आज छैटौँ विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, १४ भदौ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौँ संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । छैटौँ विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरुपमा गरेका छन् । नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गतको त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेसनल र विश्व भूटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम युकेको सहकार्यमा यो दिवस मनाइँदैछ ।
   
नेपालमा छैटौँ विश्व संस्कृत दिवसको मूल समारोह आज काठमाडौँमा आयोजना गरिएको छ  । देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुनेछ । नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायत देशमा छैटौँ विश्व संस्कृत दिवस मनाउन कार्यक्रम तय भइसकेको जरोकिलो महाअभियानका सङ्कल्पकर्ता एवं काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापकसमेत रहनुभएका निर्देशन समिति संयोजक डा निर्मलमणि अधिकारीले बताउनुभयो ।
 
श्रावण शुक्ल पूर्णिमा ऋषिसँग जोडिएको ऋषितर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसै दिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुआत गरिएको हो ।
 
प्राचीनकालमा शैक्षिक सत्रको सुरुआत पनि श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने गरेकाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो । यस अवसरमा विभिन्न गुरुकुलमा पनि कार्यक्रम गरिने जनाइएको छ ।  - रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...