श्राद्ध के हो भन्ने विषयमा उल्लेख भएका शास्त्रीय वचनहरू

चितवन,१३ असोज । देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य विप्रेभ्यो दत्तंश्राद्धमुदाहृतम् ।। (ब्रह्मपुराण) (उचित समयमा उचित स्थानमा उचित विधिद्वारा पितृहरूको उद्देश्य गरेर श्रद्धापूर्वक सत्पात्रमा जुन दिइन्छ त्यही श्राद्ध हो ।) संस्कृतं व्यञ्जनाद्यं च पयोमधुघृतान्वितम् । श्रद्धया दीयते यस्माच्छ्राद्धं तेन निगद्द्यते ।। (वृहस्पति-पुलस्त्य) (जुन कर्म विशेषमा दूध, घिउ र महले युक्त सुसंस्कृत उत्तम व्यञ्जन पितृगणको उद्देश्य राखी श्रद्धापूर्वक ब्राह्मणादिलाई प्रदान गरिन्छ, त्यसैलाई श्राद्ध भन्दछन् ।)

देशे काले च पात्त्रे च विधिना हविषा च यत् । तिलै: दर्भैश्च मन्त्रैश्च श्राद्धंस्याच्छ्रद्धया युतम् ।। (पराशरस्मृति:) (उचित स्थानमा उचित समयमा उचित पात्रमा हविष्यादि वस्तुद्वारा विधिपूर्वक तिल, जौ, कुश तथा मन्त्रहरूले युक्त भएर जुन कर्म श्रद्धापूर्वक गरिन्छ त्यही श्राद्ध हो ।) श्राद्धको महात्म्य झल्किने केही वचन श्राद्धात्परतरं नान्यच्छ्रेयस्करमुदाहृतम् । तस्मात् सर्वप्रयत्नेन श्राद्धंकुर्याद्विचक्षण: ।। (सुमन्तु) (यस संसारमा श्राद्ध भन्दा ठूलो अर्को कल्याणकारी उपाय कुनै छैन, त्यसैकारण बुद्धिमान् पुरुषले यत्नपूर्वक श्राद्ध गर्नैपर्छ ।)

योऽनेन विधिना श्राद्धंकुर्याद्वै शान्तमानस: । व्यपेतकल्मषो नित्यं याति नावर्तते पुनः । (कूर्मपुराण) (जुन व्यक्तिले विधिपूर्वक शान्त चित्त भएर श्राद्ध गर्दछ त्यो व्यक्ति पापरहित भइ मुक्ति प्राप्त गर्दछ र पुनः संसार चक्रमा फर्कदैन ।) आयु:प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं प्रीता नृणां पितामहा:।। (याज्ञवल्क्य:) आयु: प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितर: श्राद्धतर्पिता: ।। (मार्कण्डेय पुराण) आयु:पुत्रान् यश:स्वर्गं कीर्तिं पुष्टिं बलं श्रियम् । पशून् सौख्यं धनं धान्यं प्राप्नुयात्पितृपूजनात् ।। (यमस्मृति:) (श्राद्धले आफ्ना अनुष्ठाताहरूको आयु बढाउँछ, पुत्र प्रदान गरेर कुलपरम्परालाइ अक्षुण्ण राख्दछ, स्वर्ग प्रदान गर्दछ, कीर्ति बढाउँछ, शरीरमा स्वस्थता, पुष्टता एव बल पौरुषको सञ्चार गर्दछ, यश विस्तार गर्दै श्री सम्पत्ति, धनधान्य, श्रीसम्पत्ति, समृद्धि र ऐश्वर्य सहित सबै प्रकारका सुख प्रदान गर्दछ ।)

श्राद्ध नगरे के हुन्छ ?

श्राद्धमेतद् न कुर्वाणो नरकं प्रतिपद्यते । (विष्णुस्मृति:) (श्राद्ध नगर्ने व्यक्तिले नरक जानुपर्दछ ।) न सन्ति पितरश्चेति कृत्वा मनसि यो नर: । श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते ।। (आदित्यपुराण ) (जुन अज्ञानीहरूले मूर्खतावश पितृहरू हुदैनन्, भनी दिवङ्गत पितृहरूको वेवास्ता गरी श्राद्ध गर्दैनन् तिनका पितृहरूले वंशहरूको रगत पिउछन् ।) जुन पक्षमा सूर्यले कन्याराशिमा प्रवेश गर्दछ, त्यो पक्ष पितृपक्ष हुन्छ, त्यसैले उक्त पक्षमा मृतपितृहरूको श्राद्ध गर्ने चलन छ, जसलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।

शास्त्रमा कन्याराशिमा सूर्य सरेको वखत दिवङ्गत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतघ्न हुन् भनेर बताइएको छ :- सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी । धनपुत्रा : कुतस्तस्य पितृनिश्वास पीडनात् ।। (गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेका लागि उसका धन र सम्पत्ति, वैभव तथा उसका सन्तति निरर्थक हुन्छन्)। श्राद्ध कुनै तिथीमा गर्न मिलेन भने औंसीको दिन गर्न सकिने शास्त्रीय मान्यता छ ।

त्यो जुनसुकै अष्टमी, द्वादशी र औंसी तिथिमा सोह्र श्राद्ध गर्न सकिने कुरा शास्त्रमा उल्लेख रहेको छ ।यदि कुनै कारणले औंसीको दिन पनि श्राद्ध गर्न सकिएन भने जुनसुकै तिथिको श्राद्ध पनि घटस्थापनाको ५ दिनपछि अर्थात् नवरात्रिको पञ्चमीका दिन गर्न सकिने छ ।त्यसदिन पनि श्राद्ध गर्न नसकेको खण्डमा गाईतिहारे औंसीको दिन श्राद्ध गर्न सकिने छ ।सोह्र श्राद्ध गर्नका लागि मंसिर संक्रान्तिसम्मका विभिन्न तिथिहरु शास्त्रले बताएको छ ।

तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ । ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।। यसैले शास्त्रप्रमाणकै अनुसार आफ्नो जीवनपद्धतिलाई अपनाउनु पर्दछ, कर्तव्य अकर्तव्य, राम्रो नराम्रो, उचित अनुचित, धर्म अधर्म, पुण्य, पाप, सत्य असत्य र खाने नखाने भन्ने कुराको निश्चय र प्रमाण शास्त्रीय वचनद्वारा मात्र हुन सक्छ । पिता ददाति सत्पुत्रान् गोधनानि पितामहः। धनदाता भवेत्सोपि यस्तस्य प्रपितामहः ।। दद्याद्बिपुलमन्नाद्यं वृद्धस्तु प्रपितामहः । तृप्ता श्राद्धेन ते सर्वे दत्त्वा पुत्रस्य वाञ्छितम्। पिता प्रसन्न भए असल छोरा र पितामह खुशी भए गोधन दिन्छन् । त्यसका जुन प्रपितामह हुन ती प्रसन्न भएर अतुल वैभव दिनुहुन्छ ।

वृद्ध प्रपितामह खुशी भए प्रसस्त अन्नादि प्रदान गर्दछन् अनि सबै पितृहरु श्राद्ध द्वारा तृप्त भएर पुत्रलाई इच्छित फल दिएर आफू स्वर्गमा परम आदरका साथ बस्न पाउँछन् भन्ने शास्त्रको भनाइ छ ।यो धर्म शास्त्रको बचनहो र धर्मशास्त्र लाई हामीले प्रमाण मान्नु पर्दछ । वैदिक शास्त्रमा उल्लेख गरिएका विधि (विधानहरुको व्यवस्था ऋषिमुनिहरुले गरेका हुन् जसले त्यही मार्गद्वारा पूर्णत्वलाई प्राप्त गरेका थिए । त्यसैले उनीहरूले बताए अनुसारको मार्गलाई विनयभावले अनुसरण गरेर आफूलाई कृतार्थ बनाउनु नै श्रेयस्कर हुन्छ ।

श्राद्ध नगरिएमा जीवनमा केही अवरोध आउने कुरा विभिन्न ग्रन्थले बताएका छन्। ब्रम्हपुरण लेखिएको छ, ‘श्राद्ध नगर्नेको परिवारमा पितृहरूले पाइलापाइलामा कष्ट दिन्छन्। घरमै आएर श्राप दिन्छन् र आफ्नै परिवारको रगत पिउँछन्।’ भविष्य पुराणले भनेको छ, ‘हे गरूड ! सम्पत्ति खानेले हरेक वर्ष श्राद्ध गरेन भने तामिश्र नामक घोर नरकमा जानुपर्दछ।’ पितृहरू लोकमा पूजनीय हुन्छन्। तिनीहरू देवताका पनि देवता मानिन्छन्। उनीहरूको स्वरूप शुद्ध, निर्मल र पवित्र हुन्छ। यिनीहरू दक्षिण दिशामा निवास गर्दछन्। दाजुभाइ छुटि्टएर बसेको भए पनि श्राद्ध एउटै स्थानमा भन्दा छुट्टाछुट्टै गर्नुपर्दछ भन्ने गरूड पुराणको मत छ तर निर्णब सिन्धुका अनुसार अंशबण्डा भइसकेका दाजुभाइले छुट्टाछुट्टै कर्म गर्नु गृहस्थीको धर्म हो भनेको छ। श्राद्ध जेठोले गर्नुपर्छ। ऊ नभएमा क्रमशः माइलो, साहिलो आदिले। ‘छोरा भएका विधवाले श्राद्ध गर्न हुँदैन तर छोरा नभएमा श्राद्ध गर्नु हुन्छ’ धर्मसिन्धुमा लेखिएको छ।

हामी वैदिक सनातन धर्मावलम्बीहरु वेद, धर्मशास्त्र अनुयायी हौं शास्त्रहरुले विधान गरेको र पितापुर्खाले अवलम्बन गर्दै आएको धर्म संस्कार नै हाम्रो वैदिक सनातन संस्कृतिको मूल आधार हो ।वर्तमान समयमा हाम्रो वैदिक सनातन धर्म संस्कृति लाई अपहेलना गरि पाश्चात्य संस्कृतिलाई नै प्रोत्साहन दिन थालेका छन्। यसको फलस्वरूप हाम्रो संस्कार, संस्कृति, मान मर्यादा, नैतिक मूल्य र मान्यता, सदाचार, सद्भावना, सत्कर्म र सन्मार्ग आदिको अभावमा देवता, माता, पिता, गुरु, आचार्य , अतिथि, मान्यजन हरुको सेवा सत्कार, आज्ञापालन र मान मर्यादा नै नगरि सनातन धर्मलाई नै दोष देखाई आफूखुसी गर्नेहरु देखिन थालेका छन् ।

यसरी अनादि काल देखि चलि आएको परम्परा र धर्म संस्कार संस्कृति सेवा सत्कार आदि लाई जोगाउन र यसलाई निरन्तरता दिनको लागि तपाई हामी सबैको नैतिक दायित्व हो , यसले मानव सभ्यताको उचो गरिमा लाई अझ दिगो बनाउँछ ।

श्राद्धबारे कुन ग्रन्थले के भन्छ ?

क) महर्षि जाबली भन्छन्, ‘पितृपक्षमा आफ्ना मृत पिताको श्राद्ध गर्नाले पुत्र, आयु, आरोग्य, परम ऐर्श्वर्य र अभीष्ट वस्तु प्राप्त हुन्छ।’

ख) मार्कण्डेय पुराणमा लेखिएको छ, ‘श्राद्धद्वारा सन्तुष्ट भएका पितृले आयु, पुत्र, स्र्वर्ग, कीर्ति, पुष्टि, बल, वैभव, पशु, सुख, धन, धान्य दिन्छन्।’

ग) कुर्मपुराणले भनेको छ, ‘विधिद्वारा एकाग्र चित्त भएर गरिएको श्राद्धले पापरहित भएर मुक्त गराउँछ, पुनः संसार चक्रमा आउँदैन।’

घ) ब्रम्हपुराण अनुसार जुन मनुष्यले श्रद्धा भक्तिले गर्दछ, उसलाई कुलमा कुनै प्रकारको दुःख हुँदैन।

ङ) याज्ञवल्क्य स्मृति अनुसार सन्तुष्ट भएका पितृले आयु, सन्तति, धन, विद्या, स्र्वर्ग, मोक्ष र राज्य प्रदान गर्दछन्।

च) हेमाद्रि, नगारखण्डमा उल्लेख गरिएको छ, जो मनुष्य एक दिन भने श्राद्ध गर्दछ, उसका पितृगण वर्षभर सन्तुष्ट हुन जान्छन्।

छ) मत्स्य पुराणले बताए अनुसार श्राद्धमा अन्नले तृप्त भएका पितृले आर्शीवाद दिन्छन्। परिवारिक सुख, समृद्धिको बढोत्तरी हुन्छ।

प्रतिकृया दिनुहोस