निवारण भएको १४ वर्षपछि पनि नेपालमा अझै २५ सय बढी कृष्ठरोगी

काठमाडौं,१४ माघ । सन् २०१० मै नेपालको जनस्वास्थ्य समस्याको रुपमा निवारण घोषणा गरिएको कुष्ठरोगलाई अझै नियन्त्रणमा ल्याउन सकिएको छैन । यसको समस्या पूर्ण रुपमा हट्न नसक्दा कुष्ठरोग नियन्त्रणमा नआएको हो । आर्थिक वर्ष २०७९र८० मा नेपालमा २ हजार ५२२ कुष्ठरोगका नयाँ बिरामी फेला परेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले जानकारी दिएको छ ।


७१औँ विश्व कृष्ठरोग दिवस र विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसका अवसरमा आयोजित कार्यक्रममा महाखाशाका अधिकारीहरुले आज तथ्य सार्वजनिक गर्नुभएको हो । कार्यक्रमकमा बोल्दै महाशाखा निर्देशक डा. रुद्र मरासिनीले कृष्ठरोग स्वास्थ्यकर्मीहरुले सजिलै पत्ता लगाउन नसक्ने र रोग लुकाउने समस्याका कारण पनि पूर्णरुपमा निवारण गर्न समस्या भइरहेको बताउनुभयो ।


हाल २ हजार ५१० जना कुष्ठरोगीहरु उपचाररत रहेको कुष्ठरोग निवारण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा. प्रशान्त नापितले जानकारी दिनुभयो । डा. नापितका अनुसार उक्त विरामीमध्ये १ हजार ४९ महिला छन् भने १८१ जना १४ वर्षमुनिका बालबालिका रहेका छन् । नयाँ बिरामीमध्ये कुष्ठरोगका कारण अपांगता हुनेको संख्या १८९ छ भने यसमा बालबालिकाको संख्या ८ जना रहेको छ ।


विशेषगरी मधेस प्रदेश र लुम्बिनी प्रदेशका जिल्लामा धेरै कुष्ठरोग प्रभावित रहेको डा. नापितले जानकारी दिनुभयो । नेपालका १४ जिल्लामा कुष्ठरोगका बिरामी रहेको पनि उहाँको भनाइ छ । सबैभन्दा धेरै कुष्ठरोगका बिरामी कपिलवस्तुमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. टंकप्रसाद बाराकोटीले पछिल्ला दिनमा कुष्ठरोगका बिरामी धेरै भुटिनु सोचनीय विषय भएको बताउनुभयो ।


समुदायमा लुकेर रहेका बिरामी पहिचान मात्रै भएको हो वा साँच्चिकै बिरामी धेरै भएको हो भन्ने कुरा मुख्य हुने उहाँको भनाइ छ । ‘समुदायमा लुकेर रहेका बिरामी पत्ता लागेको भए त्यो राम्रो कुरा भयो’ डा. बराकोटीले भन्नुभयो, ‘तर साच्चै कुष्ठरोग समुदायमा बढिरहेको भए त्यो चुनौती हो।’ कतिपय रोग निवारण होला–होला भन्ने अवस्थामा नयाँ चुनौतीको रुपमा आइरहेको उहाँले सुनाउनुभयो । ‘कतै हाम्रो काम गराइमा समस्या त छैन ? हामीले त्यसमा आवश्यक बल लगाएनौ कि ?’ डा. बराकोटीले प्रश्न गर्नुभयो ।


कुष्ठरोग निवारणमा नेपाल कुनै न कुनै रुपमा पछाडि रहेको स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. संगीता कौशल मिश्रले बताउनुभयो । एउटा यो सजिलै पहिचान नहुने, लक्षण देखिँदा समस्या आइसकेको हुने भएकाले पनि निवारणमा चुनौती रहेको डा. मिश्राले सुनाउनुभयो । अर्को भनेको समुदायमा निगरानी कम भएको पनि उहाँले सुनाउनुभयो । समुदायको मुख्य खम्बा रहेको युवा र बालबालिकामा यो रोग देखा पर्नु थप चुनौतीपूर्ण कुरा रहेको पनि उहाँले बताउनुभयो ।


सन २०३० सालसम्म नेपालले कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ । यो महत्वकांक्षी लक्ष्य पूरा गर्न साझा प्रयासको खाँचो रहेको महानिर्देशक डा. मिश्राले बताउनुभयो । कुष्ठरोग लागेर निको भएका थुप्रै व्यक्तिहरू कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । उहाँहरुले कुष्ठरोग भइसकेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण अझै नबदलिएको गुनासो गर्नुभयो । नेपालको कानुनमै कृष्ठरोगीलाई विभेद गरिएको उहाँहरुको गुनासो छ । नेपालको विवाह सम्बन्धि कानुनमा कुष्ठरोगीलाई अपमानित गरिएको प्रभावितहरुको भनाइ छ ।


मुलुकी देवानी संहिता २०७४ को दफा ७१ मा उल्लेख भएअनुसार कसैले कुष्ठरोगीसँग भmुक्याएर कसैको विवाह गर्न नहुने उल्लेख गरिएको छ । यसमा यस्तो खालको विवाह एक पक्षले चाहेमा बदर गर्ने सक्नेसमेत उल्लेख छ, यो कानुनी व्यवस्था हटाउन प्रभावितहरुले माग गरेका छन् । यसमा आफूहरु सकारात्मक रहेको र त्यसका लागि प्रयास भइरहेको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनुभयो ।



प्रतिकृया दिनुहोस