नेपालगञ्जमा ऐतिहासिक रामलीला मञ्चन शुरू, सामाजिक सद्भाव कायम हुने विश्वास
राँझा,२९ असोज । ऐतिहासिक रामलीलाको एकसय ५६ औँ संस्करण नेपालगञ्जमा आइतबारदेखि मञ्चन शुरू भएको छ । भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको ‘रामलीला’ प्रदर्शन गर्न थालेका हुन् । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोलीले रामलीला मञ्चन गर्न थालेको जानकारी दिए ।
उनका अनुसार सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।
उनका अनुसार सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।
नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावण वध, भरत मिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।
यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको नेपालगञ्जका अगुवा नन्दलाल वैश्यले बताए । रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ ।
नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर पनि रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए ।
रामलीला शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गरे । रासस
प्रतिकृया दिनुहोस