, आमा । मनमा पीडा भएपनि म रोए आमालाई पीडा हुन्थ्यो जस्तो लाग्छ । तिमीलाई गाह्रो होला कि भनेर आफूलाई रोक्दारोक्दै मैले तिम्रो अगाडि रुन पनि बिर्सिसकेकी रहेछु । तिमी नहुँदा म भक्कानिएको मन भारी भएको, तिमी नहुँदा रित्तिएको म देख्ने कोही नभएको आभाष गरेकी छैनौ ?
कहाँ छौ आमा तिमी ? तिमी मेरी आमा होइनौ, साथी थियौ । ससाना अनुभूति पनि सुनाउने साथी । तिमीसामु आफूलाई खुला किताब झैँ बिछ्याइदिँदा निकै आनन्दको अनुभूति हुन्थ्यो मलाई । ति पलहरु मेरा ससाना अनुभूति बाँडेका दिनहरु कसरी भूलौँ । तिम्रो गाली कसरी भूलौँ । तिम्रो माया कसरी बिर्सिउँ मैले । अनि त्यो काख जसको न्यानोमा मेरो सारा पीडाहरु पखालिएर भाग्थे अब कहाँ पाउँछु मैले ?
तिमीसँग पलभर पनि टाढा हुने इच्छा थिएन, छैन । तर, तिम्रो अन्तिम जीवनका केही समय परिस्थितिले दुरीमा टाढा बन्नुपर्ने बाध्यता भयो । टाढा हुँदा म एक्लिएको नबोलेरै तिमी बुझ्थ्यौ । तिमी न्यास्रिएको म तिम्रा आँखा देखेरै महसुस गर्थेँ । मलाई आँट पनि थियो म आत्मविश्वासी आमाको छोरी हरेक कठिनाइलाई पैँतालामूनी राखिदिन सक्छु । तर, आज आमा तिम्री छोरी कमजोर भएकी छ । एक्लिएकी छ । जहाँ छौँ मलाई महसुस गरिहेर त, तिमी बिना दिनरात एकै छ मेरो लागि ।
आमा ! तिमीमा आँट दिने मामाहरु नजिकै थिए । माइतीको निकटमा स्वयं संघर्ष गर्न तयार भयौ । म त टाढा छु । अब त तिमीबाट भौतिक रुपमा पनि अलग ! मलाई कसले भर्छ आत्मविश्वास ? कसले भर्छ संघर्षको लागि आँट ?
उफ ! कसरी विश्वास गरौँ आमा तिमी कहिल्यै नफर्किने गरि गएको पनि १३ दिन भइसकेछ । म कसरी लयमा फर्काउँ जीवनका यात्रालाई । कसरी अघि बढाउँ आफ्ना पाइलाहरु । परदेश बसेर एक्लोएक्लो महसुस हुने बित्तिकै म्यासेन्जरमा कसलाई लगाउँ फोन ?
यस्तो लाग्छ आज मलाई सबैले माया गरेजस्तो गर्छन् । तिम्रो महसुस त मलाई कतैबाट हुन्न । जब तिमीलाई महसुस गर्न लाग्छु मलाई कसैले तितो वर्तमानमा फर्काइदिन्छन् । आमा, सानैमा टुहुरी बनाउन किन ढिला जन्मायौ होला नि !
नारायणी अनलाईनबाट
प्रतिकृया दिनुहोस