गलेश्वर धामको पौराणिक महत्व

 गलेश्वर,१७ साउन । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिङ रहेकोे प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा करोडौँ रुपैयाँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री आकर्षित भएका छन् ।

कालीगण्डकी नदीदेखि नै सुरु भएको चक्राकार शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको गलेश्वर धाममा चढाएको भेटी र दाताको सहयोगबाट विभिन्न पूर्वाधार निर्माण गरिँदै आएका छन् । कोषको पहलमा मन्दिर नजिकै कालीगण्डकी नदी किनारमा रहेको खाली जग्गामा पर्यटन कार्यालय पोखराको सहयोगमा क्याम्पिङ साइट, उद्यान, सार्वजनिक शौचालय र खेलमैदान निर्माण भएका छन् ।

बावु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको शवलाई शिव भगवानले काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।

१९औँ शताब्दीको अन्त्यतिर गलेश्वर वावा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाइ त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको जानकारले बताएका छन् । जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको वराहा पोखरी, जडभरत गुफा, नौ रोपनी क्षेत्रफलको विशाल चट्टानमा जगविना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, एक सय आठ शिवलिङ्ग, साँढेका विशाल मूर्तिहरु घण्टा यहाँका मुख्य आकर्षण हुन् ।

पूर्वपट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ वेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदा हुँदै पनि सरकारले पर्याप्त ध्यान दिन नसकेको स्थानीयको गुनासो छ ।

ढुङ्गामा कहिल्यै नसुक्ने पानीको मूल

यहाँ रहेको ढुङ्गाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकका लागि आश्चर्यको विषय बनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नबढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीय तथा त्यहाँ पुग्ने भक्तजनको माग रहेको छ ।

त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिकस्थल भएको इतिहासकारले बताएका छन् । १९औँ शताब्दीको सुरुवातका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित विभिन्न लेखमा उल्लेख छ । यो क्रम वेनी जोमसोम सडक विस्तार नहोउन्जेलसम्म जारी रहेको थियो । मासिक र साप्ताहिक रुपमा मन्दिरमा संकलन हुने भेटी सार्वजनिक गर्दै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले भेटी र चन्दा पूर्वाधार निर्माणमा उपयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस