तेह्रौँ शताब्दीको शिव मन्दिर पुनःनिर्माण

नवलपुुर,२ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ ।

नारायणी नदीकिनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले वि.सं. २०७० मा उत्खनन सुरु गरेको थियो । दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात सिख्रौलीमा सुर्खेतको काँक्रे बिहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर शैलीको शिव मन्दिर रहेको विभागले निश्कर्ष निकालेको थियो ।

पुरानै भग्नावशेष भेटिएको स्थानमा नै पुरातत्व विभागले रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण सम्पन्न गरेको छ ।

मन्दिर पुनःनिर्माणका लागि नापजाँच गर्दा अपुग रहेको ढुङ्गा नजिकै गैँडाकोट–१४ को रनतपुर तथा पाल्पाबाट ल्याइएको थियो । मन्दिर निर्माण सकिए पनि मन्दिरभित्र रहेको शिवलिङ्ग फुटेको कारण नयाँ शिवलिङ्ग प्रतिस्थापन गरेर मात्रै मन्दिरको प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको छ । - रासस

प्रतिकृया दिनुहोस