सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला

ललितपुर,१७ भदौ । ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला हिजोदेखि सुरु भएको छ । शुक्रबार देवीको पूजा गरेपछि हिजो शनिबार रुद्रायणीदेवीलाई मन्दिरभित्र गुप्तबास राखिएको छ ।

मेला सुरु हुने दिनमा राष्ट्रको सम्मानीय व्यक्तिलाई भेट्ने वा निमन्त्रणा गर्ने प्रचलन भएका कारण हिजो बिहान रुद्रायणी गुठी संस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मेलाबारे जानकारी गराएको छ ।

रुद्रायणीदेवी मेलाको अवसरमा फूलप्रसादसहित प्रधानमन्त्रीलाई गुठी संस्थानले भेटेपछि प्रधानमन्त्री प्रचण्डले १२ वर्षे मेलाको शुभकामनासहित ऐतिहासिक मेलाको संरक्षण गर्नु राज्यको जिम्मेवारी रहेको बताउनुभएको छ ।

मेला सुरु भएको दिनदेखि एक महिनासम्मका लागि देवतालाई मन्दिरभित्र (गुप्तबास) राखिएको र एक महिनासम्म मन्दिरको ढोकासमेत नखोल्ने ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो एउटा ऐतिहासिक मेला भएका कारण खोकनावासीले देवताको निम्ति एक वर्षमा केही त्याग गर्नुपर्ने हुन्छ ।”

मेला सुरु भएदेखि एक महिनासम्म खोकनावासीले छालाजन्य वस्तु प्रयोग नगर्ने, घरदेखि बाहिर गएर बास नबस्ने, पाहुनाले पनि छालाजन्य वस्तु घरमा नल्याउने र पाहुनाले घरमा बास बस्न नमिल्ने, एक महिनासम्म कुनै पनि पूजाआज नगर्ने र एक वर्षसम्म खोखनावासीले बिहेसमेत गर्न नपाइने चलन रहिआएको छ ।

मेला सुरु भएको एक महिनासम्म खोकनावासीले कुनै पनि पूजाआज नगरे पनि एक महिनापछि रुद्रायणीदेवीलाई मन्दिरबाट बाहिर निकालेपछि एक वर्षसम्म पूजाआज गर्नुपर्ने हुन्छ । एक वर्षसम्म पूजा गरेपछि १२ वर्षे मेला सकिन्छ र फेरि अर्को १२ वर्षपछि सुरु हुने गर्छ । - रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...